अनेकौँ यात्रा सुरु भयो
तर सबै अधुरो रह्यो
के यात्राहरू पूरा हुँदै हुँदैनन्?
के यात्रुहरू गन्तव्य पुग्दै पुग्दैनन्?
कि यात्रामा निस्कनु नै गलत हो
या यात्रा गन्तव्य नै गलत भो।
हुन त मानिसको जीवन पनि
एउटा यात्रा त हो नि
निरन्तर यात्रा कहिल्यै नरुक्ने
तर गन्तव्य कहिल्यै नपुग्ने।
जति-जति पाइलाअगाडि बढ्छ
त्यति-त्यति गन्तव्य पर सर्छ
तर गन्तव्यको पनि त गन्तव्य हुनुपर्ने हो
कहीँ त उसले पनि आफ्नो सीमा छुनुपर्ने हो
अथवा मानिस आफ्नै सीमा बुझ्दैन
जीवनको तीतो सत्य उसलाई रुच्दैन।
अनि मानिसका चाहनाहरू पनि असीमित हुन्छन्
सपनाहरू निल गगन समेत चुम्छन्
अनौठो के हो र
सपना देख्दैमा के भो र
सपना देख्न कस्ले रोक्छ र
खुला आकाशमाथि उड्न कस्ले छेक्छ र?
त्यसैले अधुरा यात्रादेखि किन डराउनु?
एउटा गन्तव्य नपुग्दैमा किन कराउनु?
बढ्दै जाऔं बढ्दै जाऔं अगाडि
अनि कहिल्यै नफर्कौं पछाडि।
अनगिन्ती यात्रामा केही त पूरा हुन्छन् नै
अनेकौँ पर्वतारोहीहरूमा कसैले त चुचुरो छुन्छन् नै
कसैको यात्रा पूरा, कसैको अधुरो
कसैको चाहना पूरा कसैको अपूरो।
तर प्रयास गरे के हुन्न र भन्छन्
सफलताका कयौँ उदाहरण पनि छन्
तेन्जिङले सगरमाथा चुमे
कोलमबस सन्सारै घुमे
बुद्धले पनि त गन्तव्य पाए
विश्वमै शान्तिको ज्योति फैलाए।
यात्राहरू त पूरा हुँदारहेछन्
कर्मवीरहरूले आकाश नै छुँदारहेछन्
तर सबै एकैनाश कहाँ हुन्छन् र
सबैले चुचुरा कहाँ छुन्छन् र!
तर हिम्मत हार्ने बेला होइन
पछि फर्कने समय छैन
अघि बढौँ, अघि बढौँ जीवनको यात्रा जारी रहोस्
अघि बढौँ, अघि बढौँ जीवनका सबै कर्महरू फलदायी रहोस्।