भनिन्छ यदि साँचो प्रेम हो भने बिना सम्पर्क पनि भेट हुन्छ रे! म कामको सिलसिलामा कञ्चनपुरको महेन्द्रनगर बसेको थिएँ। एकदिन कञ्चनपुरको खुलामञ्चमा महोत्सव लागेको थियो। महोत्सवमा उनको नजर ममाथि परेछ तर मेरा नजर उनीमाथि परेन। म एउटा संस्थामा काम गर्थे र महोत्सवमा त्यस संस्थाको प्रतिनिधि भएर गएको थिएँ। मलाई कार्यक्रममा सम्मान पनि मिलेको थियो।
मेरो सम्मान ग्रहण गरेको तस्बिर उनीले खिचिन्। त्यो पनि मलाई थाहा भएन किनकी मेरो तस्बिर खिच्ने अरु पनि धेरै थिए। म आयोजकसँग हात मिलाउँदै स्टेजबाट बाहिर निस्किएँ। साथीहरूले बधाई दिन थाले। त्यही भिडमा थिइन् अपरिचित उनी।
उनलाई मेरो परिचय त अब पूरै थाहा भइसक्यो, कार्यक्रम सञ्चालकले मेरो पूरै परिचय बताइसकेका थिए तर मलाई थाहा छैन उनको परिचय। केहीबेर म महोत्सवमा वरिपरि घुमिरहेँ। सम्मानपत्र राख्ने झोला समेत नभएर हातमै बोकिरहेको थिएँ। उनी पनि मेरा पछि-पछि केही दूरीमा पछ्याउदै थिइन्। त्यो दिन एकतर्फी परिचयमा हाम्रो दिन बित्यो। उनी आफ्नो बाटो लागिन अनि म आफ्नो।
७ दिनपछि म विश्वविद्यालयको कार्यक्रमको लागि गएको थिएँ। उनी त्यही कलेजमा अध्ययनरत् रहिछिन्। उनले मलाई भेटेर लजाउँदै बधाई दिइन्। रातो कुर्तिमा सेतो लेगिन्ज (सुरुवाल) लगाएकी, बाहिर पातलो पहेलो रंगको ज्याकेट, स्ट्रेट छोटो कपाल भएकी उनी मलाई साह्रै राम्री लाग्यो। मैले 'धन्यवाद तर केको बधाई हो?' सोधेँ।
उनले अस्ती सम्मानित भएकोमा भनिन्। मैले हाँस्दै भनेँ, 'एक हप्तापछि बधाई, त्यही पनि धन्यवाद तपाईंलाई।'
खासै त्यतिखेर अन्य कुरा भएन। म क्याम्पस प्रमुखलाई भेट्न उहाँको कार्यकक्षमा गएँ। कार्यक्रम अनौपचारिक थियो। केहीबेर बसेर बिदा भएँ। उनको पनि छुट्टी भएको रहेछ, बाटोमा भेट भयो।
'दाइ, तपाईंको घर कुन ठाउँ हो रे?' उनले अन्य परिचय पाइसके पनिर घर भने थाहा थिएन।
'मेरो घर शुक्लाफाँटामा पर्छ अनि तपाईंको नि?' मैले प्रतिपश्न गरेँ।
उनले 'भीमदत्तमा पर्छ' भनिन्।
त्यसै मदकामा उनको नाम सोध्दा जवाफ दिइन्- 'सकुन्तला।'
परिचय मात्रै सोधियो तर फोन नम्बर साटासाट भएन। म पनि अलि लजालु पाराको थिएँ, उनी झनै लजालु। परिचय गरेर हामी छुट्टियौँ। कार्यक्रममा त्यति धेरै मान्छेहरूबीच मलाई याद गरेकोमा म खुसी थिएँ।
बेलुका घर पुगेँ। खाना बनाउन आमालाई सघाएँ र खाना खाएपछि आफ्नो कोठामा आएँ। ओछ्यानमा पल्टिँदा उनकै याद आयो। मनमा अनेक पश्नहरू खेल्दै आफै जवाफ दिँदै गएँ। आफूले आफैलाई पश्न सोधेर आफैले जवाफ दिनु सजिलो केही नरहेछ। पश्न पनि धेरै अप्ठ्यारो पश्न आउन लागे।
आफ्नो प्रश्नमा आफै जवाफ दिँदै एउटा उपन्यास पढ्न बसेँ। उपन्यास पढ्दै गर्दा पनि मनमा उनकै तस्बिर खेल्न थालेँ। रातिको ११ बजिसकेको थियो। खै उपन्यास कति पढेँ थाहा छैन तर उनको यादमै उपन्यासलाई छातीमा राख्दै सुतेछु। बिहान निन्द्रा खुल्दा उपन्यास समेत छातीमै थियो।
शनिबारको दिन थियो। बिहान उठेँ, चिया पिएँ। दिनभरि घरायसी काममै रहेँ। कपडा धुने र नुहाउने काम गरेँ। साँझपख म कार्यरत कार्यालयबाट फोन आयो। महेन्द्रनगरबाट एउटा सामान पनि लिने र त्यहीबाट नेपालगञ्ज जानुपर्ने भनेर। अर्को दिन नेपालगञ्ज जाने तयारी गरेँ। सधैँझैं खाना खाएर सुतेँ र उही क्रम त्यो दिन नि दोहरियो।
बिहान उठेँ, हातमुख धोएर आमालाई ८ बजेतिर नेपालगञ्ज जानुपर्ने खबर सुनाएँ। आमाले खाजा तयार पार्नुभयो। खाजा खाँदै आफ्नै निजी सवारीमा नेपालगञ्ज जाने निधो गरेँ। पुस महिना, चिसो हुने नै भयो। बाहिर कुहिरो लागेर रातजस्तै भएको थियो। सोचेँ, म अब अलि सुटबुटमा उत्रिनुपर्यो। साँच्चै, मलाई नि हेर्ने रहेछन्, म पनि अलि राम्रै रहेछु लाग्यो। मसँग भएकोमध्ये राम्रोवाला लगाएँ। नयाँ सेतो जुत्ता, कटन पाइन्ट, सर्ट र ज्याकेट लगाएर म बाटो लागेँ।
मेरो घर मुख्य राजमार्गभन्दा ५ किलोमिटर भित्र पर्थ्यो। म राजमार्गमा पुगेँ। मैले नेपालगञ्ज जानको लागि पूर्व दिशातर्फ जानुपर्ने थियो तर एउटा सामान पनि लग्नुपर्ने भएर म पश्चिम दिशातर्फ (महेन्द्रनगर) लागेँ। सामान लिएँ र नेपालगञ्जको लागि फर्किएँ।
बजारबाट एक किलोमिटरको दूरीमा एक्कासी उनी भेटिइन्। उनी गाडीको पर्खाइमा रहिछन्। मेरो हात, खुट्टा सिधैं ब्रेकमा गयो। उनले लम्की जानुपर्ने बताइन्। म पनि नेपालगञ्ज जाँदै थिएँ। त्यही बाटोमा लम्की पनि पर्थ्यो। मैले सँगै जाउँ भनेँ। उनले नाई भनिनन्।
उनी दिदीको घर जाँदै रहिछन्। लम्की र कञ्चनपुरको दूरी धेरै पनि थिएन। करिब एक सय किलोमिटरको दूरी हामी सँगै यात्रा हुने निश्चित भइसकेको थियो। केहीबेर बोलचाल कमै भयो। कुरा केबाट सुरु गरुँ, केबाट भन्ने भयो। कुरा गर्न मन उनलाई नि थियो मलाई त झनै थियो। अब कुरा मैले सुरुआत गरेँ। मलाई कसरी चिन्नुभयो भन्नेबाट मैले कुरा सुरु गरेँ।
'मलाई सम्मान गरेको कसरी थाहा भयो? मलाई पहिलेदेखि चिन्थ्यौ कि त्यही दिन चिनेको?'
उनले पहिलेदेखि नचिन्ने जवाफ दिइन्। मलाई त्यो दिन चिन्ने र मेरो खुब प्रशंसा गर्ने मान्छे चाहिँ उनी चिन्ने रहेछिन्। हामी सामान्य कुरा गर्दै अत्तरिया पुग्यौँ। अब अत्तरियादेखि सिधा बाटो कुरा गर्न अझै सजिलो भयो। कुरा गर्दा फेसबुकमा 'सकु सानी' नाम रहेको र कर्णाली पुलमा खिचेको तस्बिर प्रोफाइलमा रहेको थाहा भयो।
उनलाई त मेरो फेसबुक पूरै थाहा रहेछ, साथी मात्रै नबनाएकी रहिछ। चौमालामा खाजा खाँदै केहीबेर घोडाघोडी तालको अवलोकन गर्यौं। केही तस्बिर पनि लियौँ। हाम्रो कुराकानी यति सामान्य थियो कि त्यसबेला यात्रामा अरु कोही भए नि फरक नपर्ने खालको। २/३ वटा तस्बिर खिचेपछि हामी बाटो लाग्यौं।
अब मलाई उसको नाम, ठेगाना, पारिवारिक पृष्ठभूमि सबै थाहा भयो। उसको तस्बिर पनि याद भयो। उसलाई त मेरो सबै थाहा नै रहेछ। उसले मेरो बारेमा अध्ययन पहिले गरिसकेकी रहेछन्। उनले भित्रभित्रै मलाई असाध्यै मन पराइसकेकी थिइन्। मलाई पनि उसले प्रस्ताव राख्यो भने नाई भन्ने अवस्था थिएन। तर प्रेमबारे कुनै कुरा चाहिँ भएन।
करिब ३ बजिसकेको थियो, हामी आफ्नो गन्तव्यतिर लाग्यौँ। लम्की आउन अब धेरै थिएन, केबल २५/३० किलोमिटर दूरी थियो जसका लागि बढीमा एक घण्टा लाग्थ्यो। हामी विस्तारै गयौँ। मौसम पनि त्यति राम्रो थिएन। घाम लागेको थिएन। बाहिर अत्याधिक जाडो थियो। कुहिरो लागेर दिउँसै रात परेको थियो। लम्की पुग्दा ५ बजिसकेको थियो। मलाई पनि नेपालगञ्ज पुग्नु थियो। त्यता धेरै रोकिनँ।
उनले बिदा माग्ने तयारी गर्दै थिइन्। मैले दिदीकै घरमा छोडिदिनुपर्छ भने छोडिदिन्छु भनेको थिएँ। उनले 'नजिकै हो म गइहाल्छु, तपाईंलाई नि ढिला हुन्छ नेपागञ्ज पुग्नुछ' भन्दै बिदा मागिन्। 'हुन्छ, त्यसो भए राम्रोसँग जानु, फोन सम्पर्क गर्नु, अब त नाम थाहा भइसक्यो फेसबुकमा पनि जोडिनुपर्ला' भनेको 'हुन्छ' भन्दै बिदा भयौँ। त्यहाँबाट नेपालगञ्ज पुग्न करिब डेढ घण्टाको यात्रा गर्नुपर्थ्यो। म आफ्नो बाटो लागेँ।
चिसापानीमा रोकिएर खाजा खाएँ। कर्णालीको माछा हो भनेर एकजनाले एउटा होटलमा लग्यो। माछा खाएँ। खाँदै गर्दा उनको नाम फेसबुकमा सर्च गरिहालेँ। फेसबुकले दोस्रो नाममा उनको कर्णालीमा खिचेको तस्बिर देखायो। रिक्वेस्ट पठाएँ। रिक्वेस्ट गरेको करिब ५ मिनेटमा एसेप्ट पनि भयो। मैले इमोजी पठाएँ तर अरु कुरा गरिनँ किनकि म छिटो निस्कनु थियो।
बर्दिया राष्ट्रिय निकुञ्जमा लागु भएको टाइम कार्ड प्रणाली, प्रतिघण्टा ४० किमिको गतिमा हिँड्नुपर्ने। त्यहाँको हरियाली दृश्य हेर्दै उनको बारेमा मनमा अनेक कुरा खेलाउँदै विस्तारै लागेँ। साँच्चै मेरो मनमा बसिसकेकी उनको तस्बिर मस्तिष्कमा खेल्दै थियो।
राति मात्र म नेपालगञ्ज पुगेँ। बास बस्न होटल गएँ। मोबाइल चार्ज सकिएर अफ भइसकेको थियो। चार्जमा राखेर फ्रेस भएँ। केही बेरमा होटलबाट खाना खान बोलाइयो। खाना खाएर पुनः कोठामा आएँ। अब त्यो दिनको मेरो काम सकिसकेको थियो। मात्र बाँकी थियो उनीसँग कुरा गर्ने र सुत्ने।
मोबाइलमा २३ प्रतिशत चार्ज भइसकेको थियो। चार्जमा जोडेकै अवस्थामा वाइफाई कनेक्ट गरेँ। सिधैं मेसेन्जरमा उनलाई हेलो भनेर पठाएँ। १५ मिनेटसम्म पनि जवाफ आएन। न मेसेज हेरियो न त अनलाइन नै देखेँ। अब शंका लाग्यो कि उनले मलाई यत्रो बाटोमा फोनसम्म किन गरिनन् भनेर।
कल नै गर्नुपर्यो भनेर फोन लगाएको त मोबाइल अफ पो रहेछ। चार्ज सकिएको होला सोचेँ। केहीबेरमा पक्कै अनलाइन आउँछिन् होला भनेर पर्खाइमा बसेँ ।
उसको फेसबुकमा रहेको फोटो हेर्नुपर्यो भनेर फेसबुक प्रोफाइल लगइन गरेको त हातबाट मोबाइल खस्यो। यति झस्किएँ कि त्यो दिन मेरो लागि कालो दिन बन्न पुग्यो। एक गिलास चिसो पानी खाएँ र मोबाइल समातेर आफूलाई सम्हाल्ने प्रयास गरेँ। उनको प्रोफाइलमा त उनीलाई नै ट्याग गरेर हार्दिक श्रद्धाञ्ली लेखेको थियो।
हेर्दै गएँ। कसैले सडक दुर्घटनामा परी मृत्यु भएको लेखेका थिए, कसैले ट्रकको ठक्करबाट मृत्यु भनेर राखेका थिएँ। पत्यार लागेन, समाचारका लागि आधिकारिक न्यूज साइटहरू खोल्न थालेँ। कतै भेटाइनँ र लम्कीका स्थानीय अनलाइन खोलेको त समाचार नै देखेँ।
समाचारमा लेखेको थियो- ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु! म पागलजस्तै भइसकेको थिएँ। सायद त्यस्तो चोट मलाई कहिले परेको थिएन। त्यो दिन मेरो लागि जीवनको कालो दिन बन्न पुग्यो। उनीसँगको परिचय त्यति नै रहेछ। त्योभन्दा त परिचय नै नभइदिएको भए मलाई पीडा त हुनेथिएन।
उनको तस्बिरमा हार्दिक श्रद्धाञ्जली लेख्नुबाहेक मसँग शब्द नै थिएन। उनको याद र तस्बिर मेरो मनमा सधैं जीवित नै हुनेछ। भौतिक शरीर नरहे पनि उनीसँगका छोटो समयमा बिताएका ती पलहरू अविस्मरणीय रहनेछ। मिस यू सकु!