पुग्नू तिमी
जहाँ
भोको पेटमा पसिना पिएर
ठेला उठेका हात र फुटेका कुर्कुचा बजारेर
कारखानाबाट फर्केपछि
चिसो पानी पिएर मेटाउँछ
थकाइ र चिन्ता
र कोर्छ
आफ्नो बच्चाको उज्ज्वल भविष्य
श्रमिकले आफ्नो झुपडीमा बसेर
पुग्नू तिमी
कतै डाक्टर नभएर
कतै बेड नभएर
कतै औषधि नभएर
महिनौं दिनसम्म छट्पटिरहेका
बिरामीहरूको चित्कार सुन्न
अस्पताल अस्पतालहरूमा
पुग्नु तिमी
जहाँ
हेर्नू किसानलाई
झरी नभनि
घाम नभनि
जोतिरहेको छ माटो
आत्मविश्वासको साथ
रोपिरहेको छ आशाको बाली
जसको आँखामा बनिरहेको छ आकृति
बालबच्चाको भोको पेटको
पुग्नू तिमी
जहाँ
नदेखिए झैँ गरिएको छ
नसुनिए झैँ गरिएको छ
घामले डढेका छन् शरीरहरू
पसिनाले भिजेका छन् माटोहरू
भासिएका छन् स्वरहरू
चाहन्छन भत्काउन असमातनाको पर्खाल
चाहन्छन् पुर्न असमान्ताको खाडल
जसले
वर्षौंदेखि मागिरहेका छन्
सडकबाट
न्याय र समानता
तिमी त
दलाल, ठेकेदार र विचौलियाको
घेराभित्र
सिंहदरबारको सानो महलमा
रमाइरहेका छौ
अक्युरियमको माछाजस्तै।