सुन्दैछु मेरो बाल्यसखा
तिहारको बिदामा स्विट्जरल्यान्डतिर लाग्यो रे
म पनि गोठतिर पो लागेँ
ऊ हवाई जहाजमा
म डुंगामा
ऊ आकाशमा
म धर्तिमा
ऊ स्विमिङ पुलमा पौडिदै
म ब्रह्मपुत्रमा पौडिदै
ऊ कृतिममा
म वास्तवमा
म गाई वस्तुमा रमाउँदै
ऊ प्रेयसीसँग सायद
उसको डँडाल्नोमा मुलायम लेपटप
मेरो डँडाल्नोमा घाँसको भारी
सुन्दैछु उसले गुप्तधन पनि निकै राखेको छ रे उता
मेरो दृश्यधन इनै गाई वस्तु यता
भकारोमा बिहानको सूर्यको किरणले बाछा रमाउँछन्
ऊ केको किरणमा रमाउँछ जान्दिनँ !
साह्रै राम्रो दृश्य हुन्छ गोठमा पनि
जून -जूनेलीमा
यता हर्के, बिरे,डल्ली ,मञ्जरी भेटिन्छन्
उताको कुरा म जान्दिनँ
तर
मृत्युपछि हामी दुवैको अस्तु
नदीमै विसर्जन होला सायद!
अन्तमा जेहोस
को धनी को गरिब
हामी मिल्ने त आखिर सागरमै रहेछ!
ऊ स्विट्जरल्यान्डतिर म गोठतिर!!