'तपाईंले अर्डर गर्नुभएको दुई प्लेट म:म र कोक।' रेस्टुरेन्टको वेटरले मेरो अगाडि दुई प्लेट मःम र दुई बोतल कोक राखिदियो।
'मत एक्लै छु, किन दुई-दुई वटा ल्याएको?', म झोक्किएँ।
'तपाईंले भन्नु भएर दुई ठाउँमा ल्याएको हो सर।'
मःम र कोक छोडेर वेटर फर्कियो। तर मैले 'एक-एक वटा फिर्ता लैजाऊ' भन्न भुलेछु।
'हैट, म एक जनाले किन दुई-दुई वटा मगाएको होला!', आफैं छक्क परेँ।
खासमा काठमाडौं न्युरोड गेट छेउको यहीँ रेस्टुरेन्टको सोही टेबलमा बसेर मैले ऊसँग धेरै पटक मःम खाएको छु, कोक पिएको छु। आज पनि ऊ मसँगै छे भन्ने भ्रमले दुई ठाउँमा मःम र कोक माग्न पुगेछु।
वास्तवमा आज ऊ मसँग थिइनँ, फगत उसको सम्झना थियो। मसँग दुबै प्लेट मःम र कोक खानुबाहेक कुनै विकल्प थिएन। तर खान बिर्सेर पुराना कुरा सम्झिन पो थालेछु।
त्यतिबेला म भरतपुरमा हेल्थ असिष्टेन्टको कोर्स पढ्थेँ। यसै कोर्सको तेस्रो वर्षमा म र मेरा केही साथीहरू फिल्डमा कामको सिलसिलामा चितवनको पहाडी क्षेत्रमा पर्ने चेपाङ गाउँमा गएका थियौं। स्वास्थ्य शिविर चलाउन गएका थियौं। त्यतिबेला त्यहीँ क्याम्पलाई सघाउन वीरगञ्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरूको एउटा टोली पनि आएको रहेछ।
अन्तिम वर्षका ती केटीहरूमध्ये एउटा गोरी, अग्ली, चश्मा लगाएकी समीक्षा नामकी केटीसँग मेरो चिनजान भयो।
ऊ र म निकै नजिक भयौं। सायद उसको र मेरो कुरा मिलेर होला। म ऊसँग आकर्षित भएँ।
एक हप्ताको बसाइपछि ऊ वीरगञ्ज फर्किई। म भरतपुर आएँ। तर उसको सम्झना मनभरी बोकेर आएँ। त्यतिबेला फेसबुक, ट्विटरको जमाना थिएन। तर भर्खर मोबाइलको चलन आएको थियो। हामी हरेक दिन फोनमा कुरा गर्न थाल्यौं। केही समयपछि हामी दुबैको पढाइ सकियो। म काठमाडौंमा बिपिएच पढ्न थालें। मसँग मेरा भाइबहिनी पनि सहर आएर मसँगै बसेर पढ्न थालेका थिएँ।
समीक्षाको पनि बिएन् पढ्ने रहर थियो। तर उसले पढेपछि दुई वर्ष काम गर्नैपर्थ्यो। त्यसैले कामको खोजीमा ऊ काठमाडौं आई।
उसले यहाँको राम्रो अस्पतालमा जागिर पाई। उसको दाजुभाउजुको काठमाडौंमा घर थियो। ऊ उनीहरूसँगै बस्न थाली।
ऊ काठमाडौँ आएपछि हाम्रो भेटघाट सजिलै हुने भयो भन्ने कुराले खुसी लाग्यो। लाग्यो, उसको अस्पतालकै कुनामा बसेर ऊसँग घन्टौं भेटेर कुरा गर्न सकिएला। तर उसको अस्पतालमा धेरै युवा डाक्टर र बोसले उसलाई चाहने रहेछन्। ऊ केही केटासँग नजिकिए उनीहरूले डाह गर्ने र अनेक बहानामा गाली गर्ने, दुःख दिने हुँदा ऊ मलाई उसको अस्पतालमा लैजान चाहन्नथी। मलाई उसले एकपटक उसको अस्पतालमा लगी, उसको बोससँग चिनाएकी पनि थिई।
तर उसले मेरो नमस्ते पनि राम्ररी फर्काएन, बरू खाउँलाझैं गरी हेर्यो। त्यसपछि मलाई त्यहाँ जान डर लाग्यो।
एकपटक मलाई समीक्षाले घरमा लगेर उसको दाजुभाउजुसँग साथीको रूपमा चिनाई।
उसका दाजुभाउजुले मलाई शंकालु नजरले हेरे। मलाई फेरि त्यहाँ पनि जान आँट आएन।
उसको घरमा गएको थाहा पाएपछि उसका दाजुभाउजुले उसको आमाबुबालाई मेरो बारेमा सुनाएछन्।
समीक्षा मभन्दा घराना क्षेत्री परिवारकी छोरी थिइ। उनीहरू काजी खलकका रे! उसका हजुरबा पंचायतकालमा गाउँको प्रधानपंच रहेछन् र अझै पनि गाउँमा जुंगामा ताउ लगाउँदै हिँड्ने रहेछन्।
उसको हजुरबाको त राजपरिवारसँग उठबस थियो रे! उसको बुबा बाबुको फुईं लगाउँदै बिना ईलम गाउँमा धाकधक्कु दिएर बस्ने मान्छे रहेछन्। उनीहरूमा जात र कुलघरानाको निकै घमन्ड रहेछ।
म भने सामान्य गाउँको जनजाति परिवारको केटो।
घरको कमजोर आर्थिक अवस्थाले गर्दा हामी बडो दुःख गरी डेरामा दुई कोठा लिएर बसेका थियौं।
समीक्षाका हजुरबा र बुबाले मेरो बारे सुनेपछि उसलाई बेस्सरी गाली गर्नु भएको रे, ‘त्यो तल्लो जातको केटासँग हिमचिम बढाइस भने ठीक हुँदैन।’
मेरो विकल्पमा गाउँकै काजी खलकको आफन्त परिवारको एउटा केटासँग बिहे गरिदिन खोज्नुभएछ।
समीक्षाले' म बिएन् नगरि बिहे गर्दिन, बरू मलाई खर्चसर्च चाहिन्न, मेरै जागिरले मलाई पुग्छ भनी घरमा झगडा गरेर हिँडिछ। उसका दाजुभाउजुले मसँग हिमचिम नगर्ने शर्तमा आफूकहाँ बस्न दिने कुरामा सहमति जनाएछन्।
तसर्थ काठमाडौंमा पनि जोगिएर भेटघाट गर्नुपर्ने अवस्थामा हामी पुग्यौं।
उसको कमाई राम्रै थियो। उसैले पैसा दिएर मोटरबाइक किनेको थिए। कहिलेकाहिँ अस्पतालमा उसको तलबभन्दा अतिरिक्त कमाई पनि हुन्थ्यो। त्यस्तो बेला हामी कहिले नगरकोट त कहिले धुलिखेल गएर पनि रात बिताउँथ्यौं। राती बाहिर जान परेमा उसले नाइट ड्युटी परेको बहाना बनाउँथी। मलाई भने रोकतोक गर्ने कोहि थिएन।
अरू बेला भने क्लास सकिएपछि उसको
अस्पतालको गेटमा पर्खिन्थेँ। उसको ड्युटी सकिएपछी उसलाई बाइकमा राखेर चोभार त कहिले बालाजु त कहिले स्वयम्भु लिएर जान्थेँ। अनि खाजा खाएर आ-आफ्नो घर डेरा फर्किन्थ्यौं। राम्रो फिल्म आएको बेला हेर्न जान्थ्यौं। प्रायः खाजा खान भने यहि रेष्टुरेन्टमा
आउँथ्यौं। हामी बस्ने टेबल प्रायः यहि हुन्थ्यो र हामीले खाने खाजा पनि प्राय मःमः
र कोक नै हुन्थ्यो।
मैले यहाँ आउने बितिकै उसँगै भएको सम्झेर दुई प्लेट मोमो मगाएछु।
यसैगरि दिन बित्दै थियो। मेरो बिपिएच सकिन लाग्यो। पढाई सकिनासाथ जागिर खाने योजना थियो। अनि ऊ बिएन भर्ना हुने तयारी चल्दै थियो। दुईचार पैसा जम्मा हुँने बितिक्कै बिहे गर्ने सोच पनि बनाएका थियौं।
एकदिन हामी रात बिताउने गरि नगरकोट गएका थियौं। त्यहि बेला अस्पतालमा समीक्षाको बोसले थाहा पाएर उसको दाजुलाई खबर गरिदिएछन्।
फर्केर आएपछि दाजुले उसलाई बेस्सरी गाली गर्नुभएछ र घरमा रडाको मच्चिएछ। यहि बेला विभिन्न बहाना बनाएर अस्पतालले पनि उसलाई जागिरबाट निकालिदियो। जागिरबाट निकालिदियो रे भन्ने सुनेपछी उसको भाउजुको रिसको चार गुणा बढेछ।
'हाम्रो नाक काट्ने, अब घर छोडेर गए हुन्छ', भनेर वचन लगाइछन्।
उसलाई तुरन्तै बिहे गरेर ल्याउन सक्ने अवस्थामा म पुगेको थिएन। त्यसैले एउटा डेरा खोजेर एक्लै बस्न थाली। अनि पछि होस्टेलमा बसेर बिएन् पढ्न थाली।
'म यसरी यहाँ बिएन् पढेर समय नष्ट गर्दिनँ, बरू यूके जान्छु र त्यहीँ नर्सिग पढ्छु अनि काम पनि गर्छु। अनि तिमीलाई पनि डिपेन्डेन्ट भिसामा लिएर जान्छु। म पढुन्जेल तिमी काम गर। मेरो पढाई सकिएपछि म काम गर्छु, तिमी पढ', एकदिन एक्कासी उसले भनी।
कुरा ठिकै हो जस्तो लाग्यो। मसँग अरू उपाय पनि थिएन, त्यसैले 'हुन्छ' भनेर सहमति जनाएँ।
समीक्षाको पढाई राम्रो थियो, अनुभव पनि राम्रै थियो। उसले आईइएलटिसमा गज्जबको स्कोर ल्याई र युकेमा ब्याचलर ईन नर्सिग पढ्न त्यहाँको राम्रै कलेजमा भर्ना पाई।
आफूले खोजेको कुलघरानाको केटोसँग बिहे गर्न नमानेर तल्लो जातसँग लागेको भनेर उसको बुबाआमाले उसलाई विदेश पढ्न जाने अनुमति र खर्च दुबै दिएनन्। दाजुभाउजुले त 'नाता टुटेको' घोषणा नै गरिसकेका थिए।
तर समीक्षाले जागिर गरेर कमाएको केहि पैसा बचाएर राखेकी रहिछे। मैले पनि बेला बेला फिल्ड गएर ल्याएको पैसा त्यसमा थपेँ अनि बाँकी अपुग पैसा घरबाट बालाई 'विदेश जाने' भनेर फकाएर ऋण गर्न लगाई ल्याएर उसलाई दिएँ।
अन्ततः ऊ युके जाने भई। ऊ जान भन्दा पहिले
न्युरोड अगाडिको महांकाल मन्दिरमा गएर त्यहाँको टिका उसको सिउँदोमा सिन्दुर लगाएको सम्झेर लगाइदिएँ। यहीँ रेस्टुरेन्टमा आएर खाजा खुवाई एयरपोर्टमा लगेर जहाज चढाई बिदाई गरेँ।
ऊ एयरपोर्टभित्र जाने बेला मलाई अँगालो हालेर रोई।
म छिट्टै नेपाल आएर बिहे दर्ता गरेर तिमीलाई लिएर जान्छु' भनी।
मैले आफ्नी श्रीमतीझैं सम्झेर बिदाईको हात हल्लाएँ।
ऊ राम्रै गरी यूके पुगी र एक नेपाली दिदीसँग डेरा सेयर गरी बस्न थाली। कलेज जान थाली। तर त्यहाँ ब्याचलर पढ्नेहरुलाई काम पाउन गाह्रो रहेछ, पाए पनि हप्तामा जम्मा १० घन्टा मात्र काम गर्न पाउने।
यति काम गरेर खर्च पुर्याउनै गाह्रो हुँदो रहेछ। त्यसैले नेपाली र अरू पनि विदेशी विद्यार्थी लुकेर काम गर्दा रहेछन्। उसले पनि लुकेर काम गर्न थाली। उसको पढाई र काम दुबै ठिकठाकै चल्न थाल्यो।
यता मैले पनि बिपिएच उत्तिर्ण गरेर एउटा स-सानो जागिर खान थालेँ।
हामी बेला बेला कुरा गरिरहन्थ्यौँ। त्यतिबेला फेसबुक, म्यासेन्जरहरू चल्तिमा आइसकेका थिए। हामी खाली हुँदा घन्टौं कुरा गर्थ्यौ र भविष्यका योजना कोर्थ्यों। हाम्रो मायापिरती ठिकठाक चल्दै थियो। म उसको डिपेन्डेन्ट बनेर यूके जाने सपना देख्दै थिएँ।
उसको पढाई नसकिँदै यूके सरकारले लुकेर काम गर्ने विद्यार्थीलाई कडा गर्न थालेछ। उसलाई पैसाको संकट हुँदै गयो। उसको कलेजले पनि त्यहि बेला बाँकी पुरै शुल्क तिर्नुपर्ने नत्र उनीहरूलाई तुरून्तै देश निकाला गर्ने भनेर धम्की दिन थालेछ। उसको कलेजमा ३ हजार पाउण्ड (त्यतिबेलाको झन्डै नेपाली चार लाख रुपैयाँ) तिर्न बाँकी रहेछ। सरकारले काममा कडाई गरेपछि काम गरेर तिर्ने सम्भावना भएन।
उसले 'कि मेरो शुल्क तिर्ने पैसा पठाइ देऊ, कि म नेपाल फर्केर आउँछु, मसँग बिहे गर' भनी।
मसँग त्यत्रो पैसा थिएन उसलाई पठाउन। गाउँमा गएर ऋण गरौँ, पहिलेकै ऋण तिरेको छैन। उसलाई 'नेपाल फर्केर आउ' भन्न पनि सकिनँ।
दुई तीनपटक उसले यहि कुरा गरी, मैले टार्दै रहेँ। अन्तत उसले मसँग कुरै गर्न छोडी, मैले पनि उसलाई जबर्जस्ती बोलाउने आँट गर्न सकिनँ।
अलिक दिनपछि फेसबुक म्यासेन्जरमा उसको एउटा सन्देश आयो, 'मेरो शरीरसँग आकर्षित भएर प्रेमको नाटक गर्ने बेइमान, मलाई आपत् पर्दा सहयोग नगर्ने स्वार्थीसँग मलाई कुनै मतलब छैन। अब आईन्दा मलाई डिस्टर्ब गर्ने कोशिस नगर्नु।'
यति लेखेर मलाई फेसबुकमा अन्फ्रेन्ड गरिछे।
म के भनुभनु भएँ, कुनै जवाफ फर्काउन सकिनँ।
यसरी हाम्रो सम्पर्क अनायासै टुटेजस्तो भयो।
मैले उसको फेसबुकतिर आँखा लगाउने साहस गर्नै सकिनँ।
धेरै दुख कष्ट पश्चात मैले सुदूर पश्चिमको दुर्गम जिल्लामा राम्रै जागिर पाएँ। केहि महिनाभित्र अनेक जोडबल गरेर चार लाख जति जम्मा गर्न सकेँ। अनि उसलाई पैसा पठाइदिने विचार गरेर उसको मोबाइलमा फोन गरेँ।
उसको फोन अफ रहेछ। सायद नम्बर परिवर्तन गरेको होला।
मेसेन्जरमा म्यासेज पठाउन पर्यो भनेर फेसबुक हेरेँ। उसको प्रोफाईल पिक्चर परिवर्तन भएको रहेछ। त्यो देखेर म छाँगाबाट खसे जस्तो भएँ।
उसको फोटोको सट्टा ऊ एउटा केटासँग बसेको फोटो रहेछ। उसको नाममा पछाडि अरू कसैको थर थपेर नाम पनि परिवर्तन गरिएको रहेछ।
समीक्षा खड्का पाण्डे।
खोज्दै जाँदा उसको फोटोसँगै हुने त्यो रोशन पाण्डे नामको केटो रहेछ। उसैसँग विभिन्न ठाउँ घुम्न गएका, अंगालोमा बाँधिएका, समुन्द्राको किनारामा टुपिसमा घुमेका अनेक फोटाहरू रहेछन्।
मैले हेर्न सकिनँ। कतिबेला मेरो आँखाबाट आँसुको धारा बगिसकेछ।
मैले 'समी, यो के गरेको, किन यसरी मेरो माया किन मारेको?' भनेर म्यासेज गरेँ।
सायद ऊ अनलाइनै रहिछ, तुरून्तै मलाई ब्लक गरी।
अब फेसबुकको सम्पर्क पनि टुट्यो।
उसको फोटाहरू हेर्दा र प्रोफाईलमा थर थपेको देख्दा उसले सायद त्यहि पाण्डे थरको केटासँग बिहे गरिछे भन्ने लाग्यो। फोटोमा हेर्दा केटो राम्रै देखिन्थ्यो। म भन्दा ह्याण्डसम र खाइलाग्दो थियो त्यो केटो।
'जे भए पनि उ खुसी रहिछे, त्यति भए मलाई पुग्यो' भनेर मन बुझाउने प्रयास गरेँ।
उसले उता जीवनसाथी रोजिसकेपछि मैले पनि यता बिहे गरेँ। उसलाई बिर्सने प्रयास गरेँ।
केहि समयपछि म एमपिएच पढ्न थाइल्यान्ड गएँ। फर्केर काठमाडौँ बाहिरको जिल्लामा जागिर गर्न थालेँ।
एकदिनको कुरा हो, एकजना आफन्तलाई उपचारको लागि राजधानीको एउटा अस्पतालमा लानु पर्नेभयो।
उनको उपचार सकेर बाहिर निस्कन लाग्दै थिएँ।
त्यहि बेला समीक्षा जस्तै एउटा नर्स मेरो छेउबाट स्वाट्ट कटी।
ऊ समीक्षा नै थिई, तर पहिलेभन्दा मलिन, अनुहारको चमक पनि फुंग उँडेको।
म छक्क परेँ।
'यूकेमै बस्ने केटासँग घरजम गरेकी केटि कसरी यहाँ?'
म उसलाई पछ्याउँदै गएँ। कता पसी, भेटिनँ।
रिसेप्सनमा गएर समीक्षा खड्का सिस्टर यहाँ काम गर्नु हुन्छ हो?' भनेर सोधेँ।
रिसेप्निष्टले मेरो अनुहारमा गहिरो गरी हेरेर 'हो, तर उहाँ त गैइसक्नु भो, तर किन सोध्नु भो? केहि काम छ कि?' भनेर सोधी।
मैले 'म उहाँको साथी हो, उहाँको मोबाइल नम्बर दिनुहोस् न’, भने।
रिसेप्सनिष्ट' हामीले कुनै पनि स्टाफको मोबाइल नम्बर दिन मिल्दैन, सरी' भनेर अर्कातिर लागि।
मैले अस्पतालका धेरै स्टाफसँग उसको बारेमा सोधेँ, कसैले उसको बारेमा बताउन मानेन। विभिन्न बहाना गरेपछि बल्ल एउटा सिस्टरले समीक्षाको नम्बर दिइन्, तर उनले पनि 'मलाई समीक्षा सिस्टरको पर्सनल कुरा केहि थाहा छैन भनिन्।
मैले घर पुगेर समीक्षालाई कल गरेँ। उसले फोन उठाएर 'हेलो कसलाई खोज्नु भो?' भनी।
मैले 'म बिजय के तिम्रै बिजय' भनेँ।
उसले 'मसँग केहि काम थियो कि?' भनी।
मैले 'समी, तिमीलाई फोन गर्न मेरो काम हुनु पर्छ र? के छ तिम्रो खबर?' भन्दै थिएँ, उसले फोन चट्ट काटी।
दोहोर्याएर कल गर्न प्रयास गर्दै थिएँ, मेरो नम्बर ब्लक गरिसकिछ।
'समीक्षाको बारेमा पत्ता लगाउनै पर्यो, के गर्ने होला' भनेर सोच्दै थिएँ, झट्ट नाताले उसको बहिनी पर्ने सबिता नामकी एकजना केटिलाई सम्झेँ।
उसलाई हाम्रो प्रेम सम्बन्धको बारेमा जानकारी थियो। मलाई जिस्काएर 'भिनाजु' भन्ने गर्थी।
उससँग समीक्षाले आफ्नो नितान्त ब्यक्तिगत कुरा पनि सेयर गर्थी।
उसलाई कल गरेर समीक्षाको बारेमा सोधेँ।
उसले 'दिदीको अहिलेको कुरा धेरै त थाहा छैन', भन्दै केहि कुरा भनी।
'समीक्षालाई कलेजको शुल्क तिर्न गाह्रो भएको बेला पूर्वतिरको एउटा रोशन पाण्डे भन्ने केटाले सबै पैसा तिरिदिने बताएछ। त्यो पैसा तिर्न नपर्ने पनि बताइछ।
तर यस बापत ऊ यूके बसुन्जेल लिभिंग टुगेदरमा बस्नुपर्ने सर्त राखेछ।
दिदीले पनि के सोचेर हो कुन्नी, सहमति जनाउनु भएछ। रोशनकै सहयोगमा दिदीको भिसा पनि थपिएछ। तर सँगै बसेको कुरा थाहा पाएपछि यूकेमै बस्ने नेपाली समुदायका चिनजानका मान्छेले 'तँसँग बस्ने केटा को हो?' भनेर सोधखोज गर्न थालेछन्।
त्यो खबर पाएपछि नेपालबाट परिवार र आफन्तले पनि सोध्न थाले। त्यसपछि दिदीले 'त्यो केटा मेरो श्रीमान् हो' भनेर चिनाउनु भयो। अनि त्यसलाई पुष्ट्याई गर्न फेसबुकको प्रोफाइल परिवर्तन गर्नु भएको रहेछ।
त्यसको केहि समय पछि रोशनले दिदीलाई, 'तँलाई संकट परेको बेला सहयोग गरेको मात्र हो, तँ मेरो श्रीमती होइनस्’ भनेर युकेकै पिआर भएको केटीसँग बिहे गरेछ।
दिदी त्यसपछि त्यहाँ बस्न सक्नुभएन र नेपाल फर्किनु भयो। उहाँलाई दाजुभाउजुले घरै पस्न दिनुभएन। हजुरबा बितिसक्नु भयो। ठूलोबुबा (समीक्षाको बुबा) एकदम बिरामी हुनुहुन्छ। उहाँले दिदीलाई केहि सहयोग गर्न सक्नु भएन। ठूलीआमा (समीक्षाकी आमा) सोझि हुनुहुन्छ। उहाँले पनि के गर्नु।
अनि दिदीले त्यो अस्पतालमा काम गर्न थाल्नुभयो। तर दिदी अचेल एकदम एकोहोरो, कसैसँग खुलेर नबोल्ने हुनु भएको छ। फेसबुक र अरू सोसलमिडिया पनि केहि चलाउनुहुन्न। कसैसँग भेटघाट पनि गर्नुहुन्न। दिदीको जिन्दगी त्यसै खेर जाला जस्तो छ।
मेरो पनि दिदीसँग भेटघाट, कुराकानी नभएको धेरै भयो। अहिले त दिदी कहाँ बस्नुहुन्छ भन्ने मलाई पनि थाहा छैन।'
'भिनाजु, तपाईहरूको जोडी कस्तो सुहाउँछ, दिदीलाई बिहे गर्नु न प्लिज'
'समीक्षा मेरो मुटुको टुक्रा हो, तर के गर्नु सबिता, म विवाहित भइसकेँ, छोराको बाबु भइसकेँ म। तर समीक्षाको दुःख हेर्न सक्दिनँ म कसो गरूँ।'
यति भनेर म रून थालेछु, सबिताको पनि आँखा भरी आँसु भरिएछ।
त्यसपछि कुन सुरमा न्युरोड गेटनेरको त्यो रेस्टुरेन्टमा पुगेर दुई प्लेट मोमो र दुई बोतल कोक मागेछु।
'सरले केहि पनि खानु भएन छ, उठाउँ?'
वेटरको आवाजले म झल्यास्स भएँ।