फुटबलका मैदानलाई
आफू अनुकूल बनाएर
तिमीहरूले सक्दैनौ भन्नेसँग
यति त हामीले भनेकै हौ
मैदान हामी अनुकूल बनाएर देखाऊ
त्यसपछि हेर्नू
जिन्दगीका मैदानमा
हामीले रच्ने इतिहासलाई
र हामीले जिन्दगीका गोल पोस्टमा गर्ने
ती उत्कृष्ट गोलहरूलाई।
जिन्दगीको मैदानमा
नआउनु आइसकेपछि
कि त लडाइँ जित्छ
कि त सहिद नै बन्छ
तर पिठ्युँ फर्काएर
अन्तिम नतिजा नआउँदै
हार भने कदापि स्विकार्दैन
एउटा जन्मजात योद्धाले।
ती कुटिल हाँसोहरूको जवाफ
र तिमी अनुकूल बनाएको पोखरीमा
पौडिएर तिमीले जितेका स्वर्णसँग
म सिक्दैछु पौडन
र एकदिन तिमीलाई देखाउनु छ
पौडीबाजका उत्कृष्ट कला
जिन्दगीका विशाल समुन्द्रमा पौडिएर।
शरीरको विज्ञान र
विज्ञानको बहसबाट पर
वचनका वाणले घायल भएका
ती कलिला मुटु
जति ती तिखा वाणले पोल्छन् नि
कसम कत्ति पनि पोल्दैन मलाई
ती सहायक सामग्रीले दिने चोटले।
यही मैदानमा हरेक पल
भेट भैरहन्छ हाम्रो र
तिमी सोधिरहन्छौ
किन हिँड्छौ?
बारम्बार लडेर पनि जिन्दगीको मैदानमा
कहिले हातले संकेत गर्दै?
कहिले सेतो छडीले टेक्दै?
म भन्छु
एकदिन मलाई
यो युद्ध जित्नु छ
त्यसैले मलाई हिँड्नु छ
किनकी मैले
जिन्दगीको खातामा
शताब्दीकै सबैभन्दा
उत्कृष्ट गोल गर्नुछ र
जिन्दगीको विश्वकपलाई जितेर
भन्नुछ एकदिन
हेर मैले चुमेका
यी स्वर्ण ट्रफीलाई।