इतिहासमा ती सबै प्रेमहरू अमर भए जो स्वयम वियोगान्त रहे। जस्तो कि रोमियो-जुलियट, लैला-मजनु, मुना-मदन, अनेकौं अनेक कथा कहानीहरू।
के प्रेम अमर हुन दु:खान्त वियोग नै झेल्नुपर्छ र? के तिमी र म बीचको प्रेमले पनि यहीं वियोगको भागीदार हुनुपर्ने हो र? के आज हामी जुन संघारमा उभिएका छौं यसले पूनर्मिलनको सुखद पल भोग्न सक्दैन र?
यस्ता अनेकौं प्रश्नहरूको जुलुस बोकेर म हिँडिरहेको छु गाउँ, सहर र गल्लीहरूमा। मलाई थाहा छैन यी प्रश्नहरूको उत्तर पाउँछु या पाउँदिनँ। म हिँडिरहेछु, एक्लो अनि निरन्तर, मान्छेहरूको भिडमा।
हाम्रो प्रेमको संयोग पनि कम अनौठो घटना थिएन। जस्तो कि मैले यस्ता अनेकौं क्षणहरू बेहोरेको छु जुन तिमीसँगको भेट थियो। तर अनेकौं संगत सरह तिम्रो र मेरो भेट हुन सकेन र त्यो भेट विस्तारै आदतमा बदलियो। म तिम्रो प्रेमको पासोमा त्यो बेला परिसकेको रहेछु कि जतिबेला मलाई प्रेम के हो भन्ने नै थाहा थिएन।
तिम्रो संगत, तिमीसँगको भेट, तिम्रो साथ जब मलाई आदत बन्न थाल्यो र त्यसको घनघोर नशामा डुबिसकेको थिएँ तर तिमीले मलाई त्यहीं नशामा छाडेर अलपत्र पारिदिइसकेछौ। म अब कहाँ गएर यो नशा उतारुँ, कहाँ पुगरे समाप्त गरुँ यो छटपटी, कहाँ लगेर सदगत गरुँ ती यादहरूलाई?
अँ! तिमीमा जुन चिन्तन र गुणहरू थिए, त्यसकै आधारमा तिमीलाई मैले 'सकम्बरी' नाम दिएको थिएँ। किनकी पारिजातले 'शिरीषको फूल' उपन्यासमा सकम्बरी पात्रको जस्तो चित्रण गरेकी थिइन् लगभग मैले तिमीलाई त्यहीं आवरणमा देखेको थिएँ। तर आवरणमा मात्रै हैन, आचरण र व्यवहारमा समेत तिमी सकम्बरी सरह भयौ- कोमल तर निष्ठुर!
मलाई के थाहा कि जसरी सुयोगवीर उनै सकम्बरीको वियोगमा अन्तत: 'यो संसार महादु:ख हो....' भन्दै चिच्याउँदै हिँड्नुपर्ने हालतमा पुगेर समाप्त हुन्छ, तिमीले मलाई पनि त्यहीँ हालतमा पुर्याएर छाडिदिनेछौ भनेर!
भलै म सुयोगवीर जस्तो युद्ध अपराधी होइन तर पनि कोमल हृदयको जलन भागीदार लगभग उस्तै होलान्। किनकी आज मलाई पनि सुयोगवीर जस्तै चिच्याउँदै हिँड्न मन लागेको छ, कहिल्यै नमेटिने मनको दागलाई चिथोर्न मन लागेको छ अनि कहिल्यै समाप्त नहुने छटपटीलाई पखाल्न मन लागेको छ।
माया मेरा लागि बिहान उदाएर बेलुका अस्ताउने घामजस्तै भयो। यो माया जतिबेला चाहिँदैन त्यतिबेला सुरुआत हुँदोरहेछ र जतिबेला बढी आवश्यक हुन्छ त्यतिबेला नै अन्त्य हुँदोरहेछ।
तिमी मेरो लागि बेमौसमी फूलजस्तै भयौं।
म सोच्ने गर्छु कोही सँगै भएर पनि आफ्नो कहिले हुन सकेनन्, तिमी मसँग कहिले भएनौ, हुँदैनौ पनि होला तर तिमी आफ्नै जस्तो लाग्छ। म तिमीलाई आजकाल आवश्यकताभन्दा बढी सम्झिन थालेको छु। म चाहान्छु तिमीप्रतिको मेरो प्रेम मात्र मभित्र रहोस्, तिमीसँग कहिले नपुगोस्।
मलाई थाहा छ हाम्रो सम्बन्ध भाडाको घरजस्तै हो, जति सजाए पनि आफ्नो कहिले हुँदैन। तर मनको शान्ति र आत्मीयता सधैं भइरहनेछ।
खास भन्नुपर्दा म तिमीलाई कहिले भेट्न चाहँदिनँ। नदेखेरै नभेटेरै मायाको आभास मात्र गर्न चाहान्छु। आशा गरेका र भरोसा गरेका मान्छेहरूले घात गरेपछि सायद सबैलाई यस्तै अनुभूति हुन्छ होला। प्रेममा सबैले सफलता पाउँछन् भन्ने मात्र छैन तर अनुभव सबैले फरकफरक पाउँदा रहेछन्।
जिन्दगी एउटा विश्व विद्यालय जस्तो रहेछ अनि हामी विद्यार्थी हौं। दुःख, पीडा, अभाव भनेका अनिवार्य विषय हुन र माया ऐच्छिक विषय।
हामी यसलाई कसरी अध्ययन गर्ने प्रथम हुने पास मात्र हुने अथवा फेल पनि हुनसक्छौँ। अनिवार्य विषयमा तिमी चिट चोरेर भए पनि पास हौ फरक नपर्ला तर ऐच्छिक विषयमा चिट चोर्न थाल्यौं अथवा अरुको कापी हेरर पास भयौं भने त्यो जीवन कहिले सार्थक हुँदैन।
आजकल म प्रेमको अनेकौं आयामहरू खोतल्न लागेको छु। त्यहीँ क्रममा मेरो भेट भयो 'सुम्निमा'सँग। हुन त म जोसुकैसँग भेटुँ अब त्यो तिम्रो आपत्तिको विषय रहने सायद तर पनि यति प्रष्ट पारिहाल्छु कि त्यो सुम्निमासँगको भेट विश्वेश्वरप्रसाद कोइरालाका शब्दहरूमार्फत भयो। तर त्यो भेटले मलाई अर्को ढाडस र छटपटीको दोसाँधमा छाडेर गइन् सुम्निमाले समेत।
मान्छेका आकांक्षा र कुण्ठा बीचको अन्तरविरोधबाट उत्पन्न हुने अर्को खिल गढेर गइन् सुम्निमा। छुट्टाछुट्टै गृहस्थीमा भए पनि बाहुन पुरुष सोमदत्त र जनजाति महिला सुम्निमाले जीवनपर्यन्त एकअर्कासँग प्रेम अनुभूत गरिरहे तर उनीहरू एक हुन सकेनन्। त्यसरी नै पुलोमा पनि जो सामाजिक हिसाबले त सोमदत्तकी पत्नी थिइन् तर आत्मिक हिसाबले भने भिल्ल केटामा समर्पित भैसकेकी थिइन्।
यो उपन्यासमार्फत मैले जब सुम्निमा-सोमदत्त र पुलोमा-भिल्ल बीचको सम्बन्ध, माया प्रेम र समर्पणको गहिरो तलाउमा प्रवेश गरें तब म अर्को सोचले रन्थनिएर तिमीलाई सम्झिरहेको छु माया। भलै सुम्निमामार्फत लेखकले प्रेमको अर्को संसार विचरण गरेका छन् र हामीलाई भनिदिएका छन् कि प्रेम भनेको सामाजिक मूल्यहरूभन्दा माथिको चिज हो।
के आजको समाजले कोरेको तथाकथित सामाजिक दायराको परिधिमा हामी बीचको प्रेम समेत अटाउन सक्छ? म यस्तै यस्तै प्रश्नहरू मनभरि बोकेर तिमीलाई सम्झेर हिँडिरहेछु गाउँ, सहर र गल्लीहरूमा निरन्तर...।