छोरी महिमा सात वर्ष मात्र लागेकी थिइन्। समयले दिएका चोट विस्तारै निको हुँदै थिए, जिन्दगीले पुन: लय समात्न खोज्दै थियो तर भाग्यले फेरि अर्को निर्मम प्रहार गर्यो र अकस्मात् जिन्दगीको बाटो बदलियो।
यससँगै एउटी अबोध बालिकाको ममतामयी काख खोसियो र एउटी लाचार आमा मातृत्वका असैह्य पीडा सहेर बाँच्न बाध्य भइन्।
छोरी मस्त निन्द्रामा थिइन्, उनलाई निन्द्रैमा छोडेर मालती सात समुन्द्रपारि जाँदै थिइन्। अन्तिमपटक छातीमा टाँसेर वात्सल्यमय स्पर्श लिने उत्कट अभिलाशा थियो तर ब्युँझेर बाटो छेक्लिन् भन्ने डरले त्यो पूरा हुन पाएन। बोझिलो मन लिएर बाटो लाग्न खोज्दै थिइन्, त्यहीबेला आमासँग आँखा जुधे।
आमाका जलमग्न आँखामा हेरिरहन सकिनन् र नजर हटाएर आँसु पुछिन्, त्यहीबेला अवरूद्ध अवाजमा आमाले भन्नुभयो-
‘छोरी र ज्वाइँको चिन्ता नगरीकन जाऊ है नानी ... ढुक्क भएर काम गर .., ..... के गर्नु पैसा नभई बाँच्न पाइँदो रहेन छ त!’
हिउँदको कठ्याङ्ग्रिएको दिन थियो, बाक्लो कुहिरोसँगै सिमसिम पानी पनि पर्दै थियो। उनी हिँड्दै जान्थिन्, पाइलै पिच्छे छोरीको मायालु अनुहार आँखामा आउथ्यो, उनको बाटो छेक्न खोज्थ्यो तै पनि उनी धैर्यताका साथ अघि बढ्दै थिइन् तर कसैगरी मन थामिँदैनथ्यो र उनी असीम वेदनाले मनमनै छोरीलाई भन्दै थिइन्।
‘तिम्रो आँसुले कतै बाटो दिँदैनथ्यो, त्यही भएर निन्द्रैमा छोडेर हिँडे छोरी! .. के गर्नु भाग्य बदल्न सकिँदो रहेनछ!’
घर नजिकैको चोकमा पुगिन् र ट्याक्सी चढिन्। ट्याक्सी अगाडि बढ्दै गयो, उनले घरतर्फ फर्केर हेरिन्। हुर्केको त्यो आँगन एकैछिनमा ओझेल पर्यो र ओसिला आँखाहरू तुषाराले नांगिएका काइँयोका रूखहरूमा ठोक्किन थाले, ट्याक्सी तीव्र गतिमा अगाडि बढ्दै गयो र ती सौन्दर्यविहीन रूख पछाडि छुट्दै गए , उनले एउटा लामो सुस्केरा हालिन् र मनमनै भनिन्-
‘आखिर यसरी नै झर्दै जानु त रहेछ नि मान्छेका जीवन पनि!’
दिमाग शिथिल थियो र चेतना धमिलो! जाने निश्चित ठाउँ र फर्कने स्पष्ट बाटोको कुनै टुङ्गो थिएन! चरम अन्यौलता साथ उनी काठमाडौं एयरपोर्टमा पुगिन् र इत्तिहाद एयरको जहाजमा चढिन्।
मनमा तर्कनाका आँधिबेहरी चलिरहेका थिए। फेरि माधवको लाचार अनुहार मानसपटलमा आयो र पीडाको सागरमा चुर्लुम्म डुबायो र त्यसैको गहिराइबाट उनले मनमनै भनिन्-
‘मैले त खुलेर बाँच्नै पाइनँ, पाइनँ तर तिमीलाई म मर्न दिन्नँ माधव! म मरेरै गएछु भने पनि तिमीले छोरीलाई उज्यालो भविश्य दिनुपर्छ!’
बिहानैदेखि रूझेका आँखा ओभाएका थिएनन्, तम्ममिएको मन पनि झन् झन् तम्तमिँदै थियो। अज्ञात भयले शरीरमा काँडा उम्रियो तर पनि अगाडि नबढिकन सुखै थिएन। थकित, उदास र समवेदनाहीन मन लिएर उनी जहाजमा बसिरहिन्।
बस्दा,बस्दै सूचना जारी भयो ‘..हामी दुबईको लागि उड्दै छौं। हाम्रो उडान चार घण्टा पच्चिस मिनेटको हुनेछ र हामी ३८००० फिटको उचाइमा उड्ने छौ....’
जहाज अकासिँदै थियो। बादलले आकाश ढपक्क ढाकेको थियो। निमेषभरमै जहाज कालो बादलको सुरूङभित्र छिर्दै गयो र सातो जाने गरी ‘बम्पिङ’ गर्न थाल्यो। उनले आँखा चिम्लिन्। छोरीले हाँसेको, खेलेको र पुलपुलिएको झझल्कोले मुटुमा भक्कानो पार्यो र वेदनाले रन्थनिँदै उनी एक्लै बडबडाइन्।
‘यतिबेला त आमा खोजेर कति रूँदै होलिऊ छोरी !’
जहाज अगाडि बढ्दै गयो, उनी झ्यालबाट बाहिरतिर हेर्दै बसिन्। सम्झनाका लस्करहरू मनभरि सलबलाए। समयले दिएका चोटहरू फेरि बल्झिए, लाग्नेको जीजिविषाको अग्लो पहाड पुनः आँखा अगाडि उभियो। छातीमा सइन भएर बसेका घाउ फेरि कोट्टिए र त्यसकै पीडाको रन्कोमा उनी छट्पटिँदै बसिन्।
जिन्दगीलाई पछाडि फर्केर हेरिन्। सुदूर गाउँको जन्म, एकल आमाको लालनपालन, गाउँको १२ कक्षा सम्मको पढाइ! चेतना परिपक्व हुन पाएकै थिएन। जीवनप्रतिको दृष्टिकोण बन्नै पाएको थिएन, आफन्तहरूले माधवसँग विवाहको कुरा ल्याए। सरकारी जागिर र काठमाडौंमा घर। सुदूर गाउँहरूमा अरू के सपना हुन्छन् र विपन्न आमाबुबाका! उनकी आमाले पनि त्यही देखेर माधवसँग विवाह गरिदिइन्। उनको उमेर, शिक्षा र चाहनाले कुनै महत्व राखेन। उनले चुपचाप नियतिलाई स्वीकारिन्।
बिडम्वना! सुहागरातमै ऊ रक्सीले खुट्टै टेक्न नसक्ने गरी आयो र दाम्पत्यका सारा सपना त्यसैदिन उजाडिए। त्यसपछिका दिनमा पनि ऊ सधैं रक्सीले उन्मुक्त भएर घर आउथ्यो।
अघिल्लो दिनकै नशा उत्रेको हुँदैनथ्यो साँझ फेरि थप्थ्यो र उभिनै नसक्ने गरी फेरि घर आइ पुग्थ्यो। उनी भाग्यको भूमरीमा परेको जरा बिनाको लाचार रूखजस्तै भएर बाँच्थिन्।
खुसी थिएन, उमंग थिएन र आशा पनि थिएन तर पनि जीवन चल्नै पर्ने रहेछ।
एक अर्कालाई व्यहोर्नै पर्ने रहेछ! यस दौरानमा उनीहरूका जीवनमा अन्तरंगी पल पनि आए। तर ती अनुपम पलहरूमा पनि ऊ रक्सीको नशामै हुन्थ्यो। मालती भने कुनै उज्यालो दिनको आशामा उसलाई झेलिरहन्थिन्। यसैबीच छोरीको जन्म भयो। उसमा त कुनै परिवर्तन आएन तर मालतीका हातखुट्टा ममताको डोरीले कसिलोसँग बाँधिए।
समय अत्यन्त कष्टपूर्ण भएर चल्दै थियो, एक दिन उसको अफिसबाट फोन आयो। फोन माधवको कार्यालय प्रमुखले गरेका थिए। उनले माधवलाई भेट्न सिभिल अस्पताल बोलाए। राम्रोसँग कुरा बुझ्न नपाउँदै फोन सम्पर्क टुट्यो। मनमा अनगिन्ती अनिष्ठ कल्पनाहरू आए, उनी फतक्कै गलिन् र डरले सितांङ्ग हुँदै अस्पताल पुगिन्।
ऊ अचेत अवस्थामा थियो। हातमा स्लाइन र मुखमा अक्सिजन! उसलाई देखेर स्वास नै अड्किएला जस्तो भयो तै पनि नसम्हालिकन सुखै थिएन।
आँसु पुछेर उनले माधवको कपाल मुसार्न थालिन्, ऊ पसिनाले छपक्कै भिजेको थियो, धेरैबेरपछि उसले बल्ल तल्ल आँखा खोल्यो, उनलाई देखेर ऊ भक्कानियो र अत्यन्त सकसका साथ भन्यो-
‘म त मर्छु क्यारे मालती! बेस्सरी रगत बान्ता भयो, अब जाने दिन आए जस्तो छ!’
उसको त्यो नाजुक अवस्था र ती कारूणिक शब्द सुनेपछि उसले लगाएका मनका गहिरा घाउ पनि त्यसै हराए र एकाएक उसको औधि माया लागेर आयो। सँगै उभिएका डाक्टरले उनलाई बरण्डामा बोलाए र उसको बारेमा बताए।
‘अवस्था एकदम नाजुक छ! उहाँको लिभर खतम भइसकेको छ। अब बचाउने उपाय भनेको कि ट्रान्सप्लान्ट हो कि लामो समयको महंगो उपचार।’
डाक्टरको कुराले उनी खंग्रंग भइन्। उसको मृत्युको कल्पना आयो र हजारौं भोल्टको करेन्ट लागेजस्तो भयो। निकैबेरपछि लामो सास फेरिन् र फेरि कर्तव्य र लाचारीको विरोधाभाषमा चेतनाशून्य भइन्। भाग्यले कठोर परीक्षा लिँदै गयो र उनले सकिनसकी सामना गर्दै गइन्।
एक महिनाकै उपचारले उनलाई चरम आर्थिक संकटमा पुर्यायो। थप उपचार गर्ने उनको सामर्थ्य थिएन। त्यही चिन्ताले उनलाई निन्द्रा पनि लाग्नै छोड्यो। कतै जागिर पाए पनि बचाउन सकिन्थ्यो कि भन्ने आश लाग्थ्यो। रातोदिन त्यसकै खोजीमा भौंतारिन्थिन् तर केही सीप लाग्दैनथ्यो र एक्लै बसेर रुन्थिन्।
कहिलेकाहीँ भावुकताले सिमा नाघ्दथ्यो र उनी सोच्थिन्, छोरीलाई सुसंस्कृत, शिक्षित र सक्षम नबनाई कलिलैमा बिहे गरेर पठाइदिने र जिम्मेवारीबाट पन्छिने समाजको गलत प्रवृत्तिप्रति मनमा आक्रोशको राँको बल्दथ्यो। आफ्नै आमाको भ्रमित विश्वास (खुसी) देखेर पनि विस्मित हुन्थिन्, मन कुँडिन्थ्यो तर गर्न सक्ने केही हुँदैनथ्यो र लाचार भएर बस्थिन्।
जागिर खोज्न उनले कुनै कसर बाँकी छोडिनन्। चिनेको वैदेशिक रोजगार व्यवसायी निर्मल बस्नेतलाई भेटिन्। उसले पनि प्रकाश सापकोटा भन्ने मानिसलाई देखाइदियो। उसलाई भेटेर पनि आफ्ना सारा दुःख बिसाइन्, उसले सहानुभूतिपूर्वक सुन्यो र राम्रो तलब पाउने गरी सस्तैमा अरब पठाइदिने आश्वासन दियो।
सुरूमा त निकै खुसी भइन् तर पछि ठूलो दोधारमा परिन्। केटी मान्छे त्यति टाढा! नसोचेको आपत आइलाग्यो भने?.... त्यसमाथि गम्भीर बिरामी लोग्ने, बालखा छोरी र विधवा सासू छोडेर जाने कल्पना गर्न पनि सहज थिएन। उनले माइतीबाट आमा र सासूलाई राखेर आफ्नो योजना बताइन्। त्यसपछि छोरीलाई माइतीमा र माधवलाई घरमा सासूले हेरविचार गर्ने निधो भयो।
टिकट आउने पक्का भएपछि उनले माधवलाई पनि भनिन्, कुरा सुनेर उसका आँखा जलमग्न भए र रून्चे आवाजमा उसले भन्यो।
‘म के भनौं मालती! तिम्रै भरमा बाँचेको छु ... तिमीले उपचार गर्न सक्यौ भने बाँच्छु नत्र... !’
बोल्दा-बोल्दै उसको बोली रोकियो। त्यसपछि ऊ हिक्क हिक्क गर्दै रोयो। उनलाई पनि फकाउने हिम्मत आएन। पीडाले छाती फुट्लाजस्तो भयो र आलसतालस हुँदै उनी कोठाबाट निस्किन् र बाहिर अँध्यारो कुनामा बसेर धोको पुग्ने गरी रोइन्।
फेरि अर्को पटक जहाजमा सूचना जारी भयो।
‘अब हामी दुबई एयरपोर्टमा अवतरण हुँदैछौं ... कृपया सिटको पेटी बाध्नु होला ... ’
मनमा कुनै उत्साह थिएन। चरम दुबिधा, अन्यौल र त्रास लिएर उनी जहाजबाट झरिन् विमानस्थलमै कोही लिन आउने कुरा थियो, भनिएबमोजिम नै एक जना महिला मुस्कुराउँदै आइन् र मालतीलाई सोधिन्
‘तपाईं मालती रोका हुनुहुन्छ? म शालिनी। हिँडनुस् जाऊँ ... ’
मालतीले उनैलाई पछ्याउँदै गइन् र बाहिर निस्केर उनीहरूले एउटा ट्याक्सी लिए। एउटा गगनचुम्बी भवनमा पुगे। त्यहा कुशुम नामकी हिन्दी भाषी महिलासँग भेट भयो र शालिनी त्यहीबाट फर्किन्। कुशुमसँग मालतीको लामो कुराकानीको भयो, मालतीले मनका सारा वेदना पोखिन् र उनको कुरा सुनेर कुसुमले सहानुभूति देखाउँदै भनिन्।
‘चिन्ता नगर मालती! यहाँ राम्रो कमाइ हुन्छ! बरू तिम्रो पासपोर्ट र पैसा चाहिँ मलाई राख्न देऊ। यहाँ चोरीको डर हुन्छ ।..’
पासपोर्ट मागेपछि मनमा भर्खरै पलाएका उत्साह एकाएक ओइलिए। बाध्य भएर उनले सबै कागजात बुझाइन्। त्यसपछि मनमा अनेक आशंका मडारिए र त्यो रात उनले छटपटीमै बिताइन्।
भोलिपल्ट उनको कोठामा अर्कै महिला आइन्। केहीबेरको औपचारिक कुराकानीपछि दुबै जना ब्युटीपार्लरमा गए। त्यहाँ उनलाई राम्रोसँग सिंगारियो र सँगै नास्ता गरेपछि मालतीलाई उनले ‘बेसमेन्ट’ तर्फ लिएर गइन्।
बेसमेन्ट! सिसाको ठूलो र अति आकर्षक क्याबिन, भुइँमा रातो मखमली कार्पेट, क्याबिनभित्र छातीमा अंक टाँसेका कामुक युवतीहरू! क्याबिनको बाहिरपट्टि रिसेप्सन थियो। त्यहाँ एउटी सुन्दर महिला मोबाइलमा व्यस्त थिइन्, उनले मालतीको बैंक खाताको विवरण टिपिन् र कुटिल मुस्कानका साथ हिन्दी भाषामा भनिन्-
‘अब तपाईं पनि यही क्याबिनमा बस्नुहुन्छ, मन पराउनेले तपाईंको नम्बर भन्छन्, हामी माइकबाट बोलाई दिन्छौं।’
उनको कुरा सुनेर मालतीका हातखुट्टा फतक्क गले र ओठमुख पनि सुक्यो। आतंकित मुद्रामा उनले साथै गएकी महिलालाई हेरिन्, एकाएक उनको अनुहारको रंग बदलियो र उनले कठोर शब्दमा भनिन्-
‘यो उच्चस्तरीय यौन बजार हो, यहाँ विश्वभरिबाट संभ्रान्त ग्राहकहरू आउँछन्।’
उनलाई टेकेको जामिन भासिएजस्तो लाग्यो, सम्हालिन समेत नपाउँदै त्यहाँ दुई जना मानिसहरू आए। उनलाई घिच्याउँदै अर्को कोठामा लगे र अत्यन्त निर्ममताका साथ बलात्कार गरे। उनी ज्यादै विक्षिप्त भइन्, लडेकै ठाउँबाट हलचलै गर्न सकिनन्। केही समयपछि तिनै महिला कुटिल मुस्कानका साथ कोठामा आइन र उस्तै संवेदनाहीन लवजमा भनिन्-
‘मालती! तिमीले पहिलो काम सफलतापूर्वक गर्यौ। अब सहज भएर काम गर! हुन त तिमी यहाँ बेचिएकी हौ तै पनि हामी तिम्रो कमिसनको पैसा तिम्रो बैंकमा पठाइदिन्छौ तर तिमीले कुनै माध्यमले यहाँको गोप्यता भंग गर्यौ भने चाहिँ तिम्रो ज्यान पनि जान सक्छ! राम्रोसँग याद गर।’
उनका मानवताहीन शब्दहरू सुनेर उनी चेतनाशून्य भइन्। केही समय कसरी बित्यो त्यसको उनलाई हेक्का रहेन तर होसमा आउँदा उनी क्याबिनमा भित्र थिइन्। त्यसपछि अमानवीय यौन यातनाका श्रृंखला चल्दै गए, उनी क्षतविक्षप्त भएर सहदै गइन्।
दिनभरि शिशाको कैदमा बस्नु र पाशविक यातना शिकार हुनु उनको नियति बन्यो।
जीवन, जीवन जस्तो भएन, आगोको मुस्लो जस्तो भयो। बाँच्न ज्यादै नै कठिन थियो तर मर्ने कुनै उपाय थिएन। यसरी आफ्नै जिन्दगीले उनलाई लाचार तमासा बनाइदियो।
प्रशासनिक कार्बाहीको डरले त्यहाँ सबै माथि कडा निगरानी हुन्थ्यो। उनको पनि निगरानीमै एक दुई पटक उनको माधवसँग टेलिफोनमा कुरा भयो।
माधव खुसी साथ पैसा पाएको र राम्रो उपचार गरिरहेको कुरा पनि भन्थ्यो। जल्लादहरूले पैसा पठाए होलान् भन्ने त लागेको थिएन तर माधवले नै पाए भने थोरै भए पनि राहत महसुस भयो।
दिन बित्दै गयो, एकदिन उनले आमासँग भिडिओ कल गर्न पाइन्।
उनलाई देख्नासाथ छोरीले छुराभन्दा पनि धारिला प्रश्नहरू गरिन् ‘मेरो याद आउँदैन? माया लाग्दैन मामु? कि बिर्सिनु भयो आफ्नी छोरीलाई ?’
आमाले पनि बरबरी आँसु झार्दै त्यसैमा थपेर भन्नुभयो-
‘जीवनको डोरी चुँडिन कतिबेर लाग्छ र छोरी! मलाई त खोई किन हो? मुखै देख्न नपाई पो मरिन्छ जस्तो पो लाग्न थालेको छ! अब त ज्वाइँ पनि ठिक भइहाले, मिल्छ भने यतै आऊ तिमी पनि!! ...’
ती मर्मभेदी शब्दले फेरि मनमा भक्कानो छुटाए। उनले दारा किटेर आफूलाई सम्हालिन् र केही बनावटी कुराले आमाका र छोरीलाई फुस्ल्याइन्। कुराकानी सकियो र फेरि उस्तै घोर निराशाले छोप्यो र आफ्नै जगल्टा भुत्ल्याउँदै रोइन्।
दिन यसै गरी बित्दै थिए, एक दिन नेपाली जस्तै देखिने एक जना सुरक्षागार्ड क्याबिनका केटीहरूलाई हेर्दै आए।
उसलाई देखेर मालतीको मनमा केही आशा पलायो। ऊ केही पनि नबोली फर्कियो तर मालतीले उसको खुब बाटो हेरिन् तर ऊ फेरि देखा परेन।
धेरै दिनपछि अचानक ऊ फेरि पहिलेजस्तै गरी आयो र उनले त्यही बेलामा मौका छोप्दै चिच्याइन्-
‘दाइ मलाई बचाइदिनुस्! म यहाँ बेचिएकी छु, पासपोर्ट पनि छैन, पैसा पनि छैन, मलाई यो नर्कबाट उतारिदिनुस्’
ऊ टक्क अडिएर मालतीका कुरा सुन्यो। निकैबेरसम्म गम खाएझैं गर्यो र उनलाई क्याबिनबाट बाहिर निकाल्यो, मालती आश्चर्य चकित भइन्।
उसले भावुक भएर भन्न थाल्यो-
‘के गर्छ्यौ बहिनी? भोको पेटका लागि हामी परदेश आउँछौं तर कति बेश्यालयमा बेचिन्छौं, कतिले यो मरूभूमिमै चोला बिसाउँछन् र कति लास बनेर फर्किन्छौं। कति जवान छोरीहरूका सिउँदो पुछिन्छन्, कति लालबालाहरू टुहुरा हुन्छन् र कति बाआमा बाटो हर्दाहेर्दै मर्छन् र पनि देशलाई कतै दुख्दैन हाम्रो घाउहरू र माया गर्दैन हामीलाई देशले!!
ऊ एकछिन रोकियो र आत्मीय भावले भन्यो-
‘आज म एक्लै ड्युटीमा छु, भाग बहिनी। नत्र यतै मर्छेउ तिमी। न सास भेटिन्छ न लाश! यो थोरै पैसा छ यसले बाहिर गएर ट्याक्सी चढ्नु र नेपाल एम्बेसी पुर्याइदेऊ भन्नु, त्यहाँसम्म पुग्न पायौ भने तिमीले यो नरकबाट मुक्ति पाउँछौं’
‘तर दाजु.... तपाईंलाई फेरि ....यहाँ ...’
‘मेरो चिन्ता नगर, म जिउँदै फर्किएँ भने छँदैछ! यतै मारेछन् भने पनि पुण्य कमाएर त मर्छु’
ऊ आफैंले लिफ्टमा पुर्यायो र लिफ्टको बटन दबाइदियो। लिफ्ट झर्दै गयो, सौभाग्यबस बाहिर ट्याक्सी पनि भेटियो।
आधा घण्टाको अत्यन्त व्यग्रतापूर्ण यात्रापछि उनी नेपाली दूतावासको गेटबाट भित्र छिरिन्, उनलाई निकै कठिन युद्ध जिते जत्तिकै लाग्यो। भावविभोर भइन्, आँसुले आँखा टिलपिल टिलपिल भए र उनको मातृत्व फेरि कौलाशियो।
‘ .. धन्न भगवान मैले मेरो मुटुको टुक्रालाई फेरि छातीमा लगाउन पाउने भए ... ’
केही दिनपछि दूतावासका कर्मचारीहरूले जहाज चढाइदिए। जहाज अकासियो, आफूले नारकीय जीवन बिताएको त्यो शून्य, निर्जीव र मानवताहीन सहरलाई गहिरिएर हेरिन्, आफूले सहेका पीडा सम्झेर मनमा भक्कानो पर्यो। त्यही सहरले लुटेका निर्दोष सपनाहरूलाई मनमनै स्पर्श गरिन्।
मन अझै बहकिँदै गयो त्यो अपरिचित सौर्यवान दाजुको अदम्य साहस, असीम माया र अकल्पनीय सहयोगप्रति नतमस्तक भइन्। मानव तस्करीको विश्वव्यापी जालो र हाम्रो आर्थिक विपन्नता सम्झेर कहाली लाग्यो।
अनगिन्ती तर्कनाहरूका बीच साढे चार घण्टा बिते र उनी काठमाडौं एयरपोर्टमा झरिन्। मौसम एकदम सफा थियो, दुई वर्षअघि उनलाई रूँदै बिदा गरेको प्रकृति पनि आज उनको आगमनमा मुसुक्क हाँसेको थियो।
माधवले उनलाई माला लगाइदियो, उनले मनमनै सोचिन् ‘तिम्रो खुसीको लागि म मर्नै पर्ने रहेछ माधव।’ माधवले सजल आँखा पारेर भावक हुँदै भन्यो- हामीलाई दूतावासले सबै जानकारी गरायो! मेरै दुर्व्यसनले तिमीलाई अरबको यौन बजारमा लिलामी चढायो, मलाई गहिरो अपराधबोध हुन्छ र म सदा मरेतुल्य हुन्छु। कति कठोर नियति हाम्रो ? हेर त मैले जीवन पाउन आखिर तिमीले मर्नै पर्यौ! तर पनि तिमी पछि हटिनौ। शायद ईश्चर पनि तिमी जस्तै त हुन्छन् होला नि मालती ! ... ..’
उनी नि:शब्द थिइन्, छोरीले दौडदै आएर उनको कम्मर समातिन्, उनले छोरीलाई वात्सल्यमय खोकिलामा च्यापिन्। दुबै आमाहरू र माधवले भावविह्वल भएर उनीहरूलाई हेरिरहे, सबैका आँखा जलमग्न थिए तर आज ती आँसुमा पीडा होइन असीम खुसी थियो।