अचेल जाम छिचोल्नै नसकिने
भरिएका सडक पनि खाली लाग्छन्
टेम्पुमा झुन्डिने ठेलमठेल मान्छेलाई नि यो सहर खाली
उसलाई पनि अवसरको द्वारहरू रित्तो लाग्छन्
रातो बत्तीलाई पर्खिएर बाइकमा अडिँदा
खसालिएका दुई खुट्टालाई पनि कता-कता अब
यो कुल्चिरहेको जमिनमा अब धेरै दिन टेक्दिन झैँ लाग्छन्
बिरुप लाग्दैन र कहिल्यै यहाँको कथा
एकै सालमा ६ लाखले देश छोड्दा
अचेल घरका कोठाहरू खाली छन्
खाली छन् आँगन अनि बगैँचाहरू
फुल्नलाई त फुल्छ्न् फूलहरू
छनलाई अझ कोलाहल नै यो सहरमा
ध्यान दिएर सुन्दा नि सुनिन्न शिशुका स्वरहरू
म्यासेन्जरमा भरिएका छन् रुन्चे हाँसो
केही रुवाइ, केही भावना अनि केही ममता
जसरी नगद कारोबार क्यासलेस भए
उसरी नै सम्बन्धहरू पनि डिजिटाइज्ड भइरहेछन्
अचेल बिपना त पूरै खाली-खाली छन्
सपनामा झम्टन आउँछ कतारको रंगशाला
साउदीको तेज धूप, खाडीको रेत
छु घरैमा तर बर्मिंघममा रेल समाउन पो दौडिरहेको छु झैँ लाग्छ
न्युरोडमा यसै भड्किन्छु तर न्युयोर्क सिटीमा कतै एक्लै भाग्दैछु कि जस्तो लाग्छ
कहिलेकाहीँ म हारेर देश छोड्न सोच्दैछु सोचेँ
तर ३ करोडमा ७० लाख जना कसरी हार्छन्
अनि त्यही रेमिट्यान्समा पालिनेले यिनैलाई भागे कसरी घोषणा गर्छन्
दलगत झन्डा नबोक्दा
कालो धन कमाउन्नँ भन्दा
मेहनतको सही मूल्य चिन्नेलाई परिश्रम बेच्छु भन्नेहरू
हारुवा हैनन् जितुवा हुन्
तिम्रो निकै खाली देश
तिम्रो निकै खोक्रो राष्ट्रवादलाई
अर्काको देशमा रगत पसिना गर्दै
भर्ने प्रयास गर्दैछ
पूर्ण बनाउने कोसिस गर्दैछ।