रातको ११ बजे। बुटवलको सुनसान सडक। गन्न सकिने आकाशका ताराहरू अनि नगन्य धर्तीका चन्द्रमाहरू। फ्याट्टफुट्ट चलिरहेका निजी गाडी।
रातको समयमा पनि निद्रालाई तिलाञ्जली दिएर यात्रु कुरेका ५/६ वटा अटोवालाहरू।
झोलाको चेनको सर्याक-सर्याक आवाज र फूटपाथ सडकमा गोडा बर्सिदा आउने गड्याक-गड्याक आवाजसँगै कानको जाली फुट्ने गरी इयरफोनमा गीत सुन्दै बुटवलको गोलपार्कदेखि योगिकुटी सम्मको बाटो पैदल हिँड्ने योजनामा एक्लै आफ्नै सुरमा हिँडिरहेको थिएँ।
मोबाइलमा बजाइरहेको गीत बन्द गरेँ। सर्ट मुनिबाट इयरफोन निकाली बेरेर गोजीमा राखेँ। प्रकृतिको एक-एक चिजसँग साक्षात्कार गर्न गहिराइमा डुब्दै गएँ।
पसलमा राखिएका सामानहरू आज बेचिने भए भन्ने भयमा त्रसिद भएकाहरू एक रात भए पनि ढुक्क मुद्रामा निदाएका थिए। कोही दिनभरको थकानलाई मिठो निद्रामा विलय गर्दै थिए होला। कोही झ्यालको पर्दा लगाएर खुसखुस गर्दै थिए। कोही प्रेमीसँग रोमान्टिक कुरा गर्दै थिए होलान्।
प्रेमी नभएकाहरू घरी फेसबुक घरी युट्युब पटक-पटक खोल्ने र बन्द गर्ने गर्दै छन् होलान्। कोही भोलिको लागि मनमनै योजना बुन्दै छन् होला त कोही अझ त्योभन्दा लामो भविष्यकै लागि दिमागमा डिपिआरको नक्सा कोर्दै छन् होला।
सडकमा भएका गाईगोरु पनि निदाउनको लागि ठाउँ खोज्दै अल्छी पारामा हिँड्दै थिए। रुखहरू कुनैले पनि पात हल्लाएका छैनन्। लाग्छ सबै रुखहरू नै निदाए, भुइँका झारपातहरू पनि निदाए।
सबै सुते तर सडकका बत्तीमा खै केको जीवन देखेर दिउँसो सुतेका साना किराहरू अहिले सबै झुमिरहेका छन्? साँच्चै बत्तीमा के शक्ति छ र यिनीहरू यसरी झुमिएका होलान्? म सोच्दै आफ्नै सुरमा हिँडिरहेँ।
म सबै चिजको गहिराइमा डुब्दाडुब्दै केही समय किनारामा आउँथें र सोच्थें, योगिकुटी जानुपर्ने मान्छे कतै जानकीनगर नै पो पुगेँ कि! अनि कतिबेला त पुगे पनि राम्रै सम्झना हुने थियो भन्ने उटपट्याङ कुरा सोच्थेँ। तर हैन रहेछ, म योगिकुटिको नजिकनै आएको रहिछु।
म त्यस पुलमा थकान पारामा चढेँ। अरु बेला टिकटक र फोटा खिच्ने र डेटिङ स्पट बन्ने त्यो पुल पूरै खाली थियो।
उसले पनि दिनभरको कुल्चाइबाट अनि दुनियाँको चटक हेर्दा थकान र दिक्क भाको पुलले लाग्दै थियो मस्त तरिकाले थकान मार्दैछ। तर पुलको छेउमा सलले टाउको बेरेकी एउटी अन्दाजी २५ वर्ष जतिकी महिला मोबाइलमा कल गर्दै रोइरहेकी थिई। उसको साथमा जेब्रा ब्याग र उसलाई हेर्दै निरास मुद्रामा भएको अन्दाजी आठ वर्षको बालक थियो।
किन यी महिला यसरी यति रातिसम्म यो पुलमा बसेर रोइरहेकी होलिन्। उनको टाउकोमा बेरिएको सलले ती महिलाको टाउको दुखेको हुन सक्ने अड्कल गरेँ। त्यो झोला चाहिँ यति राति किन होला? कतै ऊ कसैको या आफ्नै घरबाट पो झगडा परेर या कुनै समस्यामा निकालिएकी वा निस्केकी पो हुन् कि।
मैले कारणहरू मनमा खेलाउन थालेँ। उसले कसैले फोन गरेर आफ्नो समस्या बताउँदै छ होला। म एकनासको रफ्तारबाट आफ्नो रफ्तार घटाएँ र केही सेकेण्ड टक्क अडिएर विभिन्न अड्कलबाजी गर्न लाए। मैले ती दिदीतिर हेरेर उसलाई 'के भयो दिदी?' भनेर सोध्न आफ्ना खुट्टा ती दिदी तिर सोझ्याउन थाले र मुखबाट प्रश्न सोध्नलाई कोसिस गरेँ।
तर खै के सोचेँ अनि ती दिदीतिर फर्केका खुट्टा आफ्नो गन्तव्य तिर सोझिए। मुखबाट सोध्न खोजेको वाक्य नै निस्किएन। अनि पुनः केही निरास मुद्रामा फेरि पनि विभिन्न अड्कलबाजी गर्दै आफ्नै गन्तव्यमा हिँडिरहेँ।
सायद म उसलाई सोध्न डराएँ। उसले के सोच्ली भन्ने भावले मलाई बोल्न दिएन। उसले माग्ने अपेक्षित सहयोगबाट म डराएँ कि!
जसरी डराए पनि यो चाहिँ सत्य हो कि म भित्रको मानवीयता हरायो। मेरो दया, माया र करुणा हरायो। मेरो संवेदना हरायो। मेरो आदर्शको खोलभित्र लुकेको यथार्थ चित्रण बाहिरियो। ती दिदीको आँखाको आँसु बेचेर आफ्नो लेख सजाएँ।