कहाँ जाऊँ म यो सहर छोडेर। यो सहरको हरेक चोकमा तिमीसँग जोडिएका असीमित कहानी छन्, जुन मेरो आँखाबाट आँसु बनेर बगिरहन्छ। खै! कहाँ लेख्न सकिन्छ यी मुटुमा बसेका जिन्दगीका हिसाब-किताब।
अब तिमीसँग बिताएका यादहरूसँगै जीवन बिताउनुपर्ने बाध्यता आइसकेको छ। म त गरिब की छोरी, अभावै अभावमा हाँसी हाँसी जिउन सिकेको छु। सायद यही कुरा थाहा पाएर छोडेका हौला तिमीले पनि, तर त्यो त थाहा छैन।
जिन्दगी त एउटा बगेको खोला हो। कहिले आँधी आउँछ कहिले सललऽऽऽ गर्दै संग्लो पानी बगिरहन्छ। तर पनि खोला निरन्तर बगिरहन्छ। त्यस्तै हो मेरो जीवन पनि। म त भगवानले मेरो क्षमताको परीक्षा लिनुभएको ठान्दछु। कहिले कहिले लाग्छ गाउँबाट सहर पसेकी मैले तिमीलाई रोजेर आफ्नो औकातभन्दा बाहिर गएँ कि! यो घर अनि यसको छ त मलाई तिमीजस्तै प्यारो लाग्छ। मलाई यिनै चन्चले छतमा चलेका बतासका सुस्केराले जिस्क्याउँदै तिमीसँग भेट गराएको थियो।
स्कुल सकिएपछि बाबा आफैंले मलाई काठमाडौं लिएर आउनु भएको थियो। उहाँले साथीको घरमा बस्ने जमर्को मिलाउनुभएको थियो। पढाइको कामना गर्दै गाउँ फर्किनुभयो। गाउँको मान्छेलाई पहिले-पहिले के थाहा हुन्छ सहरबारे। पहिले घरभित्रै ट्वाइलेट जान मन लाग्दैन थियो। कस्तो घरभित्रै चर्पी बनाएको होलाजस्तो लाग्थ्यो।
गाउँमा त घर पछाडि बेग्लै बनाइएको हुन्थ्यो चर्पी, त्यही बानी थियो मलाई पनि, घरभित्र भगवान बस्ने ठाउँमा किन बनाउँछन् होला फोहोर फाल्ने ठाउँ जस्तो लाग्थ्यो।
फेरि यसो विचार गरेँ, हुन पनि कहाँ बनाऊन्। घरबाहेक अरू जग्गा खाली कहाँ नै छ र? यो भीडभाड सहरमा। तर बिस्तारै बानी पर्दै गयो। सुरू सुरूमा कलेजका ती दिनहरू पनि सम्झिन लायकै थिए।
साथी कस्तो र कताको बन्ने हो जस्ता हजारौं प्रश्न मनमा छट्पटाउँदा रहेछन्। म पढाइमा अब्बल केटी नै थिएँ। त्यसैले अगाडि गएरै बसेँ। त्यही दिन अस्मिती मसँगै बस्न आएकी थिई। आखिरीमा ऊ मेरी मिल्ने साथी बनी। यसरी बिस्तारै म यो सहरभित्रै रमाउन सिक्दै थिएँ। घरको याद आउँदा झ्यालबाट बाहिर हिँडेका मानिसलाई हेरिबस्थेँ।
संसारमा आफ्नो घर र बा-आमाभन्दा प्यारो चिज केही हुँदैन रहेछ। तर पनि परिस्थितिसँग जुध्न त परिहाल्यो। आफ्नो मेहनत र लगनशिलताले केही गरेर देखाउनु थियो। एउटा पहिचान बनाउनु थियो। यही सपना छोरीले पूरा गरोस् भनी बाबाले काठमाडौं जस्तो ठूलो सहर पढ्न पठाउनु भएको थियो।
बाबाका पनि यस्तै ठूला-ठूला सपना थिए अरे! तर गरिबीको सगरमाथाबाट तल झर्न नसकेको कारण आफूले देखेको सपना मबाट पूरा गर्न चाहनुहुन्थ्यो। बाबा खुसी भएको हेर्ने मेरो पनि ठूलो सपना छ। खैर त्यो त भविष्यले बताउँला। तर जिन्दगी यहाँसम्म आइपुगिसकेको छ।
म बसेको ठ्याक्कै घर अगाडि बस्थ्यो प्रमोद। झमझम पानी परेको थियो। कलेजबाट फर्किएपछि घरको याद आएको थियो। झ्यालबाट बाहिर हात निकालेर पानीका थोपासँग भलाकुसारी गर्दै थिएँ।
‘मलाई पनि पानी उस्तै मनपर्छ’, पल्लो घरको झ्यालबाट निस्किएको आवाजले मेरो मौनता भंग गराइदियो।
पुलुक्क झ्यालतिर हेरेँ। केटा मान्छेसँग बोल्न पनि लजाउने मान्छे थिएँ। त्यसमाथि अनजान केटा मुस्कुराएझैं हातभित्र तानी झ्याल बन्द गरेर पर्दा लगाएँ। एकै छिनमा पर्दा हल्का उघारेर हेरेँ। ऊ हेरिरहेको थियो। उसले हात हल्लायो। लाग्यो उसलाई थाहा थियो। मानौं कि मैले हेर्छु भनी ऊ कुरेर बसिरहेको थियो।
उसले हल्लाएको हातको वास्तै नगरी झ्याल बन्द गरेँ। माथि किचेनतिर गएँ।
बेलाबखत भान्छामा काकीलाई सघाउथें। उहाँको सबै सन्तान क्यानडामा बस्थे। त्यसैले पनि होला, मलाई आफ्नै छोरीझैं माया गर्नुहुन्थ्यो। काकी यति धेरै मेहनत गर्नुहुन्थ्यो। घरको छतलाई करेसाबारी बनाउनु भएको थियो। सिमी, खुर्सानी, काँक्रोलगायत धेरै फलाउनु भएको थियो। ‘खुर्सानी टिपेर ल्याऊँ छोरी’, भन्दै पठाउनुभयो।
म बटुका बोकी छततिर लागेँ। तिहारको झिलिमिली अझै सकिएको थिएन। साँझ परेपछि त्यसै झिलिमिली देखिने काठमाडौं दिपावलीका रंगीविरंगी बत्तीले सिंगारिएर बेहुलीझैं बनेको थियो। त्यो झिलिमिली हेरी म अघाउन्नथेँ। घरसँगै जोडिएको पल्लो घरको छतमा मलाई अघि जिस्क्याउने मान्छे चंगा उडाइरहेको थियो। मलाई देख्नेबित्तिकै चंगा भुइँमा तान्यो र हाम्रो घरतिर आयो।
‘कति धेरै फलेको खुर्सानी हामीले खान मिल्दैन होला?’, प्रश्न गर्यो।
‘हुन्छ लिनुस् कति खानु हुन्छ’, फर्किएर कति खानुहुन्छ भन्दै बटुकामा भएको खुर्सानी ऊतिर लम्काउँदै बोलेँ।
‘हैन, हैन यतिकै सोधेको मात्रै थिएँ। हजुरलाई त पहिले देखेको थिएन नि मैले?’, उसले सोध्यो।
म गाउँबाट पढ्नको लागि आएकी यही काका-काकीसँग बस्छु।
फेरि उसले थप्यो, ‘अनि कुन कलेज पढ्नहुन्छ?’
म त्यही बानेश्वरमा। म धेरै बोल्न नचाहेको देखेर उसले अरू सोधेन। म तल झर्न खोज्दै थिएँ। छतको पल्ला छेउ पुगेको ऊ एक्कासि करायो, ‘बाई द वे मेरो नाम प्रमोद।’
ऊतिर फर्किएर टाउको हल्लाएँ। तल झरेँ। मैले आफ्नो नाम भन्न उचित ठानिनँ। गाउँबाट आउने बेलामा आमाले सम्झाउनु भएको थियो। नचिनेको नजानेको मान्छेलाई सबै कुरा भन्नु हुँदैन। सबै राम्रा हुँदैनन्। ख्याल राखेस् भनेर।
पढाइ राम्रो चलिरहेको थियो। कक्षा ११ को रिजल्ट आयो। मैले कलेज टप गरेछु। बाबा आमालाई सबैभन्दा पहिले सुनाएकी थिएँ। फोनमा बोल्दा बोल्दै आमा खुसीले रूनु भएको थियो। काका-काकी पनि असाध्यै खुसी हुनुभयो। काकीले भन्दै हुनुहुन्थ्यो, ‘यसरी राम्रो गर्दै गयो भने तिम्रो दाइ-दिदीलाई उतै क्यानडा लैजाओ भन्छु म।’
‘आन्टी मलाई क्यानडा जानु छैन। म यही केही गर्न चाहन्छु। केही बनेर बाबा-आमाको सपना पूरा गरी आफ्नै कमाइले सहरमा घर बनाएर सुखसँग राख्न मन छ। बाबा आमाकी छोरी हैन म छोरो हुन चाहन्छु’, सब्जी काट्दै गरेकी आन्टी फनक्क फर्किनुभयो।
‘आमै छोरी कति राम्रो तिम्रो सोच। म त तिमीलाई पनि अरूलाई जस्तै विदेशको भूत चढेको छ होला भन्ठानेकी थिएँ। आफ्ना सबै छोराछोरी विदेशिए। पैसा त पठाउँछन्। यो लाउनु, त्यो लाउनु भनेर। तर नानी चाडबाड आउँछ छोराछोरी नभएपछि त मनाउनै मन नलाग्ने रहेछ। ५/६ वर्ष भयो। खल्लो खल्लो छ हरेक चाडबाड। बिरामी पर्दा पैसा त पठाउँछन् तर पैसामात्रै सबै थोक नहुँदो रैछ। छोराछोरी सँगै भैदिए कस्तो हुन्थ्यो जस्तो लाग्छ।’
गहभरी आँशु पार्दै उता फर्किनुभयो।
म के बोलूँ, ने नबोलूँ भएँ। काकीको कुरा सुनेर मेरो पनि मन खिन्न भयो।
हुन पनि यो त हरेक घरको कहानी हो। हरेक घरबाट विदेश नगएको मान्छे हुँदैन अहिले त। तर मेरो जीवन राम्रै बित्दै थियो। कहिल कहिले घर जान्थें। साथीहरू पनि धेरै बनेका थिए। घरमा बस्दा त्यही झ्याल साथी बनेको थियो। सहरको बीचमा घर भएको भएर बेलुकीपख धेरै रमाइलो लाग्थ्यो हेर्नलाई। मजस्तै हेरिरहेको हुन्थ्यो प्रमोद। छतमा जाँदा धेरै पटक भेट भइसकेको थियो ऊसँग। आफ्नो नाम पनि भनिसकेकी थिएँ। पढाइकै शिलशिलामा रहेछ ऊ पनि तर मभन्दा धेरै सिनियर थियो। झ्यालबाट हेर्दा पनि मुस्कुराइ दिन्छु आजकाल म। खै किन हो थाहा छैन तर ऊ एकदमै सम्मान गरेर बोल्थ्यो जुन मलाई एकदमै मन पर्छ।
यसरी अलिअलि गर्दै हाम्रो बोलचाल बढिरहेको थियो। तरकारी टिप्ने बहानामा छतमा जाने बानी पर्न थालेको थियो। ऊ पनि त्यही मौका पारेर बोल्न आउथ्यो। मनमनै ऊ मलाई एकदमै मनपर्न थालेको थियो।
हिस्सी परेको काले काले चकलेटी कलरको, प्रायः हल्का दाह्रीमा नै देखिन्थ्यो ऊ। अनि सबैलाई सम्मान गरेर बोल्ने बानीले ऊ झनै राम्रो र सुन्दर लाग्थ्यो मलाई। मनमा लागेको कुरा फ्याट्टै भनी हाल्ने पेटमा पाप नभएको थियो। बेला बेला मेरो तारिफ पनि गर्थ्यो।
‘पढाइमा पनि ट्यालेन्ट र अनुहार पनि सुन्दर भएको केटी त मैले पहिलो पटक देखेको हुँ, तिम्रो हरेक कुरा मनपर्छ मलाई। तिमी जस्तै केटीसँग बिहे गर्नुछ भन्दै फुर्क्याउथ्यो ऊ।’
म मख्ख परेर मुस्कुराई दिन्थें। एकदिन पढ्ने बहानामा मेरो बुक मागेको थियो। मैले पनि नसोची दिएँ। त्यसको भोलिपल्ट बेलुकी झ्यालबाट इसाराले छतमा आउन बोलायो।
म माथि गएँ। सामान्य रूपमै थियो। किताब दिँदै ‘तिमी त ट्यालेन्ट मान्छे तर हेल्प चाहियो भने भन ल’ भन्यो।
हस् भनेर किताब बोकी कोठामा गएँ। खै किन मलाई किताब पल्टाएर हेर्न मन लाग्यो। पल्टाएर हेरेँ। नभन्दै एउटा चिठी थियो। बाहिर लेखेको थियो, ‘खोलेर पढ ल।’
मुटु ढुक ढुक हुँदै खोलें उसैले लेखेको पत्र थियो।
‘प्रिय मनिषा
सरी मैले तिमीलाई धेरै पटक भन्न खोजेँ तर आँट गर्नै सकिनँ र यो पत्र लेख्दै छु। तिम्रो हरेक कुरा मलाई मनपर्छ। तिम्रो बोलीमा त म फिदा हुन्छु। कति प्यारो छौ है तिमी। तिम्रो रूप र तिमीलाई कल्पेर रात बिताउँछु आजकाल। राती पनि तिमीले हेर्छौ कि जस्तो लागेर पटक पटक झ्याल खोलेर हेर्छु म। मनिषा म तिम्रो हुन चाहन्छु। म तिमीलाई बेहद माया गर्छु। प्लिज मेरो माया स्वीकार गरन ल। तिमीले पनि मलाई उतिकै माया गर्छेउ भन्ने आशामा म तिमीलाई झ्यालबाटै हेरिरहेको हुनेछु। यदि तिमीले स्वीकार गर्यो भने झ्यालबाट मलाई हेर ल। प्रतीक्षामा बसिरहेको एक पागल प्रेमी प्रमोद’ लेखेर टुंग्याएको थियो।
खुसीको सीमा रहेन। हैन भगवानले पनि कस्तो त्यही मान्छेलाई भेटाइदिनु हुँदो रहेछ। जसलाई म बेहद माया गर्छु। सासै थुनिए जस्तो भयो एक गिलास पानी पिएँ। झ्यालै खोल्ने आँट त गर्न सकिनँ। यति चाँडै उसलाई त भन्दिनँ म। पर्दा हल्का उचालेर हेरेँ। झ्याल खुला पारेर हेरिरहेको थियो ऊ। उसलाई मसँग भएको कल्पना गरेर सिरानीसँग जिस्किएर बसेँ।
दुई दिनपछि मेरो जन्मदिन थियो त्यही मौका पारेर एउटा चिठी लेखेर उसलाई दिने निर्णय गरेँ। तर फेरि दिने आँट गर्न सकिनँ। काकी नभएको मौका पारेर काकीले सेलरोटी पकाउँदा रोटी झिक्ने लौरो ल्याएर टेप लगाएर उसको झ्यालसम्म पुर्याएँ। झ्यालमै बसेको ऊ मलाई हेरेर मख्ख थियो।
‘कति बाठी हो के खतरा आइडिया रैछ त चिठी पठाउने’, भन्दै चिठी लौरोबाट निकालेर मलाई हेर्दै भित्र गयो।
म झ्यालमा उसको रियाक्सन लुकिलुकी हेरिरहेकी थिएँ। चिठी पढिसकेपछि उसको आँखामा आँसु देखेकी थिएँ। माथि छतमा आउन आग्रह गर्यो। म दौडिएँ। घरमा कोही हुनुहुन्न थियो।
एक अर्कालाई हेरेर बोल्नै सकेनौं। एकछिन त ऊ नै बोल्यो एउटा कुरा भनौं। टाउको हल्लाए। ‘क्यान आई हग यु?’, म डराएँ।
फेरि बोल्यो, ‘प्लिज!!!’
यता उता हेरेँ। कोही नभएको भएर छेउमा गएँ। मलाई बेस्मारी अंगालोमा बेरेर जन्म दिनको शुभकामना भन्यो। म डरले कामेको देखेर मलाई छोड्यो।
‘थ्याङ्क यु सो मच’, म लाजले शिर उठाउन सकेकी थिइनँ। गालाबाट रगत नै चुहिएझैं तातो भइरहेको थियो। तलतिर दौडिएँ। यसरी सुरू भएको हाम्रो प्रेम कहानीले एकाएक ठूलो रूप लिँदै गयो। अस्मितासँग भेट्न जान्छु भनेर प्रमोदसँग जान थालेँ। कहिले कहाँ, कहिले कहाँ लैजान्थ्यो।
मायाका कुरा गर्थ्यौं। जीवनसँगै बिताउने सपना देखाएको थियो। सपनाहरू बुन्थ्यौं। एकअर्काको अंगालोमा बाँधिएर घन्टौ हराउथ्यौं हामी। आखिर अब म उसकै भइसकेकी थिएँ। अनि ऊ मेरो। मैले दिएका गिफ्टहरू झ्यालमै मैले देख्ने ठाउँमा राखेको थियो।
‘मैले बाबा आमाका लागि देखेका सपनाहरू तिमीले जसरी भए पनि पूरा गर्नुपर्छ। तिमी मेहनत गरेर पढ’, म छु तिम्रो साथमा भनेर हौसला दिने ऊ नै त थियो मेरो। दुई वर्ष पुगेको पत्तै भएन। म ब्याचलर दोस्रो वर्षमा पुगेकी थिएँ। ऊसँग हिँडडुल गरे पनि पढाइमा आँच नआओस् भनेर रातभरी पढ्थें म। एक दिन कलेजबाट घर आउँदा काकीले हातमा लड्डु लिएर आउनुभयो।
‘लु छोरी लड्डु खाऊ’
‘केको खुसीमा आन्टी?’
‘पल्ला घर अस्मिताको छोराको बिहे रे! उता अष्ट्रेलिया बस्ने अरे केटी। बिहे पक्का गरेछन्। अस्मिताले निम्ता गरेकी। अब काका सधैं अफिसमा ब्यस्त। तिमी र म जानुपर्छ।’
‘हस् भनेर टाउको हल्लाएर लड्डु खाँदै कोठामा गएँ। पढेर बसेकी थिएँ। एक्कासि प्रमोदको कुरा याद आयो, ‘मेरो मम्मीको नाम अस्मिता हो। अनि तिम्रो मिल्ले साथीको पनि अस्मिता रैछ है! कस्तो संयोग भनेको।’
मन सिरिंग भयो। किचनमा गएर सोधेँ, ‘आन्टी अस्मिता आन्टीको घर कुन हो? हामी बिहेमा जाने घर?’
प्रमोदको घर देखाउँदै भन्नुभयो, ‘यही घर लौ तीन वर्ष भइसक्यो अस्मिताको घर तिमीलाई थाहै छैन?’
टाउको मात्रै हल्लाएँ।
‘अनि काकी कुन छोराको बिहे?’
हाँस्दै भन्नुभयो, ‘एउटै छोरा हो। अस्मिताको प्रमोद…छोरी पनि उतै अष्ट्रेलियामा छिन्, केटी पनि उतैकी लब म्यारिज रे! केटी पढ्न गएकी रे! अब पढाइ सकेर आएकी बिहे गरेर उतै जाने अरे दुवै जना।’
कुरा नसक्दै म बेहोसजस्तै भएछु। थचक्क बसेँ।
‘के भो नानी तिमीलाई’, आन्टीले पानी ल्याएर दिनुभयो।
‘तिमीलाई ठिक छ? बिरामी भयौ कि क्या हो?’
'राती धेरैबेर पढेकी थिएँ। निन्द्रा नपुगेर होला' भनेर तल गएँ।
मन थाम्नै सकिनँ। भक्कानिएर बेडमा ढलेर रोएँ। कसरी यति ठूलो धोका दिन सक्यो प्रमोदले। सोच्न पनि सकिनँ। उसले दिएका हरेक कुरा च्यात्न मन लाग्यो। एक हप्ता म कोठाबाट निस्किनै सकिनँ। मुटु फुट्लाजस्तो भयो। सब सपना एकाएक चकनाचुर भयो। खै मैले थाहा पाएँ भनेर हो कि किन उसले मलाई फोन गर्ने आँट पनि गरेन। म्यासेज पठाएँ।
‘आखिर किन यस्तो गर्नु भएको। मैले के पाप गरेँ।’
उसको रिप्लाई थियो।
‘सरी.. बस् यति नै थियो सरी।’
मलाई चित्त त कति दुख्यो दुख्यो। तर अब मलाई पनि ऊसँग बदला लिनु थियो।
काकीलाई भनेर क्यानडा जाने निर्णय गरी एउटा युनिभर्सिटीमा स्कलरसिपको लागि अप्लाई गरेको थिएँ। छ महिनापछि स्कलरसिप पाएँ। नचाहँदा नचाहँदै आफ्नो देश छोड्न बाध्य भएँ। तिमीले मलाई गरिब भनेर अष्ट्रेलियामा बस्ने धनी केटी रोजेको थियौ। तर मलाई धनी बन्नु थियो। बस् तिमीलाई देखाउन।