स्वीकृत नक्सा थन्क्याएर
हुलका हुल मानिसहरू
हाहा, हुहु, गल्याङ गुलुङ
कराइरहेछन्, बर्बराइरहेछन्
एक उजाड वस्ती
जहाँबाट युवायुवतीका पाइलाहरू
सिमली काँडा बिझे झैं उछिट्टिरहन्छन्
हल्लाखल्ला जारी रहन्छ
झ्याल हुनुपर्ने ठाउँमा ढोका भयो
यो त साह्रै ठूलो धोका भयो
एउटा नाइके कराउँछ
एक हुल मान्छेहरू पछ्याउँछन्
अनि विस्तारै हराउँछन्
भिरालोमा घर बन्दै बन्दैन
बन्छ
तर भान्छाकोठा हाम्रो चोटा हुनुपर्छ
होइन, होइन
पर समथरमा उभिएको घरको मात्र भर हुन्छ
त्यस्तो घर पो घर हुन्छ
भुँइमान्छेहरू
टाकुरामा उभिएर पारि हेर
घर त त्यस्तो हुन्छ
अजंगको अनौठो हुन्छ
कहाँ त्यस्तो हुन्छ?
कुवाका भ्यागुताहरू
कुमारले जस्तो मयुरमा चढी
संसार घुमेर हेर
सेता-सेता टल्किने आधुनिक घरहरू
हुलैहुलको एउटा बहुल वस्तीमा
बहुलठ्ठीपन किन चलिरहन्छ?
पर्दाबाहिर तर्क अनि पर्दाभित्र
कर्तूत किन छेलिरहन्छ
हिमालको काखमा चिसो ढुंगामा
बसेर ऊ किन सोचिरहन्छ, सुनिरहन्छ?
स्वीकृत नक्सा र विचार
खेर गइरहेका निर्माण सामाग्री र समय
दरिलो सोच र वलिष्ठ हातगोडाहरू
एकत्रित पार्ने कर्मयोगी नभेटिँदा
अनवरत कर्मशाला नबन्दा
स्वीकृत नक्सा बमोजिमको एउटा स्वप्निल घर
फगत एक कथा नबनोस्।