साथी, मलाई तिमीसँग बोल्न लाज लाग्छ। त्यस्तो लजाउनु पर्ने काम त केही गरेको छैन, समय बित्दै गर्दा तिम्रो र मेरो अवस्था देखेर मलाई तिमीसँग बोल्न मन लाग्दैन।
तिमीसँग मेरो केही रिस र प्रतिस्पर्धा त होइन तर पनि तिम्रो व्यवहारले मलाई एकदमै बोल्न मन लाग्दैन। हामी सानैदेखिको साथी, एकअर्काको हरेक दुःखसुखमा साथ दिन्थ्यौँ र अहिले पनि छौँ।
कुरा तिमी एउटा मात्रको होइन, प्रायः मेरो विदेश गएका साथीहरूको गुनासो हो। तिमी विदेशी भूमिमा पक्कै छौ। सायद रहरले भन्दा पनि बाध्यताले गएको हुनुपर्छ।
आफ्नो सुनौलो भविष्य नेपालमा नदेखेपछि तिमी विदेशिन बाध्य पक्कै भयौ होला। त्यसमा तिम्रो पक्कै बाध्यता हो, म बुझ्छु।
तिमीले पैसा पनि राम्रै कमाउछौ। तिमी पैसा कमाउनै र आजको भन्दा भोलिको दिन राम्रो होस् भनेरै गएको हो, त्यो पनि म बुझ्छु।
ठिकै छ, तिमी पढ्दा र काम गर्दा धेरै सुत्न पाउँदैनौ होला अनि राम्रोसँग खाना खान नै तिमीलाई घरबाट हालखबरभन्दा पनि यो महिनामा कति पठाउछौ भन्ने गुनासो होला। तिमीलाई लाखौं खर्च गरेर पठाएपछि घरबाट त्यो सोध्नु स्वाभाविकै हो। त्यसलाई तिमीले कुन रूपमा ग्रहण गर्छौ भन्ने मात्र हो।
तिमी गएको ऋण पनि छिट्टै तिरौला केही छैन। त्यसपछि तिमीले बचाएरै नै राख्ने हो। ठिकै छ, तिमी जुन उद्देश्य लिएर गएको छौ त्यो पूरा होस्। यति भन्दै गर्दा के तिमीले नेपालमा हुने सबैलाई खुसी मात्रै देख्छौ र?
साथी, तिमी महिनामा लाखौं कमाएर त खुसी छैनौ भने सोच त के गर्ने? कसो गर्ने? भनेर भौतारिएको मान्छेसँग कति पीडा होला।
तिमी हप्ताभरि दुःख गर्छौ अनि एक दिन घुम्न गएको फोटो सामाजिक संजालमा हाल्छौ। हामी त्यसैलाई हेरेर दंग पर्छौं, त्यो हाम्रो मूर्खता हो। हामी त मूर्ख भयौँ-भयौ, तिमी पनि हुनुपर्छ र?
तिमीले विस्तारै ऋण तिर्यौ, तिमीले बचत गर्दैछौ अनि भन्छौ- 'छ्या कस्तो दिनमा आइएछ यस्तो ठाउँमा, तँलाई कति आनन्द छ है!'
आनन्द त कहाँ छ र? जहाँ आफू रमाउन जानिन्छ, त्यही नै छ आनन्द। हामीलाई पनि त कति छ नि चिन्ता भोलिको दिनमा के गर्ने, कसो गर्ने? आफूसँगको साथीले कमाउन लागिसके।
कहिलेकाहीँ फोन आयो अथवा फोन गरे पनि तिम्रै मात्र गुनासो! आफू नै बिजी छु जस्तो गर्ने। उफ्! 'तैँले त किन हो फोन नै गर्दैनस् त? कति बिजी हुन्छेस् है साथी।'
बोल्नै नहुनी गरी व्यस्त त भएको हुँदिनँ, व्यस्त भएजस्तो मात्रै गरेको। समय र परिस्थितिले व्यस्त भएजस्तो गर्नुपर्ने रहेछ।
तर जो कोही मान्छे पनि आफू जहाँ जे गर्दै भए पनि त्यसमा खुसी भएको देख्दिनँ। कोही-कोही मात्र हुन्छन् होला गन्न मिल्ने गरी।
कतिलाई देख्छु के पढ्दै छ भने कमाउन मन लाग्ने, कमाउँदै छ भने पढ्न मन लाग्ने। आफू जुन पदमा भए पनि अझ ठूलो पद चाहिने। एक तला घर भए दुई तला, दुई तला भए तीन तला।
हुन त समय परिवर्तनशील छ। समयको मागअनुसार आफूलाई बदल्नु पर्छ। जहिले पनि आफूभन्दा थोरै माथिको सपना बोकेर हिँड्नु पर्छ। जिन्दगीमा केही गर्छु भन्ने ठानेपछि आफूभन्दा तल्लो होइन, उपल्लोलाई आफ्नो लक्ष्य ठान्नु पर्छ।
सायद परिवर्तनशील हुन मन लाग्ने र परिवर्तनशील युगमा आफूलाई समायोजित गर्न नसक्नु त्यो मान्छेको कमजोरी हो। त्यस्तै म पनि मेरा हरेक क्रियाकलापमा खुसी छैन। मेरा पनि आफ्नै समस्या छन्। म जे गरिरहेको छु, म त्यसमा खुसी छैन। कुनै-कुनै बेला मलाई पनि तिमीसँगै विदेशिन पाएको भए हुन्थ्यो जस्तो विचार आउँछ।
सायद म पनि विदेशमा भएको भए तिम्रो र मेरो हरेक विचारहरू मिल्थ्यो होला। म पनि सुत्न पाइनँ, खाना खाने समय छैन भनेर सुनाउथेँ होला। अपसोच! मलाई घरको काम गर्दा थकाइ लाग्छ, त्यो तिमीलाई सुनाउन मिलेन।
तिमीले सोच्छौ होला, स्नातक सकियो नेपालमै केही गर्न सकिहाल्छस् नि।
म पनि ऊसँग ठट्टा गर्दै भन्छु- 'केही गर्न सकिएन, अब त्यतै आउँछु म पनि।'
अनि हतारिँदै उसको जवाफ हुन्छ, 'यस्तो दुखियाँ ठाउँमा किन आउनु पर्यो? उतै मोज छ तँलाई।'
म मौन बस्न पुग्छु। सम्झन्छु समाजलाई देखाउनको लागि भए पनि विदेशिनु बाध्य भएकाहरूलाई। सबै देखाउन जान्छन् भनेको होइन, कति त आफ्नो दिनचर्या कटाउने, खाना र एकसरो लगाउने सपना पूरा गर्न गएका हुन्छन्।
कोही समाजलाई देखाउन फलानोको छोरा यो ठाउँमा गएको छ भन्दै गर्दा बुवाआमाको आँखामा देखिएको सपना पूरा गर्न जान्छन्। विदेशिनु अहिले फेसनजस्तै भएको छ। फलानोको छोरी यो ठाउँमा, फलानोको छोरा त्यो ठाउँमा भन्दा गर्व गर्छन्।
गाउँतिर गएको बेला 'कुन भाषा पढ्दै छस् नानी?' भनेर सोध्दा कुनै भाषा पढ्दिनँ भन्दा निराशा छाएजस्तो गर्छन्। त्यो म राम्रोसँग देख्न सक्छु। अहिले त बाह्र पढ्यो अनि कुन भाषा पढ्ने भन्ने चटारो हुन्छ। यही नेपालमा ब्याचलर, मास्टर पढ्ने मान्छेको कुनै महत्त्व छैन। यस्तै छ साथी, तिमीले पनि त्यस्तै व्यवहार गर्छौ।
फोनमा 'के छ? कसो छ?' भन्दा पनि आफ्नै मात्रा गुनासो 'यस्तो भयो, उस्तो भयो।'
'मेरो सबै ठिक छ' भन्न के पाएको हुन्छु, गुनासो सुरू भैसक्छ- 'यार तेरो जिन्दगी त कति मोज छ, म कुन दिनमा विदेश आएछु, छ्या। गोरुजस्तो दलिनु परेको छ, मैले त पढ्न नि छाडेँ। उतै राम्रोसँग पढ्न पाएको भए मैले नि नेपालमै केही गर्थें।'
उसले पीडा सुनाउँदा म सुन्थेँ। फेरि यस्तो साथी पनि छन् जो आफूले घर-जग्गा किनिसके, आफू सेटेल भैसके अनि भन्छन्- 'तैँले त पढ्दै छेस्, आनन्द छ तँलाई।'
ए बाबा! मैले पढ्दै छु, तैँले त झन् कति प्रगति गरिसकिस्।
कहिलेकाहीँ बोल्दाबोल्दै डेटा सकिन्छ। 'डेटा सकियो पछि कुरा गरौँला है' भन्छु।
उताबाट जवाफ आउँछ- 'बरु बोल्न मन छैन भन् न, किन डेटा सकियो भनेको।'
'ए बाबा! तिमी पो हरेक सुबिधामा छौ। म त अझै नि डेटा चलाउँछु' भनिदिन्छु।
'नम्बर कति हो तिम्रो, म रिचार्ज हाल्दिन्छु नि।'
अहो! कम्ता लाज लाग्दैन। हामी पढ्दै गर्दाको साथी र अहिले हाम्रो लक्ष्य र बाटो फरक भएको साथीसँग खासै बात मिल्दैन।
तिमीले सोच्छौ- यसले त पढ्दै छे, ठूली मान्छे। अब हामीसँग किन बोल्थी।
अनि म सोच्छु- यसले त कमाउन लागिसकी, हामी अभाव र दबाबमा कुराहरू सेयर गर्नेसँग अब कहाँ कुरा मिल्छ? यस्तै छ साथी।
कसैले साथीको परिभाषा सोध्यो भने पनि केही नजान्ने जसरी मौन बस्नु पर्छ किनकी परिस्थितिअनुसार हरेक साथीले रुप बदलेको देखेको र भोगेको छु। बोल्न छोडेपछि एकोहोरो विचार होला।
जुन दिन मनका भावनाहरू सच्याएर तिमीले मलाई आफ्नो दुःखसुखको साथी हो भन्ने सोचेर पहिलेजस्तै आफ्नो अधिकार लिएर पहिलेजस्तै बोल्छौ, म पनि पहिलाजस्तै तिम्रो साथ हुनेछु।
साथीको सम्बन्ध कुनै धन सम्पत्तिसँग गरेको हैन। तिमीसँग धेरै धन हुँदाको साथित्व पनि हैन। तिमीसँग मेरो केही प्रतिस्पर्धा हैन। तिमी जे गर्छौ, तिम्रै लागि गर्छौ र म जे गर्छु मेरै लागि गर्छु।