सञ्चो, सुविस्ता, पढाइ, लेखाइ
र केटाकेटीको खबर
सोध्ने आवाजहरू ती
आकाशवाणी भएछन्
अहंकार र दम्भरहित
आत्मा विश्वासका संगीतहरू
एकाएक बिलाएर गएछन्
पुराण, उपनिषद्, वेदका
भाष्यहरू सुनाउने
आवाजहरू
एकाएक जलमग्न भएछन्
आँतताई खबरले
विष्फोट भएका
कानहरूले
श्रव्यशक्ति गुमाइसकेछन्
आफैलाई कहिल्यै नदेख्ने
आँखाहरूले
महाप्रलयको बाढीमा
अनुवाद क्षमता गुमाइसकेका
नाक, जिब्रो अनि
आफूलाई मात्र
आमनेसामने
हेरी बसेछन्
स्पर्श गर्ने क्षमता हराएको
त्यो छालालाई
हड्डीहरूले
पाल टाँगेर अड्याइ राखेछन्
परिवार मालाको हारबाट
सुमेरु चुडिँदा
दानाहरूले गुमाएछन्
पाँचै इन्द्रीयका भाषाहरू
मान्छे हिँड्ने बाटो
पहिल्यै आफै हिँडिदियो भने
तरिनै लागको पुल आफै
तरल भइदियो भने
लिने बेलाको श्वास
पानी भइदियो भने
अनि तिमीले खाने खाना
हावा भइदियो भने
धरधरी मन च्यातिएर
धुजा-धुजा भएको बेला
तिमीले दिने सापटी
हुने कुरा भएर छाड्छ
नहुने कुरा हुँदैन
तिम्रो पनि मन फाटेको बेला
काम लाग्दैन
तिमी आफैलाई
स्थुल, सूक्ष्म, कारण र आत्मा
जे-जे हुन्
थिए
अथवा होला त्यो
आत्मा नै अझै
तपाईंका भाष्य सापट लिँदै
आकाशतिरै पोखिरहेछु
परिवार मालाका
दाना हराएका धागोका
त्यान्द्रा स्वरहरू
हे पवन-रवि
श्वास र प्रकाश
दुवै तिमीहरूका
अस्तित्वमा
सुखाय दुखाय च देह योग
भव्यक्त दिष्टम जनतंग धत्ते
अक्षरहरू बोध गराई
मुर्झिएका इन्द्रीयहरू मेरा
स्वचालित गराइदिन सक्छौ?