कविता
लहलह झुलेका सुनौला
धानका बाला
शीतल हावाले
हल्लाउँदै
अँध्यारो, साँघुरो कोठाको कुनो
झलमल्ल पार्दै
गगनचुम्बी पहेंला जमराले
पृथ्वी उधिन्दै
अनि हत्केलामा राखेका
अंगुरको लटरम्म झुप्पोबाट
एक दुई गन्दै
सेतो सर्ट र नीलो पेन्टसँगै
आउँथ्यो ऊ।
इन्द्रेणी आवाजमा
मुस्कान सुनाउँदै
शीतल बासना छर्दै
हजुरआमाको
कान्ति कमक्क फैलाउँदै
सुभाषित संगीतले
घर अनि घरभन्दा
धेरै परसम्म
न्यानो आस्था र अगाध मायाको
मखमली फूल फुलाउँदै
आँगन चम्काउँथ्यो
ऊ।
सिमलीको बुटोलाई
पहेंलेको लहराले
छपक्क छोपेजस्तै
माया र सद्भावका तरंगले
हर्सोल्लास फैलाउँदै
हजुरआमाका
आशीर्वाद पिङका फन्कोहरूको
नयाँ नयाँ सपनाका लुगा
लगाइदिन्थ्यो ऊ।
आशीर्वाद वर्षाहरूले
कलम गरेको आँपको
सानो हाँगो
बगानभन्दा धेरै पर
लटरम्म
शुभकामना सन्देशले
भरिएका आशिष
मनभरि पछ्याउँदै फकाउँदै
किञ्चित रोमाञ्चित उमंग बाँच्दै
आकाशतिर फर्केर
चन्द्रमा रगंहरूमा
सुनाइरहेको छु
हजुरआमालाई नै
अनेकन मगंल धुनहरू
दसैंका।