एउटा फोटो फ्रेमको चौकोसभित्र
अडिएको उनको समयले
मलाई बारम्बार सम्झाइरहन्छ
बेजोडसँग दौडिरहेको मेरो महँगो समयलाई
उनका अटल आँखाहरुले घरीघरी अड्काइदिन्छन्
अनि म एकाएक स्मृतिको तलाउमा डुबुल्की मार्न पुग्छु
वर्षौं अघि उनका जीर्ण हातले
माया र वात्सल्यका थुंगा मिसाएर बुनेको
रंगिबिरंगी कागजका मालाको अर्धवृत्त भित्र
पोखिएको उनको मन्द मुस्कान
अब मेरो खुसी र दुःख बिसाउने चौतारी भएको छ
हाम्रो अन्तिम भेट फोनको स्क्रीनमा भएको थियो
उनी तातो आगोको रापमा विलीन हुनुभन्दा एक क्षण पहिले
शोक र वियोगको त्यो अन्धकार रातमा
मोबाइलको स्क्रीनमा खस्न लागेका मेरा आँसुका थोपा गहमै चिसिए
जब मैले उनलाई मुस्काइरहेको देखेँ
मलाई लाग्यो उनी भन्दै थिइन्
'अब म तिमीभित्र आउने छु अनि
खन्न सिकाउने छु तिमीलाई
सिर्जनाको नयाँ गोरेटो
अनि तिमीले मलाई जताततै पाउनेछौ
मैले तिम्रो साथ छोडेकी छैन।'
उनी आगोको ज्वालामा हराउँदै गइन्
कोसौँ टाढा म
आँखाभरि उनलाई खोजिरहें
मनभरि उनलाई खोजिरहें
मालाभरि उनलाई खोजिरहें
अब उनको पीडामा मैले तड्पिनु पर्ने छैन
उनको नाममा कहिलै आँसु बगाउनु पर्ने छैन
किनकी त्यो उनको उपहार-
अमर फूलको माला
अनि त्यसभित्र मुस्कुराइरहेको उनको तस्बिरले
भनिरहेको छ
उनले एउटा नयाँ जीवन पाएकी छन्
अब उनी मभित्रै बस्न आएकी छन्।