हिजोआज यहाँ
ठूलो हाट लागिरहेको छ
एकातिर
विचार, सिद्धान्त, लाज,
नैतिकता, आदर्श
थाङ्नामा फिंजाएर
भाउ खोज्दैछन् व्यापारीहरू
अर्कातिर
टिकट, कुर्सी, पैसा, आश्वासन
हातमा खेलाउँदै
मोलतोल गर्दैछन् क्रेताहरू
यो शुद्ध पशु हाट हो
साँझसम्म यहाँ
बेच्नेहरू 'मान्छे' बेचेर फर्कन्छन्
किन्नेहरु 'पशु' किनेर फर्कन्छन् ।