समयले कोल्टे फेरेसँगै
खुसी सकियो कि झैँ लागेको थियो
तर बुझाइ फरक
अनि बुझ्न धेरै बाँकी रहेछ!
लागेको थियो
उमेरले नेटो काट्यो
तर
आँखाले सुन्दरताको खोजी गर्न
मुखले बयान गर्न
हृदयले सुटुक्कै प्रेम गर्न
कहाँ छोडदो रहेछ र?
लाग्दैछ
लक्ष्यमा पुग्न अझै धेरै बाँकी छ
सम्भावना सँगै सहासको जरुरी छ
जिन्दगीको सौदाबाजी
अब बाँकी जिन्दगीमा नहोला
त्यसैको लागि
तिम्रो प्रेमको जगजगीलाई
बचाउनु पर्ने भएको छ!
अहँ!
भेट्नुअघि
सीमित थिए ती चाहनाहरू
अनि
लाग्थ्यो सपनाको आयु पनि
उस्तै छोटो छ
टेकेको धरातल पनि न्याश्रो लाग्थ्यो
यतिका बाबजुत पनि
समयसँगै जिन्दगीले
सम्भावना बोकेको हुँदोरहेछ!
लाग्थ्यो
हरेक वसन्तमा निर्मोही आँखा लाग्यो
पाइला पाइलामा मुस्किल खडा भयो
जे आयो चुपचाप स्वीकार गरेँ
सुटुक्क सम्हाले झैँ भान हुन्थ्यो
त्यो नै मेरो परीक्षाको
पूर्ण नतिजा रहेछ!
निःशब्द
हुन्थेँ तिनै भोगाइहरूमा
हर्षित हुन्थेँ उनै चर्चाहरूमा
अपेक्षा केही थिएन
र पनि
फेरि एक पटक
जिन्दगीको सुरुआतदेखि नै समीक्षा गरेँ
र मौका पाएँ
महसुस भयो
जिन्दगी त खुसी नै खुसीको संसार पो रहेछ!