कविता
दसैंमा उड्ने विचार थियो
विदेशबाट उड्न त उडेकै हो
उसको सामान पनि
सँगै जहाज चढेकै हो
सबै मिली उसलाई
एयरपोर्ट सम्म छोडेकै हो
तर,
मुखमा मुस्कान थिएन
शरीरमा तागत थिएन
शरीर रातो थिएन
निलो भएको थियो
ऊ घर जाँदा पनि
साथीभाइको मन
भारी थियो
दुखित थियो
अशान्ति थियो
चिन्तित थियो
तर,
उड्ने मान्छे
निश्चिन्त थियो
न घर जानेको खुसी
न सबैलाई छोड्नेको दुःख
आफ्नो दुनियाँमा
सुनसान र निःशब्द थियो
उडेपछि,
नेपालको एयरपोर्टमा झर्ने नै भो
एयरपोर्टमा भीडभाड थियो
दसैंको चहलपहल थियो
यात्रुहरू खचाखच थिएँ
घरमा दुर्गा भवानीको
पूजा गरेर आफन्त लिन
आउनेको भीड थियो
कसैका छोरा आएका थिए
कसैका श्रीमती आएका थिए
कसैका आफन्त
सबै आउनेलाई भेट्न
आतुर थिए
यत्रो भीडमा सुनसान निःशब्द
यात्रीको पनि आगमन भयो
उसको लागि लिन आउनेहरू
पूरै गाउँ थियो
आफन्त थिए
साना छोरा छोरी थिएनन्
पाका मानिसहरू थिए
जब उतारियो एयरपोर्टमा
सबैको श्वास एकछिन रोकियो
सबैलाई दसैं होइन
दशा लागेको महसुस भयो
सबै कुरा एउटै हुँदाहुँदै पनि
केही फरक दृश्य देखियो
सबै यात्री दसैं मनाउन
गाउँ सहर तिर लागे
सबैलाई दसैं आयो
यात्रीको घरमा दशा छायो
सबैथोक सही सलामत आयो
फरक यत्ति हो
दैवले श्वास आउन दिएन
उसको घरमा यात्री बनेर
लास आयो
दसैं आएन,आउँदै आएन।