एक आकाश मरुभूमि पिएर
अँध्यारो खाटमा पोखिएको छ एक थान मान्छे
फनफनी घुम्दै
गाउँको माटोमा पुगेर लटपटिइरहेको छ उसको मन
फगत गरिब हुनुको पाप सम्झेर
राता पसिना बगाउँदै
रातभरि रन्थनिँदै रत्तिइरहन्छन् उसका दुब्ला खुट्टाहरू
बिरानी मुलुक मान्छे चिन्दैन
बिरानै सिरानी निद्रा बिक्दैन
सम्झनाहरू मृगतृष्णाजस्तै टाढा-टाढा भाग्दै गएजस्तो
दुखी बिपनाहरू गाढागाढा हुँदै नजिक-नजिक भएजस्तो
एक्लो घर
एक्लै कोठा
एक्लो रात
एक्लै आँखा
उता भूगोल पारिको जन्मदेशमा
दसैं आउँछ
भूगोल पारिको देशमा तिहार आउँछ
झिलीमिली बत्तीहरू बल्छन्
सर्लक्क निचोरेर छातीले
एक डल्लो पार्छ यादका यादहरू
र
जुरुक्कै उठाएर मन
छिनछिनमा पुर्याउँछ जन्मघरको मझेरी
आँखा चिम्ले घर
आँखा खोले गाउँ
कटेरी
मझेरी
साथी
संगाती
जीवनसाथी...
नारनको पूजा
भजन
खेली
जन्त मलामी
उफ्!
दुई घन्टा सुत्ने फुर्सद पाएको ऊ
दुई दशकका सम्झना केलाएर
काँचै भएर फर्किन्छ काममा
फेरि कामको भारीले भतक्क पाकेर
फर्किन्छ दुई घण्टे कोठामा
अनि अँध्यारै खाएर भोको पेटमा
अँध्यारै पोतेर छातीमा
पुन: फर्किन्छ साहूको घर
कहिले भेडास्तै कुदेर
भेडाहरूको पछाडि
कहिले ऊँटजस्तै सुकेर
ऊँटहरूको पछाडि
उसलाई किन्नुछ बाले लगाउने अटोमेटिक घडी
किन्नुछ मुनाले लगाउने पहेंलो तिलहरी
आमाका हात त झन् उहिल्यैदेखि खाली छन्
भर्खर बाबा भनेर बोलाउने भएको छोराको आङ खाली छ
उसले बा भन्दो हो कि नाइँ कुन्नि
कति फाट्यो होला छानोको छाती
आमाको छातीभन्दा बेसी वा कम
मन काटेर चिरा-चिरा टुक्रिन्छन् छातीका सपनाहरू
बालुवामा पोलिएका उसका दुःखका
पाइतालाहरू
दुख्दा पनि नदुखी बस्छन्
नदुख्दा पनि दुखिरहन्छन्
यसपालि चुनाव पनि आको छ रे देशमा भनेर
सन्देश लेखेको छ उसले
'मेरा भोट हाल्ने औँलाहरू
बालुवामै गाडिएर मरिसके
भन्दिनू है संगीहरू!