कहिले चाड आउला भन्दै कुर्दै गर्दा ४/५ वटा पूर्णिमा कटेको थियो। आएको चाड पनि एक झिमिकमै सकियो। नवमीको राति भेटिएका केटाकेटीका अनुहार राम्ररी हेर्न पनि पाइनँ। नातिनीलाई मुसारेर काखमा राख्न पनि भ्याइनँ।
भत्ता आउँदापिच्छे त्यसैलाई भनेर पैसा संगाल्ने गर्थें। यसपालि दिन्छु भनेको पनि मेसो मिलेन। खुब खुसी हुँदै साथीहरूलाई सुनाउँथी होला 'हाम्रो ह-बाले यति दक्षिणा दिनुभयो' भनेर।
टीकाको रातो बसाउने बित्तिकै मावलतिर भागिहाले। यसरी जान तम्सेकालाई 'एक रात बसेर भोलि जाओ न है' भन्न पनि सकिनँ। यस्तै बेलामा त हो मलाई तेरो झन् बढी याद आउने काइँली।
माया गर्नु, माया जताउनु र कर्तव्य निभाउनुको फरक तँ गएपछि बल्ल थाहा भयो। तँ हुँदा मन ढुक्क हुन्थ्यो अनि घर सधैँ उज्यालो रहन्थ्यो। एक्लै त फिटिक्कै जाँगर नलाग्ने रैछ।
आजभोलि अलि लामा पाइला चल्न पनि दुःख मान्छन् यी गोडाले। राति झन् करकर खान्छ। छ न त छोरा बुहारीले ल्याइदिएको अनेक थरी आयुर्वेदिक तेलहरूका बट्टा दराजभरि छन् तर मेरा खस्रा हातमा तेरो जस्तो जादु छैनन्।
गाउँमा सबैले मेरो जीवन देखेर भन्ने गर्छन्, 'बुढेसकालमा पोइ मरोस् तर जोई कसैको नमरोस्।' हुन पनि जीवन जिउन चाहिने हरेक काम त तेरै भागमा परेका थिए अनि तँबिना कसरी चलोस् मेरो जीवन?
तैँले सल्काउने चुलोबाट मलाई चुरोट सल्काउन मात्र आउँथ्यो। तँ गएपछि चुलोमा खान पकाउन साह्रै गाह्रो भयो। न बाँझा खेतका घाँस खान मिल्ने, न कसैले सित्तैमा खाना टक्राइदिने। थुप्रो रात तैँले पस्केको भात सम्झेर भोकै सुतेको छु म।
बेलाबेला तेरो अलि राम्रो ख्याल राखेको भए आज यो दिन भोग्नु पर्थेन भनेर सोच्छु अनि आफैदेखि साह्रै रिस उठ्छ। म कहिलै पनि आफूलाई तेरो नजरबाट हेर्नै चाहिनँ। तेरा भनिएका कामका बारे मलाई वास्ता नै भएन। ती काम तेरा थिए, तैँले गर्नै पर्थ्यो।
बरु म जाँडले मातेर ढल्दा, तैँले सम्हालिस्। जुवामा पैसा मास्दा आफ्नो पेवा र पर्मले घर चलाइस्। तैँले तँ म बनेर पनि बाँचिस्। तँ छैनस्, यो यथार्थ हो।
नहुनुको यथार्थमा बाच्न बरु मलाई सजिलो होला तर जिन्दगीभर म भएर पनि नभए जस्तो गर्नेसँग दिनहरू काट्न कति गाह्रो भयो होला तँलाई! उति बेला तँलाई सघाएको भए आज तँ मलाई सघाउँदै हुन्थिस् होला है!
तँसँग बिताएका अन्तिम दिनहरू सम्झिँदा खुब रुन मन लाग्छ। धेरै बाँच्दिनँ भन्ने थाहा पाउना साथ मदुस र धनसारको चाबी मेरा हातमा राख्दिएकी थिइस्। भान्सामा के कहाँ छ भनेर सम्झाएकी थिइस्। त्यो समय आँसु लुकाउनभन्दा बढी आफूलाई आफैसँग लागेको लाज लुकाउन मुख छोपेको थिएँ मैले।
समाजका लागि म धेरै पढेको, व्यवहारिक ज्ञान भएको मास्टर थिएँ तर तेरो लागि त्यस हालतको कारण थिएँ। आफ्नै बुद्धिले गर्दा सबै गुमाउन लागेको रावण थिएँ। समाजवादका मोटा-मोटा पुस्तक पढाउँदै गर्दा आफ्नै घरमा जरो गाडेको पुरुषवादलाई हल्लाउन समेत नसक्ने थिए।
ती खेतका गरा बेचेर बेलैमा तँलाई अस्पताल किन लगिनँ भनेर आफूलाई सधैँ कोस्ने गर्छु। के थाहा थियो र तेरो पाठेघरमा उम्रेको घाउले हाम्रो घरलाई नै मार्छ भनेर। आमा नछुने हुँदा हाम्रा बा कहिल्यै उनको नजिक परेनन्। यही देखेर हुर्केको म, तँ महिनौं रगत बगेर पल्टिँदा सुमसुम्याउन समेत गइनँ।
निकै आत्तिएकी छु भन्दा नजिक गएर तँलाई हेर्न, नसकी-नसकी राता कपडा पखाल्दा 'भयो छोड् म गर्छु' भन्न मन नलागेको पनि होइन। माया गर्थेँ र चिन्ता पनि लाग्थ्यो तर त्योभन्दा बढी यो समाजले मलाई जोइटिङ्ग्रे भन्ला कि भन्ने डर लाग्थ्यो। सामाजिक परिधान र मेरो बौद्धिक कपासको अन्तर्द्वन्द्व हुँदा मैले सधैँ समाजको फेटा बाँधेँ।
आखिर यही समाजले त मलाई अहमको माला लगाई मेरा पोल्टोमा पर्ने काम र जिम्मेवारी थमाएर पुरुषबाट लोग्ने मान्छे बनाएको थियो। लोग्ने मान्छेलाई पीडा हुनु हुँदैन भन्नेहरूको सामु म आफ्नो दुःख कसरी पोख्न सक्थेँ र?
मनको घाउले दुःख अनुभव गर्नसम्म पनि नपाउँदै 'अब अर्की चाहिन्छ' भन्ने वैकल्पिक उपाय ल्याएका थिए इष्टमित्र। हिजो तँलाई भाउजू भन्नेहरू तेरो प्राण जानसाथ मेरा लागि लमी बनेर आएका थिए। मन त तँसँगै प्राण त्याग्ने थियो तर त्यहीँ शब्द मेरो उपनाम हुन्छ कि भन्ने डरले घाट पनि गइनँ।
धन्न मैले मेरा बाबाट जे सिकेँ, हाम्रो छोराले मबाट त्यो सिकेन काइँली। बिरलै आउँछन् छोरा बुहारी गाउँ। मलाई उतै जाउँ भन्छन्, म मान्दिनँ।
माया गर्न मात्र हैन, देखाउन पनि आउँछ उसलाई। बुहारीले तरकारी काट्दा उसले कराई बसाल्छ, पेट दुख्दा पानी तताएर लागिदिन्छ, नातिनीको कपाल कोरिदिन्छ, भाडा माझ्दा पखालिदिन्छ।
तँलाई हेप्ने ठूली भाउजूले बुहारीलाई एक शब्द पनि भन्न सक्दिनन् किनकी तिनलाई थाहा छ छोरोले जवाफ फर्काइदिन्छ भन्ने। ऊ कसैसँग डराउँदैन, बरु उसका कुरा सुनेर, व्यवहार देखेर गाउँका अराजकहरू डराउँछन्।
अझै पनि ग्लानि र पश्चतापले रातमा पोलिरहन्छ। तमाम वेदना हुँदा पनि एउटै सन्तुष्टिको सहाराले बाँच्न सकिरहेको छु काइँली। यही कि हाम्रो छोरालाई जोइटिङ्ग्रे उपनामदेखि डर लाग्दैन। उसलाई सही कुरा भन्न र श्रीमतीलाई सहयोग गर्न डर लाग्दैन।