नौ बजिसकेको छ। धेरै कामदारहरू छिटो-छिटो खाएर एकछिन भए पनि निदाउने तरखरमा छन्। कतिपयले नेपालतिर आफ्नो परिवारमा फोन प्रयास गरिरहेका छन्। लगातारको झरीले फोन लागिरहेको छैन।
कतिका आफ्ना, आफन्तहरू गाउँतिर छन्। सहर फर्किसकेकाहरू पनि कति त सुतिसके। अर्थात् नेपालमा रातको करिब बाह्र बजिसक्यो। फोन लागेकाहरू पनि कुरा गर्नुभन्दा आवाज सुनिएन मात्रै भनिरहेका छन्। यस मानेमा एक किसिमको होहल्ला छ ब्रेक रुममा।
खासगरी कम्पनीको नियमानुसार रातमा काम गर्ने कामदारहरूका लागि 'लन्च टाइम' हो यो। सामान्यका लागि त दिनको समय पनि टहल्यो। म पनि खाना खाईवरी आराम गर्दै टिकटक हेरिरहेको छु। मेरी प्रेमिका प्रिय नू'लाई फोन गर्नु त थियो तर उनी बसको लामो यात्रामा छिन्।
उनी भोलि बिहानै काठमाडौँ आइपुग्छिन्। बसपार्कबाट सिधैँ कलेज पुग्नुछ। कलेज सकेर भोलि नै काममा पनि जोइन हुनुछ। सप्तमीमा बिदा लिएर गएकी हुन्। बिदाका लिइएका वा दसैँका कारण काठमाडौँमा उनको काम प्रशस्तै बाँकी छ।
'कहाँ आइपुग्नु भयो? मेसेज गर्दै गर्नू, औषधि खानू है, लब यु छोरा।'
मैले प्रेमिका नू'लाई मेसेज लेखेँ। प्राय: सम्बोधनमा म छोरा भन्छु उनलाई। चकचके छिन्, केटा पनि भन्छु। व्यवहारका हिसाबले बाबा। मेरो बाबालाई बसको यात्रामा बान्ता आउँछ। त्यसैले उनी मोबाइल हेर्न रुचाउँदिनन्। बान्ताको औषधि खान पनि फेरि सम्झाइरहनु पर्छ, औषधि खान मान्दिनन्। प्रेममा प्रेमीले भनेको कामको ठिक उल्टो गर्नु पनि प्रेम बढवा गर्ने तत्व थपिनु रहेछ।
उसो त दसैँमा पनि उनी घरमा हुँदा धेरै कुराकानी भएन। एक, बुवाआमासँग हुने। दोस्रो, दसैँको भेटघाट आफन्तसँगै बित्ने। तेस्रो, सप्तमीमा हिँडेकी उनी नवमीको बेलुका मात्रै घर पुगेकी हुन्। लामो यात्राको थकान। बान्ताले कमजोर भएको शरीर। हिँड्ने दिनमै महिनावारी भएकी थिइन्। यस्तो बेला उनको ढाड बेस्सरी दुख्छ। कहिलेकाहीँ त रुन्छिन् तर के गर्नु परदेशीले आँखा जुधाएर भिडिओ कलमा टुलुटुलु हेर्नुसिवाय दोस्रो विकल्प छैन।
ब्रेक रुममा सबैजना आआफ्नै धुनमा छन्। केटालाई मेसेज लेखेर म पनि टिकटकतिर लागेँ। तर एकजना कामदार परको टेबलमा चियामा बिस्कुट चोबेर खाइरहेछन्। सायद पुरानो आदत हो क्यार! टाउकोमा रातो रङ्गको रुमाल बाँधेका छन्। कुनै बेला अल्लारे उमेरको सूचक थियो रातो रुमाल। कुनै बेला जनयुद्ध र क्रान्तिको सूचक पनि थियो रातो रुमाल।
उनले चियामा बिस्कुट चोबेर खाइरहेको मैले मात्र हैन, मेरो नजिकै रहेका एकजनाले पनि नियालिरहेका छन्। खाना खाने समयमा चिया! कस्तो आश्चर्यजस्तो लागेर केही त सोधूँ लागिरहेको छ तर उनी को हुन् थाहा छैन।
संयोग कस्तो भने मेरो मनमा गुज्रिरहेको प्रश्न कसैले सुने झैँ, मैले अह्राए झैँ मेरो छेवैका साथी जुरुक्क उठेर उनी सामु गएर प्रश्न गर्छन्। बिना सम्बोधन प्रश्न सोध्छन्। झट्ट हेर्दा त्यति चिनजानका हुन् जस्तो पनि लाग्दैन।
'खाना खाने हैन र? यस बेला पनि के चिया खाएको?'
'चिया पाइयो र?'
मलाई सम्बोधनबिना बोल्न थाल्नेहरूप्रति कुराकानी गर्न असहज त लाग्छ तर म बोल्न नखोज्नै चाहिँ हैन। त्यो उनीहरूको आदत हो। उनीहरू हुर्किएको एक संस्कार हो। सबै कुरा मैले सोचेजस्तो र खोजेजस्तो कहाँ पाउनु र! यहाँ आआफ्नो विचार छ। आआफ्नो संस्कार छ। आआफ्नै सरल होस् तथा जटिल समस्या पनि हरेकसँग छ। त्यसैले त भनिन्छ- 'एभ्री ह्युमन ह्याज स्टोरी।'
अनौठो त उनीहरू दुवै जना जुरुक्क उठेर मेरो नजिक आए। प्रश्नको उत्तर नदिई उनीहरू दुवै जना उठेर आएका हुन्। खासमा तिनीहरूलाई नियालिरहेको हुँ मैले, बोलाएको हैन। किन मतिर आए? थाहा छैन। फेरि आउन् न कसैलाई स्वागत गर्न पाउनु पनि ठूलै कुरा हो किन इन्कार गर्नु र! तर दुवै जना सल्लाह गरे जसरी कुनै अनुमति नलिई बस्छन्। दुई जना बस्ने खाली कुर्सी पनि थियो। मेरो छेउमा सहजै बसे।
बिस्कुट पकेटमा छ सायद। चियाको गिलास हातमा लिएर आएको ऊ कसैलाई केही सम्बोधन नगरी बोल्न थाल्यो।
'बस्नोस् यार यहीँ। नफुकाउनु फुकाएपछि यो दाइको सामु फुकाऊँ मनका व्यथाहरू। फेसबुकमा 'ब्रेक रुम'को कुरा लेखिरहन्छन्। म उनको फ्यान हुँ। अँ, मलाई थाहा छ तपाईं दुवै जना हाम्रो सिफ्टको लन्च टाइम अर्थात् डिनर टाइममा पनि चिया बिस्कुट खाइरहेको देखेर।
बिरामी, व्रत वा अन्य कारण जान्न चाहनु भयो भएन थाहा छैन तर मेरो अनुहारको मुद्राले केही कुरामा दुखी छ भन्ने प्रस्ट्याएको होला। आफन्त वा खलकमा कसैको निधन भएर नुन बार्नका लागि यसो गरेको पनि हैन है।'
उनले रुमाल फुकाउँदै खल्तीबाट ससाना तारहरू निकाल्दै बोलिरहेका थिए। मैले बीचैमा सोधेँ, 'मेरै फ्यान त हुनुहुँदो रहेछ तपाईं तर यी तारहरू चाहिँ केका लागि हो नि? कि ग्रिनेट पनि बनाउनु हुन्छ विदेशतिर?'
म पनि बिना सम्बोधन बोलेँ- 'बुढाहरूको देशमा तन्नेरी नदेखिनू भनेझैँ वातावरणअनुसार ढल्नु र चल्नपर्छ। आफू वरपर र वर्तमान समयमा चलिरहेका हर कुरालाई स्विकार्नुपर्छ भन्छु म चाहिँ।'
मेरो प्रश्न सुनेको नसुन्यै गरे। वालेट निकाले। पासपोर्ट साइजको केटीको फोटो आफूतिर फर्काए। आइडी कार्ड र एटिएम कार्डको बीचमा थियो। 'बाग बजार' लेखिएको खोलमा भएको पासपोर्ट साइजको फोटो निकालेका हुन्। हेरे र बोलिरहे।
'यो बिस्कुट मेरो गर्लफ्रेन्डलाई मनपर्ने बिस्कुट हो। हामी घुम्न जाँदा खाजामा जहिल्यै यही बिस्कुट खाऔँ भन्थिन्। यात्रामा म त्यति बिस्कुट चिया वा खानपिन गर्ने बानीको थिइनँ। तर उनले बानी पारिदिइन्। यतिसम्म कि परदेश लाग्दा झोलामा दुई दर्जन बिस्कुट हालिदिएकी थिइन्।
उनी दसैँमा घर गएकी थिइन्। सहर त फर्किइन् तर मेरो जीवनमा कहिल्यै नफर्किने गरी। मेरो जीवनबाट उनी सदाका लागि गाउँ गइन्। यार, सहरमा हुर्केको फुलेको माया दसैँमा गाउँघर जाँदा मर्दो रहेछ। यो दसैँ पनि कति प्रेमीहरूका लागि शत्रु रहेछ।'
उनी कुनै जँडियाले भट्टीमा रक्सी पिउँदै प्रेमिकासँग बितेका पलहरू सम्झँदै टेबलमा हात बजारेजस्तै नशामा पोखिएसरि धित मर्ने गरी हात बजारिरहेका छन्। दायाँबायाँ खाना खाएर एकछिन आराम गरेकाहरू ब्युँझेर हेरिरहेका छन्।
मलाई अलिकति असहज लाग्यो र भनेँ, 'अलिक विस्तारै बोल्नु न, नरम भएर बोल्नु न।'
यसपालि पनि उनले मेरो कुरा सुनेको नसुनेको कुनै प्रतिक्रिया दिएनन् बरु एकनास बोलिरहे।
'धेरैले दसैँको छेक पारेर पशुपति परिसरको मायालाई दसैँमा गाउँ लगेर दागबत्ती दिँदा रहेछन्। त्यसपछि मङ्सिर मङ्सिरजस्तो नभएर धेरैको हत्या, आत्महत्या, बौलाहा, पागलपनको कारण बन्छ। तर म अरूजस्तो केही गर्दिनँ यार, नडराउनोस्। बस् उनलाई मन पराउँछु। म आफै मरेँ भने, म आफै पागल भएँ भने उनलाई कसले माया गर्छ यार? हा हा.. हेर्नु न दाइ, उनले मलाई छोड्नु र मेरो खाजाका लागि उनी आफैले किनिदिएको बिस्कुट सकिनु कस्तो संयोग, एकैचोटि। यो हो दाइ प्रेम त।'
उनको सामुन्ने छु। मतिर धूलो उडाउँदै खल्ती टकटकाए। एकनास बोलिरहेका छन्।
'तर अचम्म, एकजना साथीसँग रहेछ उस्तै बिस्कुट। सापटी गरेर खाइहरेछु। थाहा छ दाइ, उनी पनि अब कसैसँग हुनेछिन् तर के गर्नु गर्लफ्रेन्डलाई बिस्कुट जसरी सापटी गरेर खान नमिल्ने होला! सापटी भने पनि जे भने पनि अब याद मात्रै बाँकी रहिदियो। उनलाई मनपर्ने बिस्कुट चियामा चोबेर खाने बानीले उनीसँगको समीपता, पल सम्झी बाँच्ने बानी पारिरहेछु दाइ।
'किसीका अन्दर ज्यादा डुबोगे तो टुट्ना परेगा। एकिन नै हो रहे हो तो चायमा डुबे बिस्कुट देखिए।' यो भाइ मैले कुनै रियालिटी शोमा सुनेको हो। चियामा बिस्कुट डुबाएपछि एकै छिन ढिला गरे गिलासमै छुट्छ बिस्कुट। समय मै निकालिए खान मज्जा। म प्रेममा डुबेँ, टुटेँ तर...'
मलाई अचम्म लाग्यो। नजानिँदो गरी हामी धेरैको निगरानी हुने रहेछौँ। हामीलाई कसले कसरी हेरिराछ थाहै नहुने। हाम्रा क्रियाकलाप कसैले मजाले नियाली रहेका हुँदा रहेछन्। मैले ब्रेक रुमका कुरा लेखिरहने कुरा ब्रेक रुममै सुनेर दङ्ग परेँ। खुसी पनि भएँ। उनी किन अड्किए कुन्नि त्यो खाली समयमा मैले पनि केही थपेँ।
'वर्षभरि पढाइ, काम, खर्च, करिअरका अनेक दौडधूप हुन्छ। दसैँको छेक पारेर घर जाँदा गाउँमा धेरै परिवारहरू जम्मा भएका हुन्छन्। परदेशबाट फर्किएका हुन्छन्। दसैँमा बिहे गरेर परदेशसँगै जाने सपना लिएर पनि आउँछन् कति त।
बा-आमा, आफन्तले पनि सहर बसेका, बढेका छोराछोरीका लागि विवाहबारे सोच्छन्, कुरा राख्छन्। टीका लगाउने निहुँमा बाआमाकहाँ कुरा लिएर पनि आउँछन्। अर्को विदेशबाट फर्किएका र सहरबाट फर्किएकाहरू टीका लगाउने, भेटघाट गर्ने पिङ, पँधेरा, चौबाटोमा भेटघाट हुन्छ। चिना परिचय गर्छन् र सम्बन्ध नवीकरण गर्छन्। त्यति मात्र हैन, उड्छन् पनि।'
म बोल्दै थिएँ उनले मेरो कुरालाई के कति ध्यान दिए कुन्नि तर बीचैमा काटेँ।
'सुन्नु न दाइ, अब बाँकी के रह्यो र बाँडेर खाम् बिस्कुट, हिजो पो लोभ गरियो।'
मनमनै सोचेँ, 'बाँकी केही नरहेपछि बाँडेर खाइँदो रहेछ कि क्या हो प्रेमका यादहरू? त्यसैले त भट्टीमा बाँडिरहन्छन्।' उनीहरूलाई चाहिँ केही भनिनँ।
बोल्दै छन्, 'सात महिना बाँकी थियो दाइ। भिसा सकिन्छ र घर फर्किने भनेको। उनीसँग पहिलो त भेट्ने र नजिक कतै घुम्न जाने। त्यसपछि उनले भने झैँ उनको घर माग्न जाने, बिहे गर्ने, काठमाडौँमै बस्ने स-सानो काम गर्ने र सँगै जिउने सपना थियो। बीचमा एकजना इन्जिनियरले माग्न जाँदै छ भन्ने कुरा त सुनाइरहन्थिन्। त्यो कुरापछि उनीमा अलिकति फरक त पाएको थिएँ।
त्यो फरक बढ्दै गएको अवश्य हो। यसपालि दसैँमा घर जाँदा जान्छु पनि भनिनन्। दसैँको भोलिपल्ट पो 'म घरमा छु, फोन नगर्नु। मङ्सिरमा बिहे गर्दैछु। म मेरो लयमा हुनेछु। कल मेसेज नगर्नु। मलाई डिस्टर्ब नगर्नू। तपाईंको जीवन सुखद् रहोस्, अब हामीबीच कुनै त्यस्तो लेनदेन केही छैन। तपाईंसँग नजिक हुँदा जे जति भए माफी दिनू।
यार दाइ, हिजो हाम्रो प्रेम सम्बन्ध अरूको भन्दा फरक छ भन्नेले जाबो एउटा केटोले माग्न गयो भन्दैमा सम्बन्ध भन्न पनि डराएर 'नजिक हुँदा' रे यस्तो पनि हुने रहेछ। क्या सजिलो है दाइ, फेसबुकमा ब्लक छु। नम्बरबाटको मेसेज थियो। कति कल गरेँ स्विच अफ छ।
मैले नयाँ आइडी बनाएर हेरेँ। दसैँको दिन इन्गेजमेन्ट रहेछ। सम्हाल्न त गाह्रो हुन्छ। तर के गर्नु दाइ, फेरि मलाई उनको बदलिँदो बोलचालले संज्ञा दिइसकेको पनि थियो। त्यसैले म पहिल्यैदेखि तयार थिएँ 'एकदिन छुट्छौँ' भन्नेमा। सँगै हुँदा नै सोचिसकेको थिएँ दाइ, उनीबिना कसरी बाँच्ने भनेर।'
***
उनी बोलिरहेका थिएँ। कामबाट फोन आयो र म झट्ट उठिहालेँ। अझै सुन्न मन थियो उनको कुरा। जीवनमा अर्थोक गर्न सकुँ या ना तर कसैले सुनाउन चाहन्छ भने सुनिदिन सकूँ। तर, ब्रेक रुममा यस्तै हो कुरा सक्न नपाउँदै उठेर हिँड्नु पर्छ। उनी बडो हतासले कुराको फड्को मारेर बताइरहेका थिए। जसरी उनी सम्बन्धमा सतर्क थिए, ब्रेक रुमको समयसँग पनि सतर्क थिए क्यार।
यता मेरो मोबाइलमा भने प्रिय प्रेमिका नू'को मेसेज आयो।
'म मुग्लिङ नजिकै छु। खाना खान केही बेर यहीँ रोक्ने अरे। म सुत्छु। तपाईंले ख्याल राख्नु है। म बिहान कलेज पुग्छु। काममा जान्छु र कोठामा आएपछि कल गरौँला। गाडीमा छु, कति मिस गरिरहेछु 'पण्डू'लाई। मुहा बेबी।'
उनको भोइस मेसेज सुन्दै दसैँलाई बिदा गरेँ।
साँच्चै, दसैँमा नजानिँदो धेरै सम्बन्धहरूले बिदा लिँदा रहेछन्। दसैँमा घर जानुअघि हामीले पनि बिहेका कुरा गरेका थियौँ। कस्तो कता-कता मन चिसो भएको।
चकचके पारामा जिस्किँदै भन्दै थिइन्- 'चाँडो आउनु है मलाई उडाउलान् फेरि। मेरो साथीको यता कलेजकै साथीसँग प्रेम थियो। तीजपछि अस्ट्रेलियाबाट केटा आएर बिहे गरे। केटा उडिसक्यो, साथीलाई तिहारपछि लाने तयारी हुँदैछ।'
एकदिन उनले भिडिओ कलमा भनेको कुरा सम्झिँदै ब्रेक रुमबाट निस्किएँ।
'कहिलेकाहीँ प्रेमलाई निर्धारित मनोविज्ञानले जित्छ।'