जनावर
चराचुरूङ्गी
जलचर
सबै प्राणीलाई मानिसले
सजिलोसँग बाँच्न दिएनन् दिएनन्
अब हेर्दाहेर्दै
मानिसले मानिसलाई नै
शान्तिपूर्वक सजिलै
बाँच्न दिइरहेका छैनन्
आन्नदले खुसी मानी
हाँस्न दिइरहेका छैनन्
के साँच्चै कलियुग आएको हो?
यस्तो लाग्छ अब त
पहिलेको त्यस्तो
ज्ञानी, गुनी, तपस्वी, विवेकी
सत्य, धार्मिक, सहिष्णु र धैर्यशील
असल मानवका
अहिलेको सन्ततिमा
सहयोग गर्ने, भलो गर्ने
दया गर्ने, माया गर्ने
ती सारा सद्गुणहरू
सबै सबै हराउँदै गइरहेछ
के साँच्चै कलियुग आएको हो?
यस्तो पनि देख्न थालियो कि
अबका मानिस त
अरूलाई दबाउन खोज्छन्
अरुलाई फसाउन खोज्छन्
जे गरी पनि, जसरी पनि
गलत बाटोबाट कमाउन खोज्छन्
धर्म परिवर्तन गराउन खोज्छन्
राजनीतिको वशमा पार्न खोज्छन्
अरुलाई दु:ख दिएर
सास्ती दिएर
सताउन खोज्छन्
के साँच्चै कलियुग आएको हो?
यहाँ मानिस
आफ्नो स्वार्थको लागि
इमान बेचिदिन्छन्
विश्वासघात गरिदिन्छन्
पैसाको निम्ति
यतिसम्म दानव भइदिन्छन कि
एकचोटि पाएको जीवनमा
अरूको हत्याहिंसा जस्तो
पाप पनि गरिदिन्छन
के साँच्चै कलियुग आएको हो?