विकट ग्रामीण क्षेत्रमा एक गरिब परिवारमा जन्मिएकी केटी ऊ। उसको परिवारमा ५ जना सदस्य थिए- बुबा, आमा, ऊ र दुई जना बहिनीहरू। बाले सिकर्मीको काम गर्नुहुन्थ्यो। आमा बाथ रोगको बिरामी, केही गर्न सक्नु हुँदैनथ्यो।
आमाको उपचार गर्न उसको बाले खर्च जुटाउँदै हुनुहुन्थ्यो। ऊ कक्षा ६ मा पढ्थी। बहिनीहरू सानै थिए। उनीहरू क्रमशः ७ र ५ वर्षका थिए। गरिब परिवार भए पनि उनीहरू खुसीसाथ बसेका थिए।
घरको काम गर्ने सबै जिम्मा उसको हुन्थ्यो। भौतिक सुखसुबिधाले सम्पन्न नभए तापनि खुसी साथ दैनिकी बिताएका उनीहरूको घरमा दैवको नजर लाग्यो। घाँस काट्न जाने क्रममा बाको भिरबाट लडेर अचानक मृत्यु भयो।
गाउँलेहरूको सहयोगमा काजकिरिया सम्पन्न भयो। अब घरको खम्बा नै ढल्यो, मेरुदण्ड नै नरहेपछि चारैतिरबाट समस्याले घेरिए। उता आमाको उपचार गरुँला भन्ने सोचेका उनीहरू पहिलै बाको निधन भएपछि सबैजना चिन्तामा डुबे।
घरको आर्थिक अवस्थाको कारण ऊ पढाइ छाडेर अर्काको घरमा काम गर्न सुरू गरी। त्यति राम्रो विद्यार्थी पढाइ छाडेको देखेर शिक्षकहरूले पढाइ नछाड्न सल्लाह दिँदै कक्षा १० सम्म विद्यालयले पढाइदिने वाचा गर्नुभयो। दिनभरि स्कुल जाने, बिहान साँझ अरुको घरमा काम गरेर घर खर्च चलाउनु पर्थ्यो।
उता आमा झन् पछि झन थला पर्दै जानुभएको थियो। बहिनीहरू घरको काम गर्थे, आमाको यस्तो अवस्था देखेर केही सहयोग माग्न गाउँभरि हिँड्थी तर कसैले सहयोग गर्न खोज्दैन थिए। यत्तिकैमा उपचार नपाएर आमाको पनि एकदिन निधन भयो।
परिवारमा एकपछि अर्को बज्रपात परेको थियो। बा बितेको एक वर्ष नहुँदै आमाको मृत्यु भयो। आमालाई जसोतसो उपचार गरी बचाउने उसको सपना अधुरै रह्यो। अब उनीहरू बिचल्लीमा परे। सहाराविहीन भए।
यसपालि नि जसोतसो गाउँलेहरूले आमाको काजकिरिया सम्पन्न गरिदिए। अब उनीहरूको बाँच्ने धरातल नै रहेन। त्यसपछि घरको सबै जिम्मेवारी उसको हातमा भयो। बहिनीहरूको पढाइ खर्च, घरको खर्च सबैकुरा धान्न एकदमै कष्ट भइरहेको थियो उसलाई।
कक्षामा प्रथम हुँदै आएकी ऊ पढ्ने वातावरण नहुँदा पास मात्र हुन थाली। यसैगरी कक्षा १० मा पुगी। ऊ एसएलसीमा प्रथम श्रेणीमा उत्तिर्ण भई। सानैदेखि पढाइमा अब्बल उसलाई उच्च शिक्षा अध्ययन गर्न ठूलो धोको थियो। शिक्षकहरूको सल्लाहअनुसार सहर जाने निधो गरी।
दुई जना बहिनीहरू ७ र ५ कक्षामा पढ्थे। उनीहरू फुपूको घरमा गई बस्ने, त्यही काम गर्ने मन्जुरीमा फुपूले आफ्नो घर लैजाने भइन्। यता घरमा भएको एउटा भैँसी बेचेर पढ्नको लागि ऊ सहर लागी।
गाउँबाट आएकी ऊ सहरका सबै कुरा अनौठा, अपरिचित र बिरानो लाग्न थाल्यो। दुई जना नचिनेको साथीसँग बस्न थाली। ऊसँग पैसा नहुँदा उनीहरूले हरेक कुराबाट एक्लै बनाउँथे। कतै लैजाँदैन थिए। उसलाई कक्षामा पनि सबै साथीहरू होच्याएर बोल्थे, कसैले मिलाउँदैन थिए।
उसले कसैको कुरालाई प्रवाह नगरी बस्थी। यसै क्रममा कक्षा १२ को परीक्षा दिई। केही महिनापछि रिजल्ट आयो। आफ्नो संकायका साथै कलेज टप नै गरी।
उसलाई राम्रो-राम्रो कलेजबाट ब्याचलर पढ्न अवसर आयो। छात्रवृत्तिमा पनि नाम निस्कियो। ब्याचलर पढ्न पैसा नलाग्ने भयो। उसलाई सानैदेखि मन पर्ने विषय थियो अङ्ग्रेजी। त्यसैले सोही विषयमा स्नातक प्रथम वर्षमा भर्ना भई।
कलेज दिनमा थियो, ऊ दिनभरि काम गरेर परीक्षा दिन मात्र कलेज जान्थी। उसको कोठा नजिकै एकजना लोक सेवाको तयारी गरिरहनु भएकी दिदी बस्नुहुन्थ्यो। सानैदेखि सरकारी जागिर खाने सपना थियो उसको पनि। त्यो दिदीको पढाइबाट प्रभावित भएर आफू पनि पढ्न सुरु गरी।
आफू अङ्ग्रेजीमा अरु विषयमा भन्दा अब्बल भएको हुँदा प्रराष्ट्र अधिकृतमा फर्म भरी। कलेजको पढाइ त्यतिबेला सकिएको थियो। प्रथम, दोस्रो र तेस्रो वर्षमा क्रमशः प्रथम श्रेणिमा उत्तिर्ण भई। उता लोक सेवाको पढाइ निकै मेहनतका साथ समय मिलाएर पढने गर्थी।
केही समयपछि परीक्षा भयो। त्यसपछि पुनः तयारीमा लागेकी थिई। अर्को वर्षको परीक्षा दिँदै गर्दा अघिल्लो वर्षको नतिजा आयो जुन उसको पक्षमा थियो अर्थात् उसको पत्रिकामा नाम आयो।
विगतका ती तिता पलहरू सम्झिँदै त्यो खुसीको खबर सुन्दा उसका खुसीका आँसु आए। उसलाई बधाई दिने मान्छेको लहर बढ्यो। सफलताको खुसी बाढ्न आफ्नो बाबाआमा नहुँदा भने ऊ दुखी भई।
विस्तारै उसको मान, प्रतिष्ठा बढ्न थाल्यो। उसले आफ्नो बहिनीहरूको पनि राम्रो हेरविचार गरेकी छ।
अहिले उसलाई नचिनेका मान्छेले पनि चिन्न थालेका छन्। ठूला-ठूला मान्छेसँगको सङ्गत बढेको छ। राम्रो घरपरिवारबाट बिहेको प्रस्ताव आउन थालेका छन्। यसरी हरेक कठिनाइ, परिस्थिति र सङ्घर्षलाई झेल्दै एक उदाहरणीय व्यक्ति बन्न पुगेकी छे।