प्रभाकर आज ७५ वर्ष पूरा भएर ७६ वर्ष लागेको छ। ऊ एउटा सामान्य स्तरको वृद्धाश्रमको सामान्य कोठा (४-५ वटा बेड रहेको) को एउटा खाटमा पल्टेर आफ्नो विगत सम्झन्छ।
उ पूर्वी पहाडको एउटा उच्च मध्यम वर्गीय परिवारको जेठो छोराको रुपमा जन्मेको थियो। उसलाई बाल्यकाल र युवावस्थामा समेत दुःख भनेको हो र कस्तो हुन्छ भन्ने थाहा थिएन। घरमै पण्डित राखेर उसलाई प्रारम्भिक शिक्षा दिइयो।
रुद्री, चण्डि, वेदलगायत घरमै बसेर पढी सकेपछि १८ वर्षको उमेरमा उच्च घरानाकी केटी खोजी बिहे भयो। त्यति बेलाको चलनअनुसार बिहे भएपछि केटीको उमेर हेरी ३-४ वर्षसम्म माइतमै बस्ने गरिन्थ्यो। प्रभाकरकी श्रीमती पनि बिहेपछि माइत गइन्। ऊ चाहिँ पढ्न काशी गयो।
४-५ वर्ष काशी बसेर ऊ पण्डित भई गाउँ फर्कियो। ऊ फर्कदा श्रीमती घर आइसकेकी थिइन्। रहँदा बस्दा दुई वटा छोरा जन्मेपछि श्रीमती बिरामी परिन्। त्यसबेला कतै लगेर औषधि उपचार गर्ने चलन थिएन। गाउँमै धामीझाक्री र जडिबुटीले उपचार त गरियो तर उनी बाँचिनन्। २ वटा लालाबालालाई टुहुरा बनाएर श्रीमती अस्ताइन्। त्यसपछि भने प्रभाकरका दुःखका दिन पनि सुरु भए।
गाउँघरको त्यति बेलाको चलनअनुसार बिहे गरेर एउटा बच्चा भएपछि नै ४ भाइ छोरामध्ये ऊ जेठो छोरालाई उसका बाबुले अंश दिई छुट्याइदिसकेका थिए। यद्यपि हुनेखाने बाबुको जेठो छोरो प्रभाकरले छुट्टिए पनि सम्पत्ति प्रशस्तै पाएको थियो र काशीमा पढेर पण्डित भएर आएको र गाउँघरमा जजमानी पनि गर्ने हुँदा जजमानीबाट पनि प्रशस्तै आम्दानी हुने भएकाले उसलाई कुनै कुराको अभाव थिएन।
सम्पूर्ण घरव्यवहार र छोराहरू हुर्काउने काम घरमा राखेका नोकरचाकरका साथ श्रीमतीले नै धान्थिन्। श्रीमतीको मृत्युपछि ७ र ४ वर्षका दुई छोराको हेरचाह र लालनपालन उसको जिम्मामा आयो। यद्यपि घरमा नोकरचाकरको त कमी थिएन। तैपनि साना छोराहरूलाई अरुको भरमा मात्र छोड्न उसको मनले नमानेको हुँदा उसको अधिकतम समय छोराहरूको हेरचाहमै बित्न थाल्यो।
श्रीमती बितेको ३-४ महिनादेखि नै उसलाई बिहे गर्ने दबाब आउन थाल्यो। बाबु, आमा, भाइहरूलागायत गाउँलेहरूले केटाकेटीको हेरचाहकै लागि भए पनि छिट्टै बिहे गर्न दबाब दिन्थे। तर ऊ सुन्थ्यो र केही जवाफ दिँदैन थियो। विभिन्न ठाँउबाट बिहेको प्रस्तावहरू पनि बराबर आइरहन्थ्यो।
श्रीमती बितेको वर्षदिन नाघेपछि त झन् चारै तिरबाट उसलाई बिहेका लागि दबाब आउन थाल्यो। तर ऊ भने अर्को बिहे नगरी यिनै दुई छोरालाई लालनपालन गरी उनीहरूलाई योग्य र सक्षम बनाउने विचारमा दृढ थियो। भन्नलाई अनेक बहाना बनाई आएको दबाब र प्रस्तावहरूलाई टारिदिन्थ्यो।
समय बित्दै गयो, बिहेको लागि जति नै जोडबल गरे पनि उसले बेवास्ता गरेपछि अब त यस्ता सल्लाह र प्रस्ताव आउन पनि छोडे। छोराहरूलाई घरमै शिक्षक राखेर प्रारम्भिक शिक्षा दिएपछि घरबाट अलिक टाढा खुलेको विद्यालयमा छोराहरूको भर्ना गरिदियो।
विद्यालय अलिक टाढा रहेको हुँदा जेठा छोरा अलिक ठूलो नभएसम्म आफै विद्यालय पुर्याउने र लिन जाने गर्यो। त्यहाँ ७ कक्षासम्म मात्र पढाइ हुने हुँदा जेठा छोराले ७ पास गरेपछि सीमापारि भारतस्थित स्तरीय विद्यालयमा आवासीय विद्यार्थीको रुपमा भर्ना गरिदियो र सानो छोराले पनि त्यहाँ पढाइ सकेपछि त्यहीं लगेर भर्ना गरिदियो।
त्यहाँ विद्यालय तहको पढाइ सकेपछि पहिले जेठालाई र पछि कान्छालाई पनि काठमाडौंमा पढ्न पठायो। राम्रो घरमा फ्ल्याट लिएर बस्ने व्यवस्था मिलाई खाना बनाउने, लुगा धुने आदि कामको लागि गाउँबाटै भान्सेसम्म ल्याई छोराहरूको सहयोगीको रुपमा राखिदियो।
दुवै छोराहरूले राम्रैसँग पढे र पढाइ सकेपछि जेठाले सरकारी जागिर खान थाल्यो। जागिर खान थालेपछि त्यतै सँगै पढेकी केटी बिहे गर्ने प्रस्ताव ल्यायो। छोराहरूको खुसी नै आफ्नो खुसी मान्ने उसले आफैले खर्च गरेर काठमाडौँमै जेठा छोराको धुमधामसँग बिहे गरिदियो।
कान्छो पढिसकेर विदेश जाने भयो। लाग्ने खर्च सबै आफैले व्यहोरेर कान्छालाई विदेश पठायो। कान्छाले उतै घरजम गर्यो।
जेठी बुहारीलाई घरधन्दामा दुःख हुन्छ भनेर गाउँबाट सहयोगी खोजेर पठाइदियो। आफूले अब छोराहरूप्रति गर्ने सबै कर्तव्य पूरा गरेको ठानेर आनन्दले ऊ घर गाउँमै बसिरहेको भए पनि जेठो छोराले 'सरकारी जागिरले परिवार पाल्न मुस्किल भयो' भनी समय समयमा खर्च माग गर्थ्यो।
ऊ भएका जग्गा जमिन बेचेर भए पनि छोराले मागेअनुसार पैसा पठाउन पछि पर्दैन थियो। 'आखिर यो सम्पत्ति उनीहरूकै हो, फेरि हालसम्म छोरालाई कुनै आर्थिक अभाव हुन दिएको छैन भने समस्यामा परेको बेला अब किन सहयोग नगर्ने?' भन्ने उसको धारणा थियो।
यस्तैमा समय बित्दै गयो, जेठा छोराले 'यहाँ ससुरालीले घडेरी दिने भनेका छन्, कति डेरामा बस्नु अब घर बनाउनु पर्यो। त्यहाँको जग्गाको अब के काम खेती गर्न पनि सकिँदैन, बेचेर पैसा ल्याएर यहाँ घर बनाउँ' भन्ने प्रस्ताव पठायो।
ठिकै त हो, यो सम्पत्ति रहे उनीहरूकै हो। यसलाई बेचेर उता घरबार जोड्ने प्रस्ताव ठिकै लाग्यो र धान फल्ने खेत जति सबै बेचेर छोरालाई घर बनाउन पैसा पठायो। उता घर बन्न सुरु भयो।
पहाडको जग्गा बेचेर पठाएको पैसाले घर बनेर पूरा गर्न पुगेन। अनि छोरो आफै 'अब पहाडको घरबारीलगायत सबै सम्पत्ति बेचेर पैसा लगी घर पूरा गरौं र बुबा पनि अब वृद्ध हुनुभयो, एक्लै यहाँ किन बस्नु उतै जाऔं' भन्ने प्रस्ताव लिएर आयो।
छोराको माग कहिल्यै नटार्ने प्रभाकरले सोच्यो 'ठिकै त हो, अब आफू वृद्ध पनि भइयो उतै गएर छोरा, बुहारी, नाति, नातिनासँगै बसेर रमाउन पाउनु राम्रै हो' भन्ने सोची बाँकी रहेको पाखाबारी र घर समेत बेची आएको रकम छोरालाई जिम्मा दिई आफ्ना लुगाफाटाको पोको बोकी ऊ छोराको पछि लाग्यो।
घर बन्यो। एक/दुई वर्षसम्म त ठिकै रह्यो। तर प्रभाकर अब पूर्ण रुपमा छोरा बुहारीमा आश्रित थियो। वृद्धावस्था, औषधि उपचार गरिरहनु पर्थ्यो। औषधि खाइरहनु पर्थ्यो। अब ऊसँग औषधि किन्ने पैसा त हुने कुरै भएन। छोरासँग माग्दा पनि छोराले झर्कोफर्को गरेको उसले महसुस गर्न थाल्यो। त्यस्तै खाना खाने बेलामा बुहारीको व्यवहार पनि बदलिको उसले महसुस गर्न थाल्यो।
ऊ दिनभर कोठामा एक्लै बस्थ्यो। छोरो काममा जान्थ्यो। उसलाई कसैले वास्ता गर्दैनथ्यो। बुहारी, नातिनातिना भान्सामा हल्लाखल्ला गरेको चाइँ-चाइँ चूइँ-चूइँ के-के पकाएको, खाएको सबै ऊ थाहा पाउँथ्यो तर उसलाई दिउँसो खाजा त के चिया समेत कसैले दिँदैनथ्यो। उसले पहाडबाट आफू आउँदा ल्याएका दुई/चार वटा धार्मिक पुस्तकहरू थिए, तिनै पढ्थ्यो। दिन कटाउने अन्य साधन ऊसँग केही थिएन।
यस्तैमा एकदिन छोरा र बुहारीबीच कुरा भएको उसले सुन्यो। 'अब छोराछोरी ठूला भए उनीहरूलाई पनि छुट्टाछुट्टै कोठा दिनुपर्ने, बुवाको हेरचाह गर्न पनि गाह्रो भयो। कतै वृद्धाश्रम खोजेर उहाँलाई त्यहाँ राखिदिन पाए पनि हुन्थ्यो,' बुहारीले भनि।
छोराले पनि 'कुरा त ठिकै हो तर अब कसरी बुवालाई वृद्धाश्रम जाऊ भनेर भन्नु' भन्यो।
'तपाईं भन्न सक्नु हुन्न भने म भन्छु। पहिला वृद्धाश्रम खोजौं,' बुहारीले भनि।
छोराले 'म खोज्छु' भन्यो।
यो कुरा सुनेपछि ऊ छाँगाबाट खसेजस्तो भयो र सोच्यो, 'उनीहरूले प्रस्ताव ल्याउनु न्दा अगाडि नै म आफै वृद्धाश्रममा जाने प्रस्ताव राख्छु। त्यसपछि त छोरालाई पनि हल्का हुन्छ।'
भोलिपल्ट बिहान छोरा सँगसँगै खाना खाने टेबलमा बस्ने मौका मिल्यो। बुहारी पनि त्यहीं थिई। उसले मौका यही हो भनेर 'अब त नातिनातिना पनि ठूला भैसके, उनीहरूलाई छुट्टाछुट्टै कोठा दिनुपर्छ। घरको काम र मेरो हेरचाह गर्न बुहारीलाई पनि धेरै धपेडी भैरहेको छ। त्यसैले एउटा वृद्धाश्रम खोजेर मलाई राखिदेओ, म वृद्धाश्रम जान्छु।'
यो प्रस्ताव सुनेपछि छोराले 'खै कोनि त बुवा! वृद्धाश्रम जाने र?' भन्यो।
बुहारीले 'बुवाले ठिकै त भन्नुभएको छ नि, त्यहाँ भए आफ्ना दौँतरीहरू हुन्छन्, गफगाफ गर्न पाइन्छ। यहाँ सधैँ एउटा कोठामा एक्लै बसिरहनु परेको छ। गफ गर्ने कोही हुँदैन। कसैलाई यहाँ गफ गर्ने फुर्सद नै छैन। बेलाबेलामा चाडपर्वमा हामी भेट्न जाउँला। बुवाको प्रस्ताव ठिकै हो' भनी।
भोलिपल्ट बेलुका अफिसबाट आएपछि छोरो बुवाको कोठाभित्र पस्यो र 'बुवालाई यहाँ बस्न असहज भए जस्तो छ, के वृद्धाश्रम नै जाने त? तपाईंले हिजो त्यो कुरा गरेपछि बुहारी पनि यहाँभन्दा तपाईंलाई उतै सहज हुन्छ भन्दै छ' भन्यो।
उसले व्यङ्ग मिश्रित भनाइ भन्यो, 'हुन्छ बाबु, यहाँ तिमीहरूलाई पनि असहज मलाई पनि असहज, वृद्धाश्रम गएँ भने त दुवैतर्फ सहजै सहज हुन्छ। बरु छिट्टै वृद्धाश्रम खोजेर मलाई पुर्याइ दे।'
छोरो प्रसन्न हुँदै 'हुन्छ बुवा! म खोज्छु' भनेर कोठाबाट निस्कियो।
तीन/चार दिनपछि आफ्नो भएको केही लुगाफाटो र त्यही दुई/चार वटा धार्मिक पुस्तकहरूको एउटा पोको बोकी ऊ छोराको पछि लागेर यस आश्रममा आई बस्ने गरेको पनि आज तीन वर्षभन्दा बढी भैसकेछ। यस बीचमा मुस्किलले २-३ पटक छोरो भेट्न आयो होला। बुहारी र नातिनातिनाको त घरबाट निस्केपछि अनुहार देखेको छैन।
सामूहिक कोठामा बस्ने, सामूहिक खाना खाने गर्दा दाताहरूले दिएको अनुदानको भरमा वृद्धाश्रमले नै निःशुल्क व्यवस्था गर्दो रहेछ। औषधि खानको लागि पनि एउटा परोपकारी संस्थाले सामान्य औषधिको खर्च व्यहोर्ने व्यवस्था रहेछ। समय-समयमा वृद्धाश्रममै डाक्टर आएर स्वास्थ्य जाँच गर्ने र ठूलै रोग लागी उपचार खर्च धेरै लाग्ने भएमा भने आफैले व्यवस्था गर्नुपर्ने रहेछ।
सौभाग्य! उसलाई त्यसरी आफैले पैसा खर्च व्यहोर्नु पर्ने अवस्था हालसम्म आएको छैन र छोराले कुनै खर्च गर्नुपर्ने अवस्था पनि आएको छैन, इश्वरको कृपाले। बरु उल्टै बुवालाई वृद्धाश्रममा खर्च दिनुपर्छ भनेर छोराले विदेशमा रहेको आफ्नो भाइलाई खर्च पठाउन भन्दो रहेछ र समय-समयमा कान्छाले खर्च पठाउने पनि गरेको रहेछ।
तर तीन वर्षमा बढीमा तीन पटक भेट्न आउँदा १-१ किलो फलफूल बाहेक छोराको तर्फबाट उसलाई आजसम्म कुनै खर्च प्राप्त भएको छैन। छोराले आफ्नो लागि भनेर आश्रममा कुनै रकम दिएको पनि छैन।
यत्तिकैमा आश्रमको पाले आएर 'बुवाको टेलिफोन आएको छ' भनेपछि प्रभाकरको सोचाइको श्रृङ्खला पनि भङ्ग भयो। आज उसको जन्मदिन, कान्छो छोराले विदेशबाट शुभकामना दिन टेलिफोन गरेको रहेछ। सोच्यो, 'धन्य कान्छो छोरो।'