साँझको समय। बाहिर सिमसिमे पानी पर्दै थियो। म खाना खाएर सुत्ने तयारी गर्दै थिएँ। सिरकमा गुट्मुटिँदै फेसबुक खोलेँ। फेसबुकमा एउटा नाम अगाडि आयो- कविता गौतम। मन पर्ने नाम थियो, राम्रो लाग्यो। उसको प्रोफाइल खोलेर हेरेँ, खुब राम्री लाग्यो ऊ मलाई।
सुन्दर कुरालाई हेरेर नजिक हुनु प्रेम हैन, यो आकर्षण हो भन्ने कुरा नि छ। तर मैले मन पराएँ। ऊ राम्री लाग्यो वश। उतिखेर नै मैले फ्रेण्ड रिक्वेस्ट पठाएँ। उसले केही दिनपछि रिक्वेस्ट एसेप्ट गरी।
कुरा गर्दै जाँदा उसको घर मेरोभन्दा पल्लो गाउँमा रहेछ। हाम्रो घरको भौगलिक दूरी निकै कम थियो। उसलाई पनि केही सजिलो भयो कुरा गर्न म उसैको गाउँ नजिकको भएपछि। केही दिनपछि लामो कुराकानी हुन थाल्यो। हाम्रो निकटता मैले महसुस गरेपछि उसलाई प्रेम प्रस्ताव राखेँ। ऊ आनाकानी गर्दै थिई तर पनि केही दिनपछि सहमती जनाई।
हाम्रो बसाइको दूरी भने अलि टाढा थियो। उसले सम्बन्धलाई राम्रो बनाउन र विश्वास जित्ने तर्क राख्दै फेसबुक आइडी र पासवर्ड मागी। उसले पनि आफ्नो फेसबुकको पासवर्ड मलाई दिई। ऊ मेरी प्रेमिका र म उसको प्रेमी भएँ। बुज्दै जाँदा केही कारणवश ऊ हाल सहरमा अध्ययन गर्न भनेर नेपालगन्जमा बस्दै आएकी रहिछ।
विस्तारै हामी भिडिओ कल र अडिओ कलमा व्यस्त हुन थाल्यौं। म काठमाडौंमा थिएँ। हामी एकअर्कालाई देखेका पनि थिएनौँ र भेटेका पनि थिएनौँ। देखेको र बोलेको थियौँ त केबल त्यही फोटो र भिडिओ कलमा। न यो बीचमा भेट्ने कोसिस गरियो, न भेट भयो।
यसरी विस्तारै हाम्रो सम्बन्ध पनि राम्रो हुन थाल्यो। प्रेम पनि बढ्दै गयो। मलाई उसको असाध्यै माया लाग्न थाल्यो। कहिले एकाबिहानै 'हाई गुडमर्निङ' भन्दै आउँथी त कहिले म भन्थेँ। केही कारणवश ऊ अनलाइन आइन भने फोन गर्थी त कहिले एसएमएस गर्थी। प्रायः हाम्रो कुराकानी नभएको दिन हुँदैन थियो।
यसरी नै चलिरहेको थियो हाम्रो सम्बन्ध। तर ऊ एकदिन अनलाइन आइन। फोनकल र म्यासेज पनि गरिन। उसलाई कल गर्दा उसको फोन पनि लागेन। केही दिन हराई ऊ मेरो कन्ट्याक्टबाट। केही दिनपछि नयाँ नम्बरबाट कल आयो। फोन उठाएँ, उसको साथीको रहेछ। उसको साथीका अनुसार कविताको स्कुटर दुर्घटना भएर अहिले नर्सिङ होममा भर्ना गरिएको रहेछ।
उसको अवस्था हेर्न मलाई नि त्यही जान मन थियो तर म टाढा थिएँ। भिडिओ कलसम्म गर्न सकिएन। उसको मोबाइल पनि फुटेछ। यो खबरले मलाई निःशब्द बनायो। उसको साथीले 'आजै डिस्चार्ज हुँदैछ, आत्तिनु पर्दैन' भनी। मन केही हलुका भयो।
उसलाई टाउकोमा चोट लागेको रहेछ, पछि मात्र थाहा पाएँ। डाक्टरले धेरै औषधि लेखिदिएको रहेछ उसलाई खानु भनेर, उसले मलाई फोन गरेर सुनाई। मैले छिट्टै सन्चो होस् तिमीलाई भनेँ। ऊ केही खुसी भई। ऊ प्ल्स-टुपछि महेन्द्र मल्टिपल क्याम्पसमा बिए प्रथम वर्षमा भर्ना भई।
उसको समय तालिका परिवर्तन भयो। ऊ बिहान कलेज जान्थी र बेलुका धेरै कुरा हुन पाउँदैन थियो। म उसलाई बिहानै कल गर्थें। ऊ कलेज नपुगुन्जेल हामी फोनमा कुरा गर्थ्यौं। साह्रै राम्रो सम्बन्ध थियो हाम्रो। यसरी नै चल्दै थियो हाम्रो दिनहरू।
कलेज जान थालेपछि उसको नयाँ साथीहरू थपिए। मसँग ऊ विस्तारै कम बोल्दै गई। त्यही बीचमा उसले एउटा आइएनजिओमा जागिर खान थाली। म त्यो बेला बेरोजगार थिएँ। ऊ दाङ बसाइ सरी। ऊ र उसको एउटी साथी एउटै कोठामा बस्ने भए फेरि। ऊ विस्तारै मलाई बेवास्ता गर्न थाली। पहिले धेरै बोल्ने ऊ अचेल बोल्न मन गर्नै छोडी।
कल गर्दा पनि खासै राम्रोसँग बोल्दिन ऊ। उसलाई मबाट टाढा जान मन लागेको थियो होला सायद, ऊ झगडा गरी रहन्थी बिनाकारण। फोटोमा लभ रियाक्ट, कमेन्ट केही नगर्नु भन्थी। फोन गर्दा पनि उठाउन्न थिई।
मलाई निकै तनाव र कौतुहूलता बढ्दै थियो। उसले सम्बन्धलाई मजाकको रुपमा लिएको जस्तो मलाई लागेको थियो। धेरै पटक मैले कल गरेपछि रिसाउँदै उसले कल गरी र भनी- 'न तँलाई मैले देखेको छु न तँसँग कुनै गतिलो जागिर छ। म तँलाई के कुरा हेरेर बिहे गर्नु त आफै भन्?'
रिसाउँदै नमिठो तरिकाले भनी। यो कुरा ऊबाट मैले कहिल्यै पनि सोचेको थिइनँ। तर म चुपचाप सुनिरहेँ। उसले तथानाम गाली र प्रश्नहरूका चाङ लगाई। म सुनिरहेँ, जवाफ फर्काउनु उचित लागेन। केबल उसको कुरा सुनिरहेँ मैले। यी सबै कुरा भनेर उसले फोन राखी।
उसले 'म तँसँग बिहे गरेर मेरो जीवन बर्बाद पार्न चाहन्नँ' भनेको कुराले नमज्जाले पीडा दियो। हुन पनि हो, मसँग न जागिर छ न उसलाई मैले भेटेको छु। आफूलाई छोड्नुको कारण थाहा पाएँ, आफूसँग जागिर नहुनु।
एकदिन फेसबुक हेर्दै थिएँ, उसलाई अनलाइन देखेँ। उसको फेसबुक आइडी लगइन गरेँ। धन्न उसले आफ्नो फेसबुकको पासवर्ड बदलेकी रहेनछ। उसको मेसेन्जरमा मेसेज आयो- 'म तिमी बिना बाँच्न सक्दिनँ, आई लभ यू' भन्दै। यताबाट उसले पठाई 'लभ यू टू।'
म हेरेको हेरै भएँ उसको त्यो मेसेज। हातबाट मोबाइल खस्यो। आँसु आयो। अचानक केही भन्न सकिनँ मैले। धेरै लामो सम्बन्ध जागिर नभएको कारण गुमाउँदा दुःख लाग्यो। उसको साथीलाई मैले मेसेज गरेँ- 'कविताले बिहे गर्दै हो र?'
उसले 'हाम्रो अफिसको बोससँग रेलेसनमा छ' भनी। मैले सम्झिएँ फेरि उसले भनेको- न तँसँग जागिर छ न तँलाई मैले देखेको छु।'
आफूलाई सम्हाल्न विवश भएँ। 'ऊ मेरो प्रेमिकाबाट हाकिमको बुढी हुँदैछे, उसलाई दाम्पत्य जीवनको शुभकामना भनिदिनू है' भन्दै सधैंको लागि आफ्नो फेसबुक आइडी डिएक्टिभेट गरेँ। एउटा परिचित मान्छे गुमाएकोमा केही दुःख अवश्य लाग्यो।