म अरू दिनजस्तै त्यो दिन पनि कलेजबाट घर फर्किने क्रममा न्युरोड, एनएसीअगाडि माइक्रो कुर्दै थिएँ। कपुरधारा, गोंगबु, सामाखुसी, ग्रान्डी, टोखा जाने अरूहरू पनि माइक्रो कुरिरहेका थिए। माइक्रो कुरिरहेका मध्ये धेरैजसो विद्यार्थी थिए।
साढे नौ बजेको समय हुँदो हो। प्रातःकालीन समयमा कलेज भएकाहरू घर फर्किने र दिवाकालीन समयमा कलेज वा स्कुल हुनेहरू पढ्न जाने क्रममा थिए। करिब २० मिनेटको प्रतीक्षापछि सामाखुसी यातायात लेखेको रातो र सेतो कलर भएको बा ३ क ३६९२ नम्बरको माइक्रो आयो।
माइक्रोबाट झर्ने मानिसहरूलाई बाटो नै नदिई सिटमा बस्न सबै तँछाडमछाड गर्दै सबै माइक्रोमा चढिरहेका थिए। म माइक्रोभित्र जाँदा लगभग सबै सिटहरू भरिएका थिए। अन्तिमको एउटा सिट मात्र बाँकी रहेछ। म त्यही गएर बसेँ।
सबै सिटहरू भरिएकाले पछि चढ्ने अन्य यात्रुहरू उभिएका थिए। खुट्टा टेक्ने ठाउँ समेत नरहने गरी माइक्रो भरिएको थियो। माइक्रो त्यहाँबाट हिँड्यो। कलेज/अफिस टाइम भएकाले निकै नै जाम थियो। कपुरधारा पुग्दा करिब ६/७ जनाको समूह त्यहाँ झरे र माइक्रोमा भिड अलि कम भयो।
म अन्तिम सिटको बीचमा थिएँ। मलाई त्यहाँ बस्न अलि अप्ठ्यारो भएको थियो। म बसेको सिटभन्दा दुई सिट अगाडिको सिट खाली भयो र अगाडि उभिनु भएका यात्रु आउनुभन्दा पहिला नै म हतारहतार त्यहाँ गएर बसेँ।
ट्राफिक जाम थियो। म आफ्नै धुनमा बाहिर हर्दै बसेकी थिएँ। त्यत्तिकैमा पछाडि कसैको फोनको घण्टी बजेको सुनियो- 'हेलो!'
यताबाट केटा मान्छेको आवाज सुनिन्छ र कुनै प्रतिवाद बिना अरू केही नभनी उसले सिधै भन्यो, 'पैसा हाल्दिनु भनेको कस्तो नबुझ्ने हो र? म यहीँ त्रिपुरेश्वर नै छु। पर्सिको इन्टरभ्युका लागि कपाल काटेर फर्मल ड्रेस किनेर ल्याउनु छ मामु भनेर मैले दश पटक फोन हानिसकेँ। कति म्यासेज गरेँ। त्यति पनि हल्दिन नसक्ने तपाईं, छिटो राख्दिनू न।'
ऊ यताबाट चर्कोचर्को आवाजमा बोलिरहेको थियो। उताबाट कुनै प्रतिक्रिया आउनै नदिई ऊ लगातार बोलिरहेको थियो।
एकैछिनमा उसले फोन राख्यो। ऊ टोखा जाने माइक्रोमा थियो तर कलमा म त्रिपुरेश्वर छु भनेको थियो। उसले झुट बोलेको थियो। त्यसैले मेरो मनमा केही कौतुहलता थियो। म रोचकपूर्वक उसका हरेक कुराहरू सुनिरहेकी थिएँ।
त्यत्तिकैमा ऊ फेरि कोहीसँग फोनमा बोल्छ।
'हेलो! ड्याडी, मामुलाई पैसा हाल्दिनु भनेको तीन घन्टा भइसक्यो। मोबाइलमा ब्यालेन्स पनि सकिन लाग्यो फोन हान्दाहान्दा। तर मामुले पैसा हाल्दिनु भएन। झन् पर्सिको इन्टरभ्युका लागि कपाल काटेर फर्मल ड्रेस किनेर ल्याउँछु भनेको त झन् ढिलो गर्दिने' भन्दै झड्किलो तरिकाले ऊ बोल्यो।
फेरि केही सामान्य तरिकाले बोल्छ, 'ड्याडी, हजुरले नै हाल्दिनु न छिटो है!'
सम्भवतः जवाफमा उताबाट मामुको अफिसको व्यस्तताबारे जानकारी दिँदै उसलाई गाली दिएका शब्दहरू हुत्तिन्छन्।
'ह्या! ड्याडी पनि कस्तो रिस उठाउनु भको हो के। झन् सबै काम सकेर घर जान्छु भनेको त,' भन्दै ऊ झनक्क रिसाउँछ र अलि चर्को स्वरमा बोलेर फोन काट्छ।
रिस मिसिएका शब्दहरू ऊ आफैसँग गुनगुनाउँछ। ऊ मेरोभन्दा पछाडिको सिटमा थियो। मैले उसलाई देखेकी त थिइनँ तर उसको हरेक कुराहरू निकै ध्यान दिएर सुनिरहेकी थिएँ। उसको मोबाइलमा म्यासेजको आवाज सुनिन्छ। बल्ल ऊ गुनगुनाउन छाड्छ।
ऊ बसेको सिट छेउको कोही झर्नका लागि अगाडि गएको थियो। त्यहाँ बस्न अगाडि उभिएको एकजना यात्रु जान्छ।
उसकोमा फेरि फोन आउँछ। फोन उठाएर ऊ भन्छ, 'म डकुमेन्ट बुझाउन बानेश्वर आएको छु। अहिले घरमा गएपछि फोन गर्छु।'
ऊसँगैको सिट छेउमा बस्न अगाडिबाट आएको अन्दाजी २५/२६ वर्षको केटोले पनि सम्भवतः उसको फोन कुराकानीको आधारमा 'विदेश एप्लाई गर्दै हो हजुर?' भनेर सोध्छ।
ऊ 'हजुर हो' भन्छ।
अर्कोले फेरि सोध्छ, 'कुन देश?'
ऊ 'क्यानडा हो' भन्छ।
'ए हो र? कस्तो म पनि प्रोसेस गर्दैछु। मेरो त ड्रिम कन्ट्री हो।'
ऊ पनि सहज तरिकाले नै 'हो र यार! हामी त दोस्त रहेछौं' भन्दै हाँस्छ।
अर्को केटोले पनि 'अँ यार, कस्तो मिलेको' भन्छ।
उनीहरू मिलेर क्यानडाको खुब बयान गर्छन्। नेपालमा अवसरको अभाव र देशको स्थितिका कारण भविष्य खोज्न बाहिरिनु पर्ने कुरा गर्दै थिए। यहाँ बसेर केही छैन भन्दै छेउमा बसेको केटाले भन्छ।
उसले 'हो तनि यार। केही छैन यार। कतै जान पर्यो भने नि हेर न यो जाम समयमा कहिलै नपुगिने,' भन्छ।
उनीहरू देशको नराम्रो तरिकाले बयान गरेका थिए। यत्तिकैमा छेउमा बसेको केटाले भन्छ, 'ह्या दोस्त देशको कुरा के गर्नु यार तनाव मात्र। छोड्नु बरू अरू कुरा गरम्' भन्दै फुटबलको कुरा गर्छन्।
रियल म्याड्रिड यस्तो, म्यानचेस्टर सिटी यस्तो, लिभरपुल यस्तो, बार्सिलोना यस्तो भन्दै खुब कुरा गर्छन्। म उनीहरूको हरेक कुरा सुनिरहेकी थिएँ। यत्तिकैमा छेउको केटाको ओर्लने ठाउँ आउँछ।
उसले फेरि कसैलाई फोन गर्छ, 'हेलो! जिग्री कता हो तिमी? म त सामाखुसी छु यार भेटौं न यार। हिजो बेलुकाबाट देख्न पनि पाको छैन। कस्तो गाह्रो भछ यार। लास्टै ल्याङ भाछ।'
उताबाट के प्रतिक्रिया आउँछ, ऊ थप्दै थियो- 'लास्टै गाह्रो भाछ। छ भने मिलाउन यार, पैसा टन्न छ मसँग ढुक्क हौ न यार।'
मलाई लाग्यो अघिको मेसेज टोन उसको बैंक एकाउन्टमा पैसा झरेको संकेत हुनुपर्छ।
'एक डोज जति मिलाइदेऊ न यार,' ऊ भन्छ।
उताबाट पक्कै छैन भन्ने प्रतिक्रिया आउँछ।
'ल त नि जिग्री तिमीसँग छ भन्ने लागेर ढुक्क थिएँ। आज छैन भने ठिकै छ यार। तिमी यो शनिबारतिर टाइम मिलाउन, अस्तिको जस्तै क्लबमा गएर चिल हान्न पर्छ। त्यो दिनको लागि चाहिँ रेडी पारेर राख है! पार्टी ट्रिट सबैलाई मेरोतर्फ बाट तर ल्याउने काम चाहिँ तिम्रो है जिग्री। ढुक्क भएँ है म,' ऊ भन्छ।
उसको आवाज एकदमै राम्रो थियो। मलाई बडो अचम्म लाग्यो। मैले उसको अनुहार देखेकी थिइनँ न म उसलाई चिन्दथेँ। ऊभन्दा म अगाडिको सिटमा थिएँ तर पछाडि फर्केर हेर्ने आँट नै आएन। फेरि पनि उसले कसैलाई फोन गर्छ।
'हेलो! दोस्त कता छौ?'
उताबाट खै के प्रतिक्रिया आउँछ, ऊ त्यही झर्ने बताउँछ। उताबाट सायद बाइक बारे सोधिन्छ। ऊ बाइक बनाउन दिएकाले माइक्रोमा आउँदा लास्टै जाम भएको बताउँछ।
ऊ थप्छ, 'अँ साँची, छ नि है तिमीसँग, मलाई लास्टै गाह्रो भएको छ यार। हिजोबाट देख्न पनि पाएको छैन यार। पैसा पनि टन्नै छ आज त।'
ऊ पाँच मिनेटमा आइपुग्छु भन्दै फोन राख्छ। त्यति बेलासम्म माइक्रो सामाखुसीमा रोकिरहेको थियो। एकछिनपछि माइक्रो हिँड्छ, उसलाई फेरि कसैको फोन आउँछ।
'हेलो ड्याडी, थ्यांक्यु, पैसा राख्दिनुभएछ। म कपाल काट्दै छु। लास्टै प्याक रहेछ। अनि फर्मल ड्रेस किन्छु। यतै खाना खाएर घर जान्छु। हजुर अनि मामु कति बेला आइसिन्छ अफिसबाट,' उसले फोनमा भन्छ।
'ल ल ड्याडी म काम भ्याएर छिटै जान्छु घर,' भनि फोन राख्छ।
मलाई उसका हरेक कुराहरू अनौठो लाग्छ। लागुऔषधका लागि उसले आफ्नै परिवारसँग एक दिनमै त्यति ठूलो झुट बोलेको थियो। ग्रीनल्यान्डमा मान्छेहरू अलि धेरै झरेका कारण माइक्रो खाली खाली भयो। ग्रान्डीमा ऊ झर्ने तरखर गर्छ। ऊ मेरो सिटभन्दा अगाडि आइपुगेको थियो। मैले उसलाई हेर्न खोज्छु।
एउटा हातमा आइफोन १२ लिएको, अर्को हातमा कालो लेदरको ह्यान्डक्यारी ब्याग लिएको, एयरम्याक्सको जुत्ता लगाएको कालो पाइन्ट, सेतो टिसर्ट, चेन खुल्लै गरेको एडिड्यासको ज्याकेट लगाएको, अग्लो अग्लो ऊ माइक्रोको ढोकाबाट बाहिर निस्किन्छ। मैले उसलाई हेरिरहेकी थिएँ। ऊ त्यही नजिकैको एउटा ठूलो होटलभित्र हात हल्लाउँदै पस्छ। भित्रबाट आउँदै गरेको कोही उसलाई अंकमाल गर्छ। यत्तिकैमा माइक्रो हिँड्यो।
त्यो दृश्य मबाट ओझेल पर्छ। तर मेरो मनमा ऊबारे धेरै प्रकारका चित्र चरित्र ओहोरदोहोर गरिरहन्छ। ऊ उच्च वर्गको परिवारको देखिन्थ्यो। सामान्य वर्गको व्यक्तिले ब्रान्डेड कपडा, आइफोन, क्यानडा, बाइक यो अलि कल्पना बाहिरको कुरा थियो।
उसले परिवारसँग धेरै कुरा झुट बोलेको थियो। परिवार छोराको विश्वासमा थिए होलान्। छोरा विदेश जाला, राम्रो पढ्ला, आफ्नो खुट्टामा उभिएला, राम्रो मान्छे बन्ला भनेर कति सपना देखेका होलान् तर छोरो बा-आमालाई अनेक बहाना बनाई कुलतमा फसेको छ।
ऊ एउटा प्रतिनिधि पात्र मात्र हो। समाजमा यस्ता थुप्रै घटना छन्। मेरो मनमा कुरा खेलिरहन्छ। माइक्रो मेरो गन्तव्य टोखा पुग्छ। म त्यही ओर्लेर आफ्नो घरतिर लाग्छु।
मलाई अझै पनि त्यो दिन जुनेली रातको अँध्यारो सपनी जस्तो लाग्छ। जहाँ बाबाआमा सन्तानका लागि मरिमेटी मेहनत गर्छन्। तर सन्तान दुर्भाग्यको कालो बादलमा मडारिएर पूरै परिवारको सपना भेलमा मिसाइदिन्छ।