उमेर ढलेपछि
ज्यान गलेपछि
तेल भिसामा बोलायौ
हामी सकुशल बा-आमालाई
ह्विलचेयरमा हालेर
टर्मिनल-टर्मिनल
गेट-गेट कुदाउने
चाँजोपाँजो मिलायौ
दुई तले हावाजहाज चढायौ
पुरानो आइफोन
हामीलाई दिनू
तिमी आफू
रिसेन्ट भर्सन लिनू
तिम्रा पुराना
हुडि र ज्याकेटहरूमा
तिमीहरूको सुगन्ध
माया र न्यानोपन छन्
सधैँ आफैसँग राख्न मन छ
शिरमा क्यापटोपी
लगाएर समुन्द्र तटमा
फोटो खिची
बा इन द बिच भनि
फेसबुकमा हालिदिनू
छरछिमेकी आफन्तलाई
ईर्ष्या डाहाले ढालिदिनू
बुढी आमालाई
जिन्स टिसर्ट लगाएर
कक्रक्क ठिङ्ग्याउनू
ङिच्च हँसाएर
आमा इन हवाई भनि
स्टोरीमा चलाइदिनू
उसका माइती पट्टिकालाई पनि
ईर्ष्या डाहाले जलाइदिनू
अंग्रेजीका नाममा
माई नेम इज लिलानाथ
आई एम फ्रम नेपाल
त्यति जानेको बोल्यो
त्यही पनि बुझ्दैनन् सितर्नीहरू
तेरा भुराका
अंग्रेजी बुझ्ने त कुरै भएन
नेपाली नै बुझे मारिदिनु
बेलुकी टुच्च दुई पेग
लगाउने बानी परेको
आधा शताब्दी भो
तेरा देशमा त खै
न माईली छन् न भट्टी
चाँजोपाँजै मिलेन
न तैँले नै मिलाइस्
म तेरा रक्सीको दराजमा
आँखा लगाउँछु
तेरी जहान सात्तै जाने गरी
मलाई हेर्छे र भन्छे
'हजुरलाई बिपी र सुगर छ'
याकुल व्याकुल परिसकेँ
बानीले, म कसलाई भनुँ
तेरा धन, तेरा वैभव
तेरा घर, तेरा गाडी
जे जतिसुकै भए पनि
तँकहाँ तीन हप्ता
बस्नै महाभारत परिसक्यो
नाती-नातिनीको माया
मनभरि बोकेर
भोलि नै घर फर्किहाल्न मन छ
माया ममता जति भए पनि
खै किन किन
टिक्नै गाह्रो लाग्यो
तेरो यो संसारमा
उमेर ढलेपछि
ज्यान गलेपछि
तेरो यो तेल भिसा
मलाई जेल भिसा भो
रिटर्न टिकट भोलिलाई सारिदे
जीवन सजिलो पारिदे
मैले तँलाई
काँधमा चढाएँ
तैँले मलाई
हवाईजहाजै चढाइस्
मैले तँलाई
जात्रा र बजार घुमाएँ
तैँले मलाई
संसारै घुमाइस्
रिङग्नु रिङे
घुम्नु घुमे
भो यो तेल भिसा
मलाई जेल भिसा भो
उमेर ढलेपछि
ज्यान गलेपछि।