यो धेरै पहिलेको कुरा हो, सत्ययुगभन्दा पनि पहिले!
त्यतिखेर जंगलका पशुहरूको साझा भाषा हुन्थ्यो। मानिसहरूझैं उनीहरू पनि कुराकानी गर्थे।
पृथ्वीभरका लाखौं घना झाडीहरूमध्ये एकमा एउटा भाले स्याल थियो। स्याल बाठो थियो तर जंगलको संहिताले ऊ बाँधिएको थियो।
ऊ गाउँ गएर जति पनि कुखुरा चोरेर खान पाउँथ्यो। तर जंगलका फ्याउरो वा ब्वाँसोका छाउराहरूमाथि आक्रमण गर्न वर्जित थियो।
वर्षभरमा एकपल्ट आउने प्रणयको ऋतुमा जंगलका सयौं पोथी स्यालहरूमध्ये कसैसँग पनि आपसी सहमतिमा समागम गर्न ऊ स्वतन्त्र थियो। तर ऋतु परिवर्तन हुनासाथ त्यस्तो कुनै सम्बन्धको गुञ्जायस हुँदैनथ्यो।
समस्या के भने, हाम्रो कथाको पात्र भाले स्याल आम स्यालहरूभन्दा पनि छट्टु र कुटिल थियो। उसलाई जंगलका प्राणीहरूमध्ये मात्र नभइ सिंगो जगतमै आफूभन्दा बढी जान्ने कुनै प्राणी छैन भन्ने लाग्थ्यो। त्यसैले सृष्टिका तमाम लाटा जीवजन्तुहरूलाई विपत्तिबाट बचाइराख्नु आफ्नो जिम्मेवारी हो भन्ने उसलाई लाग्थ्यो। स्वभावतः बाँकी सबैभन्दा आफू फरक छु भन्ने घमन्ड उसलाई थियो।
एक दिनको कुरा हो। संसारकै टाठो जनावर भएको घमन्डमा उसले जंगलको संहिता बिर्सियो। गलत ऋतुमा उसले केही पोथी स्यालहरूमाथि यौन हिंसा गर्यो।
उसलाई लागेको थियो सृष्टिको संरक्षणकर्ताका हैसियतले उक्त क्षणिक आवेगको परिणामका लागि उसलाई जंगलको समाजले क्षमा दिनेछ। तर त्यस्तो भएन।
जंगलका सारा पशुपन्छी जम्मा भएर उसलाई दुत्कारे। क्षणभरमै उसलाई सबैले छिःछिः र दुरदुर गरे। आखिर सभाले उसलाई जंगलबाट निकालाको घोषणा गर्यो।
ऊ फेरि छलछाम गर्दै रूप बदलेर जंगलमा नफर्कोस् भन्ने कसरी सुनिश्चित गर्ने भनेर सभामा बहस भयो। धेरैले धेरै उपाय सुझाए तर अन्तिममा उसको पुच्छर काट्ने निर्णय पारित भयो।
अपमान र क्षोभका कारण विस्फोट भइहाल्ला कि जस्तो पुच्छरबिनाको शरीर लिएर स्याल लुरूलुरू सभाबाट निस्कियो। दिनभर हिँडेपछि जंगल सकियो। अगाडि हरियो फाँट आयो। त्यो रात उसले त्यही फाँटको छेउमा बितायो।
बिहान उठ्दा उसको मन निकै हलुका भएको थियो। उसले आफैंलाई भन्यो- एउटा जंगलका जनावरले मलाई निकालेका न हुन्, यति ठूलो संसारमा म अब अन्त जता गए पनि स्वतन्त्र छु।
तर मानिसको बस्तीतिर दिउँसो हिँड्नु सुरक्षित थिएन। पछाडि फर्किने कुरै थिएन। स्याल फाँटको छेउमा दिनभर अलपत्र पर्यो। उसलाई यस्तो छटपटीले गाँज्यो कि यसअगाडि कहिल्यै यस्तो अनुभव भोग्नु परेको थिएन।
हिउँदका कलिला घाम लागेर न्यानो हुँदै आएपछि कतिखेर निद्रा लाग्यो उसले पत्तै पाएन। मध्याह्नतिर स्यालले सपना देख्यो।
त्यो सपनामा पहिलेको भन्दा निकै ठूलो र सुन्दर जंगल थियो। त्यहाँको नयाँ राजा ऊ थियो। जंगलका बाघ र सिंहले समेत उसको बुद्धिमत्ताको सराहना गर्दै उसलाई राजा मानेका थिए। अनि हात्ती र जिराफहरू उसको सेवामा खटिएका थिए।
ब्युझिँदा भोक र तिर्खाले मुख प्याकप्याक भएको थियो। तर पनि स्यालले अनुहार उज्यालो बनायो। अनि आउने दिनहरूका लागि योजना बनायो।
साँझ पर्नासाथ त्यहाँबाट निस्केर स्याल गाउँ छिर्यो। त्यहाँ अलिबेर डुलेपछि एउटा कुखुराको भालेको शिकार गर्यो र धित मरून्जेल त्यसको मासु खायो। उज्यालो नहुँदै ऊ मानव बस्तीको अर्कोपट्टिको घना जंगलमा पुगिसकेको थियो।
नयाँ जंगलका जनावरहरूले स्यालप्रति अनौठो व्यवहार देखाए। फ्याउरोदेखि बँदेल र ब्वाँसोसम्म उसका अगाडि अदबका साथ प्रस्तुत हुन्थे। अरू स्यालहरूले पनि उसलाई सजातीय प्राणी नभई उच्च कोटिको प्राणीको जस्तो व्यवहार गर्थे।
त्यो नयाँ जंगलमा कुनै बेला सन्की बाघको शासन थियो। उसलाई सबैले राजा मानेकै थिए तर उसमा सम्राट बन्ने महत्वाकांक्षा थियो। त्यसैले उसले अनाहक अरू पशुहरूको ज्यान लिन्थ्यो। खानका लागि मात्र नभई यसै पशुहरूलाई मारेर फालिदिन्थ्यो। युगौंदेखि जंगलमा चलिआएको संहिताको धज्जी उडाउँथ्यो।
त्यसरी राजा बाघसित आजित भएका पशुपन्छीहरूले केही समयअगाडि एउटा जुक्ति लगाएर बाघबाट मुक्ति पाएका थिए। एक्लै दुक्लै बाघको अगाडि जान छाडेर सयौं जीवजन्तुले एकसाथ बाघमाथि हमला गरेका थिए। बाघले कैयौं जन्तुलाई मारे पनि अन्ततः ऊ परास्त भएको थियो। अनि सबै मिलेर उसका दाह्रा र नंग्रा उखेलेर राजाको पदबाट च्युत गरिदिएका थिए।
राजाको शासन अन्तसँगै जंगलमा स्वतन्त्रता व्याप्त थियो तर त्यसको फाइदा उठाएर केही अराजक जन्तुहरूले कहिलेकाहीँ हंगामा गर्थे। त्यस्तो हंगामाबाट आजित भएर राजाको शासन फर्काउनु पर्छ भन्ने एकाध जन्तुहरू पनि जंगलमा थिए।
नयाँ जंगलको खुला वातावरण र स्वतन्त्रताबाट स्याल आनन्दित नै थियो तर उसले पहिलेको जंगलबाट लखेटिएको अर्को दिन देखेको दिवास्वप्न भुलेको थिएन। यता आएपछि पनि उसले बारम्बार राजा बनेको सपना देखिरहन्थ्यो। तर यताको माहोल यस्तो थियो कि राजाको नाम लिनासाथ अरू जनावरहरू क्रुद्ध भइहाल्थे। त्यसैले उसले स्वतन्त्रता, समानता, भ्रातृत्व र गणतन्त्रको नारा लगाइरह्यो।
एक दिनको कुरा हो। जंगलको एक छेउमा उसले यस्ता तीन जनावर भेट्यो जसले भन्दै थिए- यो अराजकताभन्दा त बाघ राजाकै शासन ठीक थियो!
स्यालको दिमागमा बिजुली चम्कियो।
'जमाना नयाँ भएकाले अब नयाँ किसिमको राजा बनाउनु पर्छ' भन्दै ऊ संवादमा जोडियो। तर उसलाई संशयपूर्वक हेर्दै अरू जनावरले भने- एकपल्टको राजा, सधैंको राजा। कृत्रिम दाह्रा र नंग्रा लगाइदिएर भए पनि हाम्रा प्राणभन्दा प्यारा बाघ राजालाई फेरि गद्दीमा फर्काउनु पर्छ।
धुर्त स्यालको दिमागमा फेरि बिजुली चम्कियो।
'क्या बात, त्यसै हुनु पर्छ, मैले त तपाईंहरूको मन चोर्न पो खोजेको' भन्दै उसले सहमति जनायो।
नयाँ साथी पाएर मखलेल भएका तीन जनावरले ऊसित अरू धेरै बेर कानेखुसी गरे र सत्तापलट गर्ने योजना बनाए।
स्वतन्त्रता, समानता, भ्रातृत्व र गणतन्त्रको नारा लगाइरहेका अरू जनावरहरूको हुलमा गएर स्यालले एकैपल्ट हुंकार गर्यो- यी नारा अब पुराना भइसके, नयाँ भनेर ल्याएको व्यवस्था पुरानो भइसक्यो। अब राजा आउनै पर्छ, यो जंगललाई जोगाउनै पर्छ। राजाले रैतीलाई ठूलो सानो बनाउन, दमन गर्न र परिआउँदा मार्न पनि पाउनु पर्छ।
स्याललाई नयाँ समयको नयाँ अग्रज मानेर पछ्याइरहेका जनावरहरूमा हडकम्प मच्चियो। कतिले उसको निन्दा गरे। कतिले ऊसित हिँडेकोमा पछुतो प्रकट गरे। कतिले 'मैले शंका गरेको आखिर ठीकै रहेछ' भने।
छट्टु स्यालसित अब पछाडि फर्कने बाटो थिएन।
त्यसैले उसले कर्कशलाग्दो स्वरमा भाषण गरिहिँड्यो- जुन जंगलमा राजा हुँदैनन्, त्यसको दुर्गति हुन्छ। जहाँ समानताका नाममा बलिया र कमजोर पशुहरूलाई बराबर ठानिन्छ, त्यहाँ अराजकता सिर्जना हुन्छ। सानाले ठूलालाई मान्न छाड्छन्। बलिया जनावरहरूको अपमान हुन्छ, उनीहरूको भावनामा ठेस पुग्छ। उनीहरू क्रुद्ध बन्दै गएपछि विद्रोह गर्छन् र त्यसखाले कृत्रिम व्यवस्था धानिन सक्दैन। त्यसैले विद्रोह र रक्तपात रोक्ने हो भने खुरूक्क अहिल्यै राजा फर्काऔं, बलिया जनावरहरूको सर्वोच्चता स्थापित गरौं र अमन चयनसहित बाँचौं।
जनावरहरूले चेतना विकास गरेयता जेजे सुन्दै आएका थिए, स्यालले त्यसको ठ्याक्कै उल्टो कुरा गर्दै थियो। त्यसैले धेरैले उसलाई गम्भीर रूपमा लिएनन्। कतिले उसमा नयाँ राजा बन्ने भूत चढेको भने। अरूले 'चर्चा कमाउन यो स्याल जे पनि बोल्छ' भने। अरू कतिले ठाडै उसको विरोध गरे।
तर एउटा ससानो समूहमा त्यस्ता मुठ्ठीभर जनावरहरू थिए जसले कुनै दिन बिनापौरख रातारात आफू शक्तिशाली बनेको सपना देखेका थिए। तिनलाई जंगली सत्ताको भर्याङमा छिटो माथि उक्लेर शक्तिको आनन्द लिनु थियो। उनीहरू स्यालको पछिपछि लागे।
जो जता लागे पनि पशु जगतमा एउटा बहस छेडियो।
एक बिहानको कुरा। रातभर जंगलको राजा बनेको सपना देखेर मुख मिठ्याउँदै सुतेको स्याल बिहान उठ्दा झसंग भयो। उसको पुच्छर गायब थियो। उसले तिर्मिराउँदै गुफाभर खोज्यो तर मान्छेको बस्तीमा छँदा मेहनतसाथ पुठ्ठाको बीचमा जोडेको खसीको पुच्छर भेटिएन।
त्यो पुच्छर उसको एउटा अंग मात्रै थिएन। नयाँ जंगलमा अरू जनावरहरूले ऊसित अदवपूर्वक व्यवहार गर्नुको कारण पनि त्यही अनौठो पुच्छर थियो। त्यही पुच्छरकै कारण अरू जनावरले उसलाई बाँकी सारा जंगली जनावरभन्दा भिन्न, विलक्षण र प्रतिभाशाली स्याल मानेका थिए।
पुच्छरबिना ऊ अब कुनै गम्भीर अपराधका लागि दण्डित भइसकेको जनावर प्रमाणित हुन्थ्यो किनकि ऊ बेलाको विश्वव्यापी संहिताअनुसार गम्भीर अपराध नगरी कसैको पुच्छर काटिँदैन थियो। त्यसैले ऊ बाहिर ननिस्की गुफामै उपवास बस्यो। फेरि जंगलको कसैले उसबारे कुनै खबर सुनेन।
त्यसको केही समयपछि जंगली गणतन्त्रमा चुनाव भयो र नयाँ जनावरहरू निर्वाचित भए। चुनावमा विजयी हुने जनावरहरूले विजय जुलुस निकाले।
त्यही जुलुसको छेउमा छट्टु स्याल र उसलाई गुरु थापेर सत्तापलट गर्ने सपना देखेका मुठ्ठीभर जनावरहरूका सपनाका लासहरूको डंगुर लागेको थियो।
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)