कवि ज्यू,
आउनु हाम्रो सानो वस्तीमा
यहाँ दलितको मात्र झुपडी छ
झुपडी सँगसँगै अन्धकार छ
अन्धकार सँगसँगै मजस्ता कयौं दलित युवाहरूको
उज्यालो सपना छ
कवि ज्यू
उज्यालो सपना त छ
तर भविष्य औंसीको रातजस्तै निस्पट्ट अन्धकार छ
कसरी? नसोच्नु होला
किन? नसोध्नु होला
कवि ज्यू
माथिल्लो राजा महाराजाहरूले
पानी पँधेरो, धारा छुन दिएन
ईश्वर भनी पुज्ने ढुंगा पुज्न दिएन
साना नानीबाबुलाई स्कुल जान दिएन
औषधि गर्न स्वास्थ्य चौकी छिर्न दिएन
कवि ज्यू
हामी आफै
पँधेरो अलग्गै बनायौँ
देउता र मन्दिर अलग्गै बनायौँ
यी नानीबाबुलाई अशिक्षित बनायौँ
औषधिमुलो गर्न नपाएर
हजुरआमा गुमायौँ, हजुरबा गुमायौँ
आमाको घाउ उस्तै छ, बाबाको चोट उस्तै छ
कवि ज्यू
तपाईंलाई थाहा नहोला
मेरो दाइको हत्या भएको कुरा
मेरो बहिनी बलात्कृत भएको कुरा
कवि ज्यू
आउनु म तपाईंलाई भन्नेछु
कुन राजाले मेरो दाइको हत्या गरेको भनी
कुन महाराजाले मेरो बहिनीको बलात्कार गरेको भनी
कवि ज्यू
तपाईं त नामि कवि
समाजको रुढीवादी, गलत संस्कार र संस्कृति
विकृतिको बारेमा कविता लेख्नु हुने कवि
कवि ज्यू
एकपटक हाम्रो सानो यो दलित वस्तीमा आउनु
हाम्रो दु:ख लेख्नु
चोट, पीडा लेख्नु
देखाइदिनु हाम्रो आँसु
सुनाइदिनु हाम्रो रोदन
राजधानीले देख्नेछ कि
राजधानीमा बस्नेहरूले सुन्नेछ कि
समाजले काँचुली फेर्ने पो हो कि
हाम्रा नानी बाबु शिक्षित पो हुन्छ कि
हामी युवाले देखेको सपना र लक्ष्य पूरा हुन्छ कि
हाम्रोजस्तै अन्धकार अरु वस्ती पनि उज्यालो हुन्छ कि।