म सानो छँदा
मेरा बा बजार जाँदा होस्
या आमा बेसी झर्दा
मैले आश गरिरहेको हुन्थेँ
शितलगेडी, चकलेट, पापड, जुलेबी र यस्तै अरू
जसरी आश गर्छन् बचेराहरू
आहारा खोज्न चरो उडेपछि आफ्नो गुँड छोडेर
जसरी आश गर्छन् घारका मौरीहरू
रस बटुल्न मौरी उडेपछि आफ्नो घार छोडेर।
हुन त आशा साह्रै मिठो हुन्छ
बाले ल्याइदिने त्यो मिठाईजस्तै
जब साँझ पर्दथ्यो
बाको आउने बाटोतिर
आँखा डुलाउँदै
मिठो दाम्ले मिठाईको काल्पनिक स्वादमा
बडो आनन्दले मुस्कुराइरहेको हुन्थेँ म।
आमाले कसैको मेलामा जाँदा पनि
मिठो परिकार भेट्नु भयो भने
आफूले आधा पेट नै खाएर किन नहोस्
मेरा लागि धरोको टुप्पोमा पोको पार्नु हुन्थ्यो
जसरी छुट्याउँछ मौरीले भाग घारमा पुर्याउन भनेर
जसरी लगाउँछ चरोले भाग गुँडमा पुर्याउन भनेर
त्यसैले त म
आमा कसैको मेलामा गएको दिन
आमा फर्किने बाटो हेरिरहेको हुन्थेँ
प्यासे धारो हेरे झैं।
आजकल
आशा बदलिएको छ
म सहरमा छु
बा-आमा गाउँमा
म घर फर्किने दिन
बा-आमाको अनुहार बेग्लै हुन्छ
म सानो छँदा शितलगेडी, पापड र जुलेबी पर्खिए झैँ
अहिले मेरा बा-आमाले
प्रेसर र ग्यास्ट्रिकको दबाइ कुर्नुहुन्छ
आमाले लुङ्गी र बाले टोपी कुर्नुहुन्छ
बच्चाले जस्तै बा-आमाले
आश मानिरहनु हुन्छ, गरिरहनुहुन्छ
भलै मैले आशा भर्न सकुँ या नसकुँ।
साँच्चै मान्छे बुढो भएपछि
एकचोटि फेरि बच्चा पनि हुँदो रहेछ
आखिर जिन्दगी त आशा आशामै बितेर जाने रैछ
अब त
मैले पनि बुझ्न थालेको छु- आशको जिन्दगी
स्वादले भरिपूर्ण हुँदो रहेछ।