लम्किरहेथेँ बगैँचै बगैँचा
अथाह फूलहरू भेट्थेँ
मैले फूललाई होइन
मलाई फूलले बोलायो
ऊ त्यस्तो फूल थियो
जो कोपिलामा नै
चुँडिन बाध्य थियो
तर चुँडाल्नेको बल नपुगेर
ऊ आधा निमोठिएको थियो
त्यसैले ऊ बलजस्ती
फक्रिएको थियो
बगैँचाका अरु
फूलहरूमा जस्तो उसमा
पूर्ण मादकता थिएन
फुस्स फक्रिएको
फक्रिन अझै बल गरिरहेको
त्यो फूललाई
आँट दिन मन लाग्यो
भरोसा थमाउन खोजेँ
फूलले सहर्ष स्वीकार गर्यो
शिरमा राखेपछि
फक्रिएको फूलको महत्व बढ्छ भनेर
टपक्क शीरमा राखेँ
ऊ मख्ख थियो
म अझै गद्गद् भएँ
आफ्नै शिरको फूललाई
मुर्झाउन नपरोस् भनेर
न्यानो स्पर्ष दिएँ
लुटपुटियो काखैमा
बसुँला जस्तो गर्यो
मुटुमा टाँसेँ
हृदयमा बास्ना छर्यो
हर क्षण हर पल
सम्वादमा रमाएँ
उसको मिठो
आभाषमा हराएँ
म हाँस्थेँ
सँगै ऊ अठ्ठहाँस छर्थ्यो
म सुस्ताउँदा
उर्जा प्रवाह गर्थ्यो
म रुँदा
उसका आँखा भिज्थे।
कसेले मलाई सलाम गरे
ऊ मख्ख पर्थ्यो
पुलकित हुन्थ्यो
कोहीले कर्के नजर लगाउँदा
ऊ शब्दका
तलबार चलाउँथ्यो।
मेरो शिरको फूल हेरेर
त्यो फूलको मादकता देखेर
दुनियाँ ईर्ष्याले विषाक्त बन्थ्यो।
फूल मेरै शिरमा थियो
मैले संसार बोकेको छु जस्तो लाग्थ्यो
म अब कुनै हार
बोहोर्दिनँ भन्ने लाग्थ्यो।
त्यो फूल
इज्जतका साथ जतनले राखेँ
राख्दै थिएँ
एकाएक भुइँमा फुत्त खस्यो
म् झल्यास्स भएँ
मुटुका धडकन
मडारिन थाल्यो
त्यो फूल अलि पर सरेर भन्यो
अब पनि कति
तिम्रै शिरमा बस्ने?
मैले सोधेँ
के भयो तिमीलाई?
के मैले मन दिन सकिनँ?
कि इज्जत गर्न सकिनँ?
कि मैले सजाउन जानिनँ?
कि तिम्रो प्यास मेटिएन?
ऊ बोल्यो
खै तिमीले के दियौ र?
मैले पत्तै पाइनँ
तिम्रो शीरमा बसेको
प्रमाण के छ र?
तिम्रो स्पर्षको सम्झना
मेटियो होला।
मेले फरि सोधेँ
जिद्धी गरेँ
के साँच्चै मेरो शिरमा
तिमी थिएनौ र?
मेरो हृदयमा बसेर
धड्कन छामेको
मिथ्या हो र?
मैले वर्षौं इज्जतका साथ
तिम्रो बासनामा रमाएको
ख्यालख्याल थियो र?
उसले सपाट जवाफ दियो
तिमी जतिसुकै भन
जतिसुकै चिच्याऊ
जतिसुकै जिद्धी गर
तिम्रा सब वाइयात बात
सुन्ने मलाई फुर्सद कहाँ छ र?
छोड तिमी आफ्नो बाटो हिँड
तिमी एक माली त थियौ
फूलको स्याहार गर्दैमा
सबै फूल कहाँ आफ्ना हुन्छन् र?
म अवाक भएँ
मुर्छित भएँ
मुर्झाउन नदिएको फूलले
म स्वयमलाई मुर्झायो
त्यसैले लाग्छ
आफूले रोजेको फूलले मात्र होइन
आफूलाई रोजेको फूलले पनि
धोका दिन सक्छ।