प्यारो छोरो
कमाउन गयो
खाडीमै हरायो
आउँला कि भनि
दिन गनि गनि
पाँच वर्षसम्म लगातार
ढोकामा कुरेर बसेकी
एउटी बूढी आमा
रोजगारी सिर्जना गर्छु भनेर
भोट मागेर जितेर
संसद भवन हिँडेको
एउटा सांसद
पाँच वर्षपछि
टुप्लुक्क ढोकामा उभिएर
बूढी आमासँग मागिरहेछ
फेरि एउटा भोट
छोरो पो आइपुग्यो कि
भन्ने मनभित्र
एउटा उर्लिएको हर्ष
एकैचोटि एउटा नमिठो
निराशामा परिणत भयो
कस्तो विडम्बना!
आखिर न आयो हराएको छोरो
न आयो कुनै रोजगारी
आयो त उही उम्मेदवार
फेरि भोट माग्न
'बूढी आमै' भन्दै
भो अब बूढी आमालाई
आफ्नै छोरोले माया गरी
'आमा' भनेको सुन्न मन छ
कोही कसैले
'बूढी आमै' भनेको होइन।