एउटा मान्छे हुन्छ
मान्छेहरू जस्तै मान्छे
तर अलि विशिष्ट मान्छे
ठूलो मान्छे
प्रगति गरेको मान्छे।
त्यो मान्छे
जसले
मेहनत गर्यो
प्रगति गर्यो
ठूलो भयो
उसका वरिपरि थुप्रै मान्छेहरू हुन्छन्
आफ्नै बन्न खोज्छन्
नाता लगाउँछन्
चिनिन खोज्छन्
आत्मियता दर्शाउँछन्
सानिध्यता जताउँछन्
त्यो मान्छे मख्ख पर्छ
गर्व गर्छ प्रगतिको
अरुभन्दा विशिष्ट ठान्छ आफूलाई
अरुले गर्ने 'हाइहाई'लाई
चीरस्थायी मान्छ
हौसिन्छ ऊ
रौसिन्छ ऊ
सुरुमा उसका साना गल्तीलाई
ती मान्छेहरू सजिलै पचाइदिन्छ्न्
ढाकछोप गर्छ्न्
भुइँ भुल्छ ऊ
आकाशिन्छ ऊ
गल्तीको खल्ती गहिरिँदै जान्छ
एकपछि अर्को थपिँदै जान्छ गल्ती
खबरदारी हुँदैन
छेकबारी हुँदैन
ती मान्छेहरूबाट
किनकी ऊ रिसाउने ठानिन्छ
मन नपराउने मानिन्छ
अनि...
अनि एकदिन उसले
अक्षम्य गल्ती गर्छ
नराम्ररी खस्छ ऊ
उचाइ जति त्यति तल
एक्लै।
दर्दनाक पीडाको पहाड!
हेर्छ याताउता
मान्छेहरू हुँदैनन्
सिर्फ हावाबीच हुँदै भुइँमा
बजारिन्छ ऊ
रन्थनिन्छ ऊ
र सम्झन्छ त्यो गल्ती
जसलाई उसले पहिले गल्ती नै ठानेन
अब उसका नजिक मान्छेहरू हुँदैनन्
ती मान्छेहरू
जो हिजो अघिपछि हुन्थे
अब उनीहरू
अर्को ठूलो मान्छेको खोजिमा हुन्छन्
ऊ एक्लो हुन्छ
बिल्कुल एक्लो
गल्ती गन्दै गरेको
एक्लै बसेको
एक्लै लडेको
भुइँमा लडिरहेको
लडिरहेको...।