तिमीसँग करोडौंको सवारी छ
करोडौंको मालिकसँग तिम्रो सफारी हुन्छ
तर पनि म बाटोमा हिँडिरहेको देख्दा
तिम्रो सवारी टक्क रोकिन्छ किन?
कि तिमीलाई महसुस भयो मायाको यात्रा
कुनै अर्थ र साधनसँग हैन
मनदेखि मनसम्म हुन्छ भनेर
हिजो बाटोमा हिँड्दा तिम्रो
सवारीले बहुतै हिलो छ्याप्थ्यो
आज तिम्रो सवारी
मलाई नभेट्दै परै रोकिन्छ किन?
कि तिमीलाई महसुस भयो
हिलो छ्यापिनेको हैन
हिलो छ्याप्नेको मन मैलो हुन्छ भनेर
हिजो मेरो घर थिएन छोडी गयौ
आज तिमी आलिसान महलको टुप्पोमा बसेर
गल्लीमा हिँडेको मलाई हेरिरहन्छौ किन?
कि तिमीलाई महसुस भयो
मायाको बास महलमा हैन
मनमा हुन्छ भनेर
हिजो तिमीलाई सधैं हतार हुन्थ्यो
मलाई पछाडि पार्न धकेल्दै हिँड्थ्यौ
आज तिमी विस्तारै मेरो पछि पछि
हिँड्न् रुचाउँछौ किन?
कि तिमीलाई महसुस भयो
विस्तारै हिँडे पनि आर्यघाटसम्म
पुगिन्छ भनेर।