टिनको बाकसको पुर्जा धरौटी राखेर
परदेशमा सुख खोज्न हिँडेको थियो भरोसा
उसले सुनेको थियो सुख किन्न दुःख बेच्नुपर्छ रे
त्यहीँ दुःख बेच्न ऊ गएको थियो विदेश।
हातमा हरियो पासपोर्ट, आँखामा सुनौला सपना
काँधमा जिम्मेवारी, मन भित्रका अनेकौं भारी
भरिएको गह्रुंगो झोला भिरेर सपना खोज्न
हिँडेको थियो, खाडी चडेको थियो चिलगाडी।
देश छोडेर परदेश हिँड्दा
वृद्ध आमा-बाका आँसु पुछ्दै
दुःखका दिन गए बा, अब म गर्छु नि भन्दै
हवाईअड्डाको त्यो अन्तिम भेटमा
भरोसाले आँसु पुछेर हाँसेको थियो।
आमा बालाई हाँसेर बस्नू भनेको थियो
बहिनीलाई राम्रोसँग पढ्नू भनेको थियो
साहुलाई समयमै ब्याज दिन्छु भनेको थियो
साथीलाई चाँडै फर्किन्छु भनेको थियो
जहानलाई मन ठूलो बनाउनू भनेको थियो।
उसले बुझेको थियो परदेशमा
सुख किन्न पसिना बगाउनु पर्छ भनेर
रातदिन नभनी चौबिस घण्टा खटेको थियो
अरबको तातो घाम अघाउन्जेल खाएको थियो
पसिनाको सागरमा दिनहुँ पौडी खेल्थ्यो
सपना वारपार गरेको देख्थ्यो।
भरोसाका पीर भरिएका आँखाले
परिवारको सुखद् भविष्य दिनहुँ देखेको थियो
भलै रगतपसिनाले ओछ्यान रङ्गिएको थियो
तर ऊ जित्न चाहन्थ्यो अभावलाई
पराजित गर्न चाहन्थ्यो दबाबलाई।
हरेक रात लामा-लामा सुस्केरा सुनिन्थ्यो
सुखको बिन्दु नजिकै देख्थ्यो
बेलाबेला भिडिओ कल घरमा गर्थ्यो
सबैको हाल बुझ्थ्यो, अब ठिक हुन्छ भन्थ्यो
सम्झीसम्झी अहोरात्र खटिन्थ्यो।
एक रात भरोसा कहिल्यै नउठ्ने गरी सुत्यो
बिहान साथीभाइले बेस्सरी झकझकाए
ऊ उठेन, जागेन, हाँसेन , टोलाइरह्यो
सबै भुल्यो, अनन्त यात्रामा हिँड्यो
न रोक्ने थिए, न छेक्ने थिए, न सम्झाउने
ऊ अस्ताएको थियो।
घर पुग्यो खबर, आयो बाकस
परिवारलाई पर्यो ठूलो सकस
भरोसा सुतेको थियो, टुटेको थियो
चाउरी परेका हात बाकस कुर्दै थिए
सानी छोरी हजुरबुबा हामी किन यहाँ सोध्दै थिई
बहिनी रुदैँ थिई, जाहान मुर्छा परेकी थिई।
यता सरकार बाकस गन्दै थियो
मलेसिया, कतार, दुबई छुट्टयाउँदै थियो
नाम ठेगाना टिपोट गर्दै थियो
आफन्तलाई सनाखत गराउँदै थियो
खुसुस्क, रेमिट्यान्स बन्द भयो भन्दै थियो।