यात्रामा कैयौँ पटक लडेपछि
आजकल घाउचोट दुखिरहन्छ
जसरी दुख्छ अचानोलाई
जसै खुकुरीले चुटिरहन्छ
एउटा गल्ली पक्रेर
हिँड्दाहिँड्दै सपना हराउँछ
टुटेका भाँडामा पैताला ठोकिन्छ
वर्गेल्ती कुकुरहरूका क्रन्दन कानमा ठोकिन्छ
पुराना ट्रकको कालो धुवाँमा श्वास रोकिन्छ
निसासिन्छु, मन मनभित्रै रोकिन्छ
कालो बादल र चटयाङबीच
अनायस म गन्त्यविहीन हुन्छु
अत्यासलाग्दा गोरेटो, गल्ली र सडक
कति नापिसकेछु
सम्झिँदा पनि कहालिन्छु
मस्तिष्कका कोष कोषमा पीडा उम्लिन्छ, छड्किन्छ
म आँखा चिम्लन्छु
उज्यालोमा खुसी
खुसीमा प्रेम
प्रेममा सद्भाव
टम्म भरिएको सानो संसार खुल्छ
आँकुरै आँकुरा अंकुराउँछ
कोपिलै कोपिला मुस्कुराउँछ
झुसिलकिराबाट प्युपा र पुतली बनेजस्तो
पालुवाले सपक्क बेरिएर सपना चलमलाउँछ
आँखा खोल्छु, सबै हराउँछ
उराठलाग्दो एक तमासको दिन
जेनेरेटरको आवाज झैँ दौडिरहन्छ
म अलमलिन्छु, छटपटिन्छु
दोधार हुन्छ
एउटा अर्को गल्ली समातेर म हिँडुँ
चसक्क चसक्क घोच्ने नजरहरूले
परैबाट निसाना हान्छन्
मानिसहरू जोड जोडले हिँड्छन्
हावाको झोक्काहरूले पनि घच्चक हान्छन्
मानौं ओइलिएको लसुनको पातले झैँ
म भुँइ टेक्दैछु
तर म निश्चित छु
म र म भित्रको संसार अभेद्य छ
मैले जोगाइराखेको
म भित्रको संसार नहुँदो हो त
म हुनुको अर्थ के?
त्यसैले त म
जोगाउँछु, जगाउँछु र जगमगाउँछु
म भित्रको संसार।