स्कुल पढ्दा म एक अन्तर्मुखी विद्यार्थी थिएँ। म सोच्थें कि मेरो लागि एउटा रमाइलो पक्ष छ कि छैन! म पनि क्लास प्र्याङ्कस्टर, कसैको 'कूल' साथी बन्न चाहन्थें तर मेरो स्वभाव भिन्नै रह्यो।
म आफैलाई व्यक्त गर्न चाहन्थेँ। त्यसैले ब्रिजकोर्स गर्दासम्म म चिन्तित थिएँ- 'मेरो प्रकृतिले मलाई अरुसँग बोल्न अनि फिट हुन नदिने हो भने के हुन्छ?'
त्यहीँ बेला मैले सदीक्षालाई देखेँ जो नितान्त संयोग मात्र थियो। उमेरसँगै जोडिएको आकर्षण भनुँ वा पहिलो नजरमा प्रेम, कक्षाको पछाडि बसेको म बोर्डभन्दा अगाडि बसिरहेकी सदीक्षालाई हेरिरहन्थेँ।
तीन महिनाको ब्रिजकोर्स अवधिमा उसलाई मनका भावना पोख्छु भन्दाभन्दै कुण्ठित नै रहन पुगेँ। प्रवेश परीक्षापछि आफ्नो आफ्नो कलेज रोज्नु थियो। आआफ्नो कलेज रोज्यौँ पनि। आकर्षण आकर्षणमै सीमित रह्यो। कलेजको केहीँ दिनपछि दसैँ बिदा सुरु भएको थियो, मन मस्तिष्कमा सदीक्षा भने रहिरहेकी थिइन्।
७ महिना बितिसकेको थियो। एकदिन मैले सदीक्षाको फेसबुक प्रोफाइल मित्र सुझावमा देखेँ। धेरै समयपछि उसलाई देखेर म छक्क परें। मेरा आँखा अगाडि ती तीन महिना झल्किएँ। धेरै मननपछि मैले उनीलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ।
उनले मेरो अनुरोध स्वीकार पनि गरिन्। फेसबुकमा साथी भएपछि कुराकानी उनले नै सुरु गरिन्। उनीबाट प्रश्न आयो, 'कता भर्ना भयौ?'
उसको प्रश्नले मलाई आश्चर्य बनायो। ऊ बोल्ने होकि नबोल्ने अनिश्चितताका साथ पठाएको प्रस्ताव, उत्तर आयो आशाका किरणहरूसहित।
हाम्रो पहिलो कुराकानीमा केही आदानप्रदान औपचारिक थियो। तर जब दिनहरू बित्दै गए, कुराकानी पनि गहिरिएर गए। केही हप्तामा हामीले हाम्रा सपनाहरू, लक्ष्यहरू र परिवारको बारे कुरा गर्न थालिसकेका थियौँ।।
हाम्रा कुराकानी घण्टौँसम्म चल्यो। फेसबुकममा महिनाभन्दा बढी कुरा गर्यौं र पछि भिडिओ कलमा स्वीच भयौँ। हामी दुवैलाई हाम्रा कुराहरूले मोहित बनायो। उनीमा सबै कुराहरू थियो जुन मैले मानिसमा खोजेको थिएँ- दयालु, शान्त र उत्कृष्ट श्रोता।
मलाई लागिरहेको थियो कि म यो माया अनि प्रेमको लिगबाट बाहिर छु। तर त हामी साँच्चीकै जोडिएका रहेछौँ। छोटो समयमा पनि रातहरूबाट बिहानको घाम नउदाउन्जेल धेरै कुराहरू गर्दै बिताउँदै थियौँ।
महिना, दुई महिना बित्यो। कहिले मेरो चिन्तालाई उसले शान्त पार्थिन् त कहिले मैले। हामी एकअर्काको ठूलो चियरलिडर भएका थियौँ अनि दुखको समयमा एकअर्काको पीठ। ऊप्रति धेरै भावनाहरू विकास भएका थिए तर मनमा भने एउटै डर थियो- यदि उनले मेरो उनी प्रतिको भावना स्वीकार गरिनन् भने?
अन्तहीन कुराहरूपछि जब मैले मेरो अस्वीकृतिको डर उनीमाझ राखेँ, उनले भनिन्, 'म तिमीलाई मन पराउँछु, तिमी को हौ अरु फरक पर्दैन।'
मेरा लागि यो बाहेक चरम आनन्दको अरु कुरा के हुन सक्थ्यो र?
समय बित्दै गयो, हामी भेट्न राजी भयौँ। यतिका दिनसम्म फेसबुक र ह्वाट्सएपको भेटपछि हामी एउटै पृष्ठमा छौं भनेर सुनिश्चित गर्न चाहन्थ्यौं। उसले भनिन्, 'भोलि भेटौँ।'
म धेरै नर्भस थिएँ, त्यो हाम्रो 'पहिलो डेट' थियो। उसलाई देख्ने बित्तिकै मेरो मन पग्लियो। उसको वास्तविक जीवनमा उस्तै मुस्कान थियो जुन मैले भिडिओ कलमा महसुस गर्न पाएको थिएँ।
पहिलो भेट अनि त्यो नारायणी नदीको तटमा बगिरहेको हावासँगै तिमी, मलाई पूर्णता पाएको अनुभूति गराउँथ्यो। तिमी त्यो मेरो वरपर हुँदा खुसीसाथ खुला आकाशमा विचरण गरेको पुतलीजस्तै हुन्थ्यो। त्यसपछि हाम्रो भेट धैरे नभएता पनि २/४ महिनामा एक पटक भने जरुर हुन्थ्यो।
एकपटक मनकामाना जाने मौका मिलेको थियो। सुन्तला र सेतो रङको कुर्ता-सुरुवाल र गोलाकार झुम्का लगाएर मेरो छेउमा प्रार्थना गरिरहेकी उनी 'तिमीले चाहेको कुरा विदेशमा पाओस्' भनेर प्रार्थना गर्दै थिइन्। उनको अन्तरमनका कुरा सुनेँ। मैले उनीलाई हेरें, म जे चाहन्छु त्यो परदेशमा होइन, नेपाललाई छोड्दै छु भन्ने विचार आयो तर मनभित्रै राखेँ।
उच्चा शिक्षाको लागि विदेश त जाँदैछु, मैले बुझेको कुरा कसैलाई उसको सम्भाव्यताको लागि डेट गर्नु अनुचित हो। तपाईं जो हुनुहुन्छ त्यसको लागि तपाईं माया गर्न योग्य हुनुहुन्छ र त्यो अर्को मान्छे पनि। टाढा छौँ तर पनि हरेक पटक त्यो हरियो आइकन मेरो स्क्रीनमा पप-अप हुन्छ, मेरा ओठहरू मुस्कानमा भरिएर आउँछन्।
टाढा छौँ, फोटो हेरि मुसुक्क हाँस्छु। 'नमस्ते, के छ?' देखि 'म तिमीलाई माया गर्छु, मेरो आत्मसाथी' सम्मको यो साथ सधैं स्वर्णिम नै रहनेछ। हामीलाई थाहा छैन भविष्यले के-के निम्ताउँछ तर तिमी र म सँगै हुनु र पछिसम्म पनि हुन पाउनु मेरा लागि पर्याप्त छ।