ढक दाइ!
उमेरले कम भए पनि उनको नाम नै ढक दाइ बनेको थियो। सबैको मुखमा ढक दाइ। निर्दोष, निश्चल, इमानदार अनि कर्मठ व्यक्ति। सच्चा मानवको मूर्ति जस्तो लाग्छ। उनी खुल्ला किताब हुन्। छलकपट पटक्कै छैन। जे छ, जे देखिन्छ त्यही हुन् उनी।
सबै कुराहरू छर्लङ्ग छ। मुखमा निःस्वार्थ हाँसो छ। सबैलाई उसले त्यही हाँसोले स्वागत गर्दछ। हाँस्छ निश्चल हाँसो। काम प्रति बफादार र कर्तव्यनिष्ठ छ। साना-साना कुराहरूमा नै उसको खुसीहरू छन्। ठूलो सपना पनि छैनन्। कुनै लक्ष्य छैन तर पनि जीवनको बाटोमा हिँडिरहेका छन्।
काठमाडौं सहरको भिडमा उनी पनि एउटा जीवन बाँचेका छन्। जीविकोपार्जनको लागि ज्यालादारी काम गर्छन्। कति कमाउँछन्, कति खर्च गर्छन् अनि कति परिवारलाई बचाँउछन्। यो सुखदुःख उनीसँगै छ। जीवन आवश्यकता पूरा गर्नमा चलेको छ। जेनेतेने समस्याहरूलाई टारेका छन्।
बेलामौका पीडा हुँदा भने उसलाई पैसा भए सुख हुने थियो भन्ने लाग्छ। परिवारलाई धेरै सम्झन्छन्। सानो छोरीको अनुहार सधैं झल्झल्ती आइरहन्छ। दुःखको परेको बेला जब उनी छोरीको अनुहार सम्झन्छन्, सबै दुःख बिर्सन्छन्। प्रेरणा मिल्छ। अनि संर्घषमा पनि गर्व हुन्छ।
उनको परिवारमा सबै दाजुभाइहरू आर्थिक अवस्थामा उनीभन्दा दरिलो छन् भन्छन्। तर उनीहरूको परिवारबाट उनलाई सहयोग नपाएको र हेला गरेको भनेर सुनाउँछन्। सानैमा विवाह गरेको कारणले छुट्टिएर बसेका छन् अनि विवाह गरेपछि छुट्टिनुपर्ने चलन पनि छ रे उनको गाउँमा।
परिवारको सहयोग छैन रे। साथीभाइहरूले पनि सहयोग नगरेको गुनासो सुनाउँछन्। गाउँमा कुनै कामधन्दा नभएपछि आफ्नो परिवार पाल्नको लागि परदेश हिँडेर काठमाडौंमा आएछन्। उनले सुनाउँछन् आफ्ना कथा।
'गाउँघरमा सबैजना विदेशी भूमिमा छन्। सुखदुःख त कसले देख्ला र तर सबैले देख्ने भनेको पैसा चाहिँ हो। गाउँमा कसले कति पैसा कमायो र के गर्यो भन्ने तथ्यांक भने घरैपिच्छे हुन्छ। अरुको खुब चासो राख्छन्।'
ढक दाइ भने यो प्रतिस्पर्धाबाट बाहिर छन्। उनको नाम नै छैन त्यो दौडमा। त्यही भएर पनि उसलाई समाजले चासो पनि राख्दैन। बेलाबेला घर जाँदा होस वा चाडपर्वको बेला, उनी आएको भनेर सोधीखोजी पनि हुँदैन।
न उनी सुकिलोमुकिलो भएर जान्छन् न त कुनै तडकभडक। आफ्नो दुःखसँग जान्छन् अनि दुःखसँगै आउँछन्। आजभोलि विदेश गएर दुई/चार पैसा नल्याएको वा विदेश नगएको मान्छेको गन्ती पनि हुँदैन भन्दै गुनासो सुनाउँछन्। आर्दशको कुराभन्दा पनि समाजमा जे छ त्यही हुन्छ।
वास्तवमा समाजमा ढक दाइको परिचय छैन। कुनै मूल्य छैन। उनका गुणहरू, मानवीय व्यवहारहरूको भाउ छैन। समाज फरक भइसकेको छ। भौतिकवादी समाजमा ढक दाइको सम्बन्ध छैन। ऊ सोझो छ। इमान्दार छ। बेइमान गर्न जान्दैन।
सँच्चा छ तर समाजले खोजेको कुरा ऊसँग छैन। यही भएर पनि ऊ आफन्तबाट पनि टाढा छ। कसैले फोन गर्दैनन्। सामाजिक सञ्जालमा पनि कसै साथीहरूले बोलाउँदैनन्। सबैबाट एक्लिएको थियो। ऊबाट समाज टाढा भइसकेको छ।
समाजले भन्ने कुरा एउटा थियो, सँगसँगै उनी हिँडने बाटो अर्को। उनीसँग दैनिक जीवनमा संर्घष गर्नु सिवाय अरु कुनै उपाय पनि थिएन। उनी आफ्नो बाटोमा लागिरहन्छ। परिवारको बाध्यतामा सीमित छ जीवन। आफ्नै समस्या र संर्घषमा व्यस्त देखिन्छन्।
उनलाई संसारको बारेमा धेरै थाह छैन पनि। पैसाको संकट बेहोर्दै गर्दा भने उनलाई पैसा कमाउने सोच पनि आउँछ। बेलाबेला खाँचो महसुस भने गर्दै आएको छन्। बेलाबेलामा विदेश जाने सोच नबनाएको पनि होइनन् तर साहुको पैसाको जोखिम लिएर जाने आँट पनि गरेन। साथीभाइले पनि डरत्रास मात्र देखाउँथे। कसैले सहयोग र सकारात्मक सल्लाह दिँदैनथे।
झन् फस्ने र जीवनभर अर्काको ऋण तिर्नुपर्ने डरले त्यो बाटा बन्द झैँ भएको थियो। पैसा कमाउन पनि पैसा चाहिने रहेछ भन्ने कुरा उनी बताउँछन्। विस्तारै विदेश जाने सोच पनि हराउँदै गएको थियो। अब भने जीवनको दैनिकी चलाउनु नै जीवन थियो उनको लागि। जीवन निरन्तर बाटोमा चलिरहेको थियो। तर एक्लो थियो।
परिवार गाउँमा नै थियो। सानो कमाइको लागि सहर छिरेका थिए। वर्षभरिमा उनी जेनतेन पचास हजारदेखि एक लाख जति दुःखले बचाउँथे। परिवार पाल्नुपर्ने बाँध्यता थियो। अर्काको छोरी ल्याएपछि पाल्नुपर्ने समाजको मान्यता थियो। पुरुषले कमाएर परिवार पाल्नुपर्ने समाजको सोचबाट ऊ पनि अछुतो थिएन। यही कायम राख्नको लागि ऊ सहर पसेको थियो। पुरुषत्व बचाउन पनि।
काठमाडौंमा काम गर्ने सिलसिलामा एकजना कोरियन भाषा पढाउने सरकोमा काम गर्न पुगे। सरले उनलाई कोरिया जाने सपना देखाए। यहीबाट कोरियन भाषा पढेर विदेश जाने सपनाको बीज उम्रियो। कोरियन भाषा पढेर जान पाइने अनि तलब पनि धेरै हुने भन्ने कुराले उसलाई मनमा बत्ती बाल्यो।
पढेर जान पाइन्छ पैसा लाग्दैन भन्ने कुरा उसको लागि सान्दर्भिक लाग्यो। मन हुँदाहुँदै पनि उसले काम छोडेर गर्न सक्दैनथ्यो। बाध्यताहरू थिए। भाषा पढाउने सरहरूले दिएको सल्लाह सुझावहरूले उनको मन तान्न थाल्यो। अनि काम गरेर बाँकी समय वा काम नभएको बेला आंशिक समय दिएर पढ्न थाले।
उनलाई कठिन नलागेको पनि होइन र यसको बारेमा नसुनेको पनि होइन। तैपनि यसपालि परीक्षा चाहिँ दिउँ भन्ने सोच आयो र उनी जसोतसो पढ्न थाले। किताबको पानामा पल्टाउँदै गर्दा दैनिक जीवनका कठिनाइहरू र समस्याहरू बाधा गरिहन्थे। परिवारको दुःख अनि कामको कुराले मनमा धेरै ठाउँ लिन्थ्यो।
दिमाग भुत्ते भइसकेको थियो, त्यो पनि खाली थिएन। जीवनमा कुनै परिवर्तन होला जस्तो लागेन। उनको लागि कोरियाको सपना देख्नु परको विषय लाग्यो। वास्तवमा उनले सम्झेका पनि थिएनन्। तर उनी अल्झेको भने पक्कै थिए।
उनीसँग भर्ना गर्ने पनि पैसा थिएन। काम गरिदिने सर्तमा सरसँग पढ्ने वाचा गरे। दयालु सरले पनि उनको सपना अनि निर्दोषपनलाई बुझेर उनको सर्त मञ्जुर गर्दै ढक दाइको कोरियन भाषा पढ्ने झिनो सपना पूरा भयो। पढाइको सँगसँगै उनले काम पनि गर्दै गए।
ढक दाइ कक्षामा नियमित हुन सकेनन्। कामको बाध्यता छँदै थियो। तर पनि खाली समय र बचेको समय भने उनले यही भाषालाई दिन थाले। उनको लागि यो कुरा फलको आशा नगरी गरिने कामजस्तै भयो। उनले ठूलो सपना पनि बनाएन तर कर्म पनि गरिरहे। ठूलो मेहनत पनि होइन तर कर्म भने निरन्तर हो।
यसै बीचमा परीक्षाको समय पनि नजिक आइरहेको थियो। अब भने उनले केही समय भए पनि यसमा अलि बढी लगाबको साथ पढ्न थाले। वस्तुगत परीक्षा परीक्षा अलि बढी प्रविधिक पनि थियो। पढेर मात्र पनि नहुने तर नपढी पनि नहुने। पचास मिनेटको समयको कुरा हो।
परीक्षा पनि भयो। उनलाई परीक्षा कस्तो भयो। पास वा फेल कुनै पत्तो भएन, परीक्षा दिने आफ्नो काम पूरा गरे। आशा पनि राखेको थिएनन्। कुनै पीडा भएन आशा नै नभएपछि।
कोरियाको परीक्षा सकिएको महिनादिन भित्रमा रिजल्ट आयो। ढक दाइको दुःख र मेहनतलाई इश्वरले पनि साथ दिए। आशा नगरिएको उपलब्धि भयो। उनी पास भए। एकदिन त पत्याउन नै गाह्रो लाग्यो। उनले आफैलाई पत्याउन सकेनन्। उनी कोरिया रोजगारको लागि योग्य भए तर विश्वास नै लागेन।
यो वास्तविकता थियो। भोलिपल्टदेखि कता-कता विश्वास लाग्न थाल्यो। योसँगै उनको दिमाग चल्न थाल्यो। सपना देख्न थाले। उनका आँखा खोलिएको भान भयो। सपनाबाट बिउँझिए जस्तो लाग्यो।
ढक दाइको जीवनमा एउटा परिवर्तन आयो। विश्वास नलाग्ने बदलाव आयो। उनको परिवारमा पनि थाहा भयो। अनि सबैले पनि चासो राख्न थाले। सबैले सोध्न थाले। श्रीमतीको पनि माया बढ्यो। चासो चिन्ता पनि बढ्यो। दाजुभाइ, दिदी, बहिनी सबैले उसलाई बधाई दिए। सोधखोज गर्न थाले।
निर्दोष ढक दाइले त्यो कुरा पनि बुझ्न सकेका थिएनन्। तर उसले यसलाई सकारात्मक परिवर्तनको रुपमा भने महसुस गर्न थालेका थिए। आफन्तको माया, परिवारको बन्धन अनि हेरचाह पाउन थालेको छन्। यति मात्र कहाँ हो र? उसको फेसबुकमा साथीहरू पनि थपिन लागेका छन्। पूराना साथीहरूले पनि बोलाउन थालेका छन्। हिजोको एक्लो र रिक्त ढक दाइ, आज सबैको साथ पाउन थालेको छन्। प्यारो हुन थालेको छन्।
ढक दाइको आफैभित्र पनि एक सपना बन्न थालेको छ। परिवार र सन्तानको लागि भविष्य देख्न थालेको छन्। हिजो उनको मनमा जे जसरी जीवन बिताउने इच्छा मात्र थियो भने आज उनले व्यवस्थित जीवनको बारेमा सोच्न थालेको छन्। त्यहाँको लगभग महिनाको दुई लाखभन्दा अलि बढी तलब हुने हुँदा त्यही अनुसारका उनका सपनाहरू आउन थालेका छन्।
आजभोलि उनी आशावादी छन्। भविष्यप्रति सकारात्मक छन्। समाजमा, साथीभाइहरूमा आत्मविश्वासको साथ बोल्न थालेको छन्। अब समाजमा हिजो जस्तो उनलाई हेप्न पनि आँट गर्न छोडेका छन्। उनको कमाइ हुने तलब सुनेर सबैको मुख थुनिएको छ।
ढक दाइको आर्थिक शक्ति पनि बढेको छ। समाजमा हैसियत पनि बढेको छ। सबै कुराहरू उनी आफैले महसुस गर्न नसके पनि उनको जीवनमा धेरै कुराहरू परिवर्तन भएको छ।
ढक दाइको यो फेरिएको जीवनमा अवलोकन गर्दैगर्दा, मलाई लाग्छ यो नेपाली समाजको चरित्र हो। यसले भौतिकवादी सोचलाई प्रतिनिधि गर्दछ। हाम्रो समाजमा पैसाले ठूलो स्थान पाएको छ। परिवार, समाज आफन्त आदि सम्बन्धहरू हैसियत अनुसार व्यवहार गर्छन्।
सबैले बलेको आगो नै ताप्छन्। जीवनमा उतारचढाव सामान्य कुराहरू हुन् तर समाजको धारणा भने बदलिरहन्छ। समाजको चरित्र बदलिएको छ। ढक दाइको फेरिएको जीवनदेखि खुसी लाग्छ। अबको जीवन सुखद् होस। सपना पूरा होस्। यही कामना छ।