मसँग याद भएजस्तै
यादसँग यादको जमात छ
हृदयमा चोट भएजस्तै
चोटमा पीडाको थुप्रो छ
अनुहारमा पीडाको रेखा
देखिन्छ या देखिन्न थाहा छैन मलाई
किनकी
मैले वर्षौंदेखि ऐना हेरेको छैन
हो
खुलेको छैन म
पानी बर्सिन छाडेपछिको आकाश जस्तो
डुलेको छैन म
पखेटा फिँजाएर उड्ने चरी जस्तो
गुम्सिएको छु भित्रभित्रै कुइरोजस्तै
मक्किएको छु भित्रभित्रै बुढो रुखजस्तै
साथी,
हृदयको चोटले तय गरेको पीडाको यात्रा
सँगसँगै
आँखाबाट विद्रोही आँसुले तय गरेको यात्रा
थाहा छैन मलाई
कहाँसम्म पुग्न हतारिँदै छन्
यी विद्रोही आँसुका ढिकाहरू!