सानो हुँदा मनपर्ने पिलपिले जुनकिरी
अहिले व्यर्थ लाग्छ
न ताप न उज्यालो
नजर झुक्याउने नक्कली दियालो
केबल तिरीमिरी तिरीमिरी
रातको अँध्यारोमा
झुपडीभित्र
बालिने एउटा टुकी
धिपधिप बल्थ्यो
आशाको त्यान्द्रो
जसले सम्भव हुन्थ्यो
आँखाका रेटिनामा
अक्षरहरू दौडाउन
मनका कोठामा सपनाहरू सजाउन
स्मृतिमा पिरो-पिरो धुवाँ
कमजोर भाग्यको नियति
न बिर्सने न खुसीले सम्झने दियालो
न बिलाउँछ न आलो
थरीथरीका बिजुली बत्तीहरू
गल्ली-गल्लीका बिजुली बत्तीहरू
विकासका प्रतिबिम्बहरू
विलासका प्रतिबिम्बहरू
पछयाउँदा
आफैभित्र हराउँदा
आफैभित्र सन्नाटा छाउँदा
फेरि पनि व्यर्थ लाग्छ
जिजीविषाका सहारा बत्तीहरू
यात्राका सहारा बत्तीहरू
सार पक्कै होइनन्
किनकी
सार अपरिभाषित छ
सारको बत्ती निराकार छ
स्वप्रज्वलन बिना त कारागार छ
द्रष्टा बिना उज्यालो बेकार छ।