'अनि बाबु कहिले फर्किन्छौ?' घरबेटी अन्टीले सोध्नुभयो।
'तिहारपछि आइहाल्छु अन्टी।' बसपार्क पुग्ने हतार थियो मलाई। घरबेटी अन्टीसँग बिदा लिएर निस्किहालेँ।
बाटोमा मान्छेको भिड थियो। कोही मान्छे घर जानको लागि गाडी कुरिरहेका थिए भने कोही गाडी चढ्दै थिए। सबैजना हतारमै थिए।
७ बजेको बस थियो मेरो, साढे ६ बजे बसपार्क पुगेँ। बसपार्कमा नि उस्तै भिड! सबै मान्छेलाई आफ्नो गन्तव्यमा पुग्नु थियो। कोही मान्छेहरू टिकटमा बस नम्बर लेख्दै थिए भने कसैले घर जान अझै टिकट पाएका थिएनन्।
सहचालकले भने मान्छेहरू खोजिरहेका थिए। म आफू जाने बसतिर लाम्किएँ । बी साइडको ८ नम्बर मेरो सिट थियो। म तुरुन्तै गएर आफ्नो सिटमा बसिहालेँ र झ्यालबाट बाहिरको दृश्य हेर्न थालेँ। यत्तिकैमा अगाडिबाट आवाज आयो, 'एक्सक्युज मि!'
बोली सुन्नासाथ मेरो ध्यान अगाडि ढोकामा पुग्यो। रातो कुर्ता र निलो जिन्स पाइन्टमा उनी आइरहेकी थिइन्। उनको हातमा एउटा ठूलो झोला थियो। सकी नसकी त्यो झोला बल्लबल्ल बोकिरहेकी थिइन्।
'कुन सिट हो तपाईंको?,' खलासीले उनलाई सोध्यो।
'बी को ७,' उनले भनिन्।
खलासीले मतिर औँला देखाएर भन्यो, 'उ त्यहाँ गएर बस्नु।'
उनले 'हस्' भनिन् र मेरो सिटछेउ आइन्।
'७ नम्बर यही हो?,' उनले सोधिन्।
'हजुर हो।'
उनले त्यो ठूलो झोला र्याकमा राखेर सिटमा बसिन्। उनलाई एकैछिन हेरेको हेर्यै भएँ म।
'कहाँसम्म पुग्ने तपाईं,?' उनले सोधिन।
'बुटवलसम्म अनि तपाईं नि?'
'म भैरहवासम्म,' उनले भनिन्।
यत्तिकैमा उनलाई आफ्नो मम्मीको फोन आयो। उनले आफू बस चडेको बताइन्। बस हिँड्न लाग्यो। मेरो नजर भने उनीतिर नै थियो। मैले हेरिरहेको उनले ख्याल गरिरहेकी थिइन्।
'के गर्नु हुन्छ यता?' मैले सोधेँ।
उनले पढ्दै गरेको बताउँदै मेरो बारेमा सोधिन्।
म सिभिल इन्जिनियरिङ तेस्रो सेमेस्टरमा पढ्दै थिएँ। उनी व्यवस्थापन संकायको स्नातक प्रथम वर्षको विद्यार्थी रहेछिन्। कुराकानीकै क्रममा उनी सामाखुसी बस्ने पनि थाहा भयो। मैले आफू सातदोबाटो बस्ने बताएँ।
कलंकी पुग्दासम्म हामीबीच धेरै कुरा भएन। यस्तै यस्तै प्रश्न र उत्तरमै हाम्रो कुराहरू सीमित भयो। कलंकीबाट मान्छेहरू बसमा थपिए। बस भरियो। एसीवाला बस भए तापनि मान्छेहरूको भिडले गर्दा बसभित्र निकै गर्मी थियो। मैले बाहिरबाट दुई वटा चिसो फ्रुटी किनेँ।
'लिनुस् एउटा,' मैले भनेँ।
'खाने र?'
'खाने त हैन, पिउने हो,' मैले भनेँ।
उनले फ्रुटी समाइन् र एकैछिन मज्जाले हाँसिन्। उनले आफ्नो झोलाबाट एउटा चाउचाउ निकालिन् र म तिर देखाउँदै भनिन्, 'लिनुस् इन्जिनियर साब।'
मैले चाउचाउ थोरै निकालेँ।
'अनि साँच्ची तपाईंले आफ्नो नाम भन्नु भएन नि,' उनले मलाई भनिन्।
'ए है! यति बेर कुरा हुँदा नाम नै भन्न भुलेछु। मेरो नाम विवेक अर्याल। अनि तपाईंको?'
'म वर्षा घिमिरे,' उनले केही समझिएँ झैं भनिन्, 'मलाई तिमी भन्दा हुन्छ इन्जिनियर साब, तपाईं भन्नु पर्दैन।'
मेरो कुरा सबै सकिन लागेको थियो। मैले के कुरा निकाल्ने भनेर सोचिरहेको थिएँ। यत्तिकैमा उनले भनिन्, 'म झ्याल तिरको सिटमा बस्छु नि।'
मैले नाइँ भन्न नि मिलेन। बस न भन्दै आफ्नो सिट ऊसँग साटेँ।
फेरि हाम्रो कुराहरू सुरु हुन थाल्यो। बसमा प्रायः सबै मान्छेहरू निदाएका थिए। हामी भने कुरा गर्नमा व्यस्त थियौँ। जति जति रात बित्दै थियो मलाई उनी अनि उनका कुराहरू त्यति नै प्यारो लाग्दै थियो।
उनले आफ्नो फोटोहरू देखाउन थालिन्। उनले जुन जुन फोटो देखाउँथिन्, म हरेक फोटोहरूको वर्णन गर्थें। हामीलाई समय बितेको थाहा नै भएको थिएन। हामीहरू हाम्रो कुराहरूमै व्यस्त थियौं। राति अबेरसम्म कुरा गर्दागर्दै कति बेला निदाइएछ, थाहा नै भएन।
बिहान ४ बजे म बिउँझिएँ। मैले मेरो टाउको उनको काँधमा राखेर सुतेको रैछु। उनी पहिला नै उठिसकेकी रहेछिन्। म बिउँझेको थाहा पाइन्।
'सुत्नुस् सुत्नुस् इन्जिनियर साब, निद्रा पुगेको छैन होला,' उनले भनिन।
निद्रा पुगे पनि नपुगे पनि उनकै काँधमा आफ्नो टाउको राखेर सुत्न त मन थियो। तर उनको काँधमा सुत्ने हिम्मत भएन।
'निद्रा पुगिसक्यो मेरो त। बरु तिमीलाई पो गाह्रो पर्यो होला है मैले गर्दा?,' मैले भनेँ।
'के गाह्रो हुनु, केही गाह्रो भएन इन्जिनियर साब,' उनले सोझै भनिन्।
'कति बेला उठ्यौ तिमी? तिमीलाई पो निद्रा पुगेन होला है!'
'हैन हैन, मज्जाले पुग्यो,' उनले मुस्कुराउँदै भनिन्।
'इन्जिनियर साब भन्नुभन्दा नामले नै बोलाको भए राम्रो हुन्थ्यो।'
उनी यो कुरा सुनेर एकैछिन हाँसिन् र भन्न थालिन्, 'कहाँ आफूभन्दा ठूलो मान्छेलाई नामले बोलाउनु, इन्जिनियर साब भनेर बोलाको राम्रो सुनिन्छ।'
'इन्जिनियर साब भनेको राम्रो सुनिने भए त इन्जिनियर साब नै भने भो,' मैले नि हाँस्दै भनेँ।
'तर हजुर चाहिँ निकै रमाइलो मान्छे हुनुहुँदो रहेछ। मलाई त एकदम रमाइलो लाग्यो,' उनले भनिन्।
'किन त्यस्तो लाग्यो तिमीलाई? मलाई त आफू रमाइलो भएजस्तो लाग्दैन।'
'कारण त खै के भन्नु? रातभरि कुरा गरियो, हजुरको कुराहरू सुनेर रमाइलो लाग्यो। आफूलाई आफू त कहाँ रमाइलो लाग्छ र? बाहिरको मान्छेलाई कस्तो लाग्छ भन्नेमा भर पर्छ।'
'वाह! वाह! बेलाबेला त कडा कडा कुरा गर्छेउ त। आज त मेरो दिन एकदम राम्रो हुने भो।'
'किन? आज केही विशेष छ र?' उनी जान्न उत्सुक देखिइन्।
'जन्मेर २२ वर्षको भइयो, बल्ल पहिलो पटक आफ्नो तारिफ सुन्न पाइयो। योभन्दा विशेष त के चाहियो र?,' मैले नि भनिहालेँ।
बिहानको ७ बजेको थियो, एक घण्टामा बुटवल पुगिन्थ्यो। मेरो मन नरमाइलो हुँदै गएको थियो। रातभरि कुरा गर्दा समय बितेको थाहा नै थिएन तर बिहान भएपछि समय छिटो चलेजस्तो लगिरारह्यो।
अबको एक घण्टामा उनी र म छुट्टिँदै थियौं। यही कुराले गर्दा मन अँध्यारो भएको थियो। उनलाई कस्तो लागिरहेको थियो त्यो त थाहा भएन तर मलाई यो एक घण्टा निकै ढिलो चलुस अनि उनीसँग धेरै समय बिताउने रहर थियो।
'अब त समय ढिलो चले नि हुने नि है!' मैले उनलाई भनेँ।
उनले यो कुराको अर्थ बुझिसकेकी थिइन् तर पनि अबुझ जस्तो गरेर प्रश्न गरिन्, 'किन?'
'किनकी जति समय ढिलो चल्यो त्यति बढी तिमीसँग समय बिताउन पाइन्छ नि त,' मैले भने।
'त्यो त हो कि तर अब भने जस्तो त कहाँ हुन्छ र? समय आफ्नै गतिमा हिँड्छ र हामी समयअनुसार हिँड्ने हो। आफूले भनेको हुने भए त अहिलेसम्म के-के हुन्थ्यो के-के,' उनले मलाई सम्झाउन खोजेजस्तो गरिन्।
अलिअलि कुरा गर्दागर्दै बुटवल पुगियो। बुटवल पुगेपछि मेरो मुख मलिन भयो। उनको त्यो सुन्दर मुहार पनि बुटवल पुग्नासाथ मलिन भयो।
'बुटवल बसपार्क झर्ने आउनुस् है छिटो,' खलासीले चर्को स्वरमा भन्यो।
मेरो र उनको मुहार झन् मलिन भयो। मैले मेरो झोला निकाल्न थालेँ।
'ल अब राम्रोसँग जानु है त इन्जिनियर साब।'
'हस्, तिमी नि राम्रोसँग ख्याल गरेर जाऊ ल,' मैले भनेँ।
म मेरो झोला लिएर बसबाट ओर्लिएँ। मेरो दिमागमा वर्षा नै थिइन्।
'तपाईंको सामान डिक्कीमा पनि छ? छ भने आउनु है निकाल्न,' खलासीले सोध्यो।
यति मात्रै सामान भएको उसलाई बताएँ। खलासी दगुर्दै अरुको सामान निकाल्न डिक्की खोल्न गयो। म भने वर्षालाई सम्झेर टोलाइरहेको थिएँ। मनभित्र कुराहरू खेल्न थाले- 'अब वर्षासँग भेट होला कि नाई? कहिले भेट होला?'
यही कुराहरू मनभित्र खेलिरहेको थियो। म एक्कासी झस्किएँ। मैले वर्षाको न मोबाइल नम्बर मागेँ न त फेसबुक आइडी नै। रातभर र बिहानभरि त्यति कुरा हुँदा यही कुरा बिर्सेको रहेछु। मेरो मुटुको धड्कन बढ्न थाल्यो।
अब मोबाइल नम्बर माग्न नि कसरी जानु, के भन्लिन् उनले! यही कुरा दिमागमा खेल्दै गर्दा फेरि बसभित्र गएर उनको नम्बर माग्ने हिम्मत भएन।
एक रातमै वर्षा मेरो सबैभन्दा प्यारी मान्छे बनिसकेकी थिइन्। मेरो हरेक कुराहरू उनीसंग मिल्थ्यो, अनि उनको हरेक कुराहरू मसँग मिल्थ्यो। यसलाई संयोग भन्नु कि भाग्यको खेल? तर जे भए पनि मैले जिन्दगी बिताउन वर्षालाई नै रोजेको थिएँ। तर मसँग न त वर्षाको नम्बर थियो न फेसबुक आइडी नै। यही माग्न भुल्नु नै मेरो निकै ठूलो गल्ती लाग्यो।
सायद यही गल्तीको करण कहिले नि वर्षा र मेरो भेट हुँदैन होला। मनमा धेरै कुराहरू खेलाउँदै बाटोको छेउमा उभिरहेको थिएँ।
'इन्जिनियर साब, किन हो टोलाएर बस्नु भाछ त?' वर्षाको आवाज आयो।
उनलाई देख्नासाथ मेरो तनाब, चिन्ता सबै हरायो। मन निकै खुसी भयो।
उनले थपिन्, 'इन्जिनियर साबले आफ्नो नम्बर दिन भुल्नु भयो मलाई। त्यसैले म त लिन आएको। तपाईंको नम्बर राख्यो भने पछि घर बनाउने बेला काम लाग्छ कि भनेर।'
यति भनेर उनी मुस्कुराइन्। मैले पनि नम्बर दिन र लिन भुलेको झैं गरेँ। यही भन्दाभन्दै मोबाइल नम्बर र फेसबुक आइडी सटियो।
'यसरी कुराहरू भुल्न थाल्नु भो भने त पछि बुढी पाल्न गाह्रो हुन्छ त तपाईंलाई,' उनले हाँस्दै भनिन्।
'तिमीलाई त जसरी नि पाल्छु, चिन्ता नलिऊ,' मैले नि हाँस्दै जवाफ फर्काएँ।
'हेरौँला कसरी पाल्नु हुन्छ मलाई,' उनले थपिन्।
'हेरौँला' मैले पनि भनेँ।
'ओह दिदी, छिटो गाडीमा बस्नु, अब हिँड्न थाल्यो, टाइम छैन' भन्दै खलासीले अत्ताउन थाल्यो।
उनले जाने बेला फेरि 'राम्रोसँग जानु है इन्जिनियर साब' भनिन्। मैले उनलाई नि त्यही कुरा दोहोराएँ।
उनी 'बाई' भन्दै बस चढ्न दौडिन्। उनी बस चढ्नासाथ गाडी गुड्न थाल्यो। मैले त्यो बस हेरेर बाटोमा उभिरहेँ।