दु:ख भोगिसकेको गरिबले कहिले पनि अर्कालाई ठग्दैन होला। ठग्न जान्ने भए त ऊ धनी भइहाल्थ्यो नि अनेक तिकडम गरेर भए पनि। यस्तै यस्तै कल्पना गर्दागर्दै कृष्णको नजर रिक्सावालाको गोडामा पर्यो।
ठाउँ-ठाउँमा च्यातिएको मैलो एकसरो धोती लगाएको। पट-पट फुटेर ठाउँ-ठाउँमा रगत देखिएको पैतलामा लोता चुँडिएर डोरीले यसो अल्झाएर पनि फेरि छिन्न लागेको टायरको चप्पल। बलराम पनि सोचमग्न हुँदै कृष्णको छेउमा बसेको थियो। रिक्सावाला सकिनसकी एकनासले उनीहरू चढेको रिक्सा चलाइरहेको थियो।
काँकडभिट्टाबाट जिप चढेर मेची नदीपारि बोर्डर क्रस गरेका बलराम र कृष्ण सिलुगुडी पुगेपछि भने बाँकी यात्रा सिलुगुडीबाटै बसबाट तय गर्ने कि जलपाइगुडी पुगेर रेलबाट गर्ने भनेर सोच्दै थिए। किनकी रेल चढ्न जलपाइगुडी पुग्नु पर्दथ्यो।
यताउता हिँडदा पनि उनीहरू अलि चनाखो भएर हिँडेका थिए। उनीहरूले यस्तो सिमानामा नेपालिलाई ठग्छ भन्ने सुनेका थिए। झुटो हो कि साँचो तर सिलुगुडीमा त नेपालिले पनि नेपालिलाई ठग्छ भन्ने सुनेका थिए। यसरी सोच्दा सोच्दै धेरै रिक्सावालाले उनीहरूलाई रिक्सा चाहिन्छ भनेर सोधिसकेका थिए।
तँछाड मछाड गर्दै सात/आठ वटै रिक्साले सोधेपछि एउटा ठाउँ-ठाउँमा दाँत फुक्लेको, आँखा धसिएको, कपाल जिङरिङ्ग जगल्टा परेको, झिनो, फू गर्दा ढल्लाजस्तो रिक्सावालाको रिक्सालाई कृष्णले छान्यो।
'हैन, यसले हामीलाई तान्न सक्ला र? अलि बलियो रिक्सावाला भए पो,' बलराम कृष्णलाई भन्यो।
'निर्धोलाई कसैले छानेन भने त यसको परिवारले के खाने?,' कृष्णले हृदयदेखि नै दयालु मनासय व्यक्त गरे। आवरण र ख्वाउटेपन देखेपछि उनलाई त्यो रिक्सावालाको साह्रै दया लागेको थियो।
'कति पैसा लिन्छौ त?'
'पन्ध्र रूपैयाँ,' मसिनो स्वरमा रिक्सावाला बोलेको थियो।
त्यतिबेला धेरै वर्ष पहिलेको कुरो भएकोले मंहगाइ धेरै थिएन। यात्राको भाडा सस्तै थियो।
कृष्ण र बलराम खुसी भएर आफू आफूमै अनेक गफ गर्दै रिक्सा चढेका थिए। उनीहरूले त्यो रिक्सावालको रिक्सा छानेर चढेपछि रिक्सावाला ठूलै युद्ध नै जितेजस्तो गरेर दङ्ग परेर मुस्कुराएको थियो।
सायद उसको मनमा खेलिरहेथ्यो होला मिठा मिठा सपना। त्यो पन्ध्र रूपैयाँले अलिकति आँटा किन्दो हो। अलिकति सब्जी किन्दो हो। आफ्नो पसिनाको कमाइले आफ्नो परिवारको वरिपरि बसेर एकछाक आनन्द मानेर खाँदो हो।
त्यसरी सोच्दासोच्दै कृष्णले फ्याट्ट रिक्सावालालाई सोध्यो, 'तिम्रो नाम के हो?'
'समीर हजुर,' रिक्सा सकि नसकी जीउज्यान लगाएर तान्दै रिक्सावालाले जवाफ दियो।
नाम चाहिँ समीर। नामअनुसार त हावाको गतिमा रिक्सा हुँइकिनु पर्ने तर रिक्सा भने कछुवाको गतिमा घिस्रिँदै थियो।
'गुहावटी जाने ट्रेन त छुट्ने हो कि क्या हो! यसले रिक्सा तान्नै सकेको छैन। नभए फेरि अर्को सात घण्टा कुर्नुपर्ने हुन्छ,' बलराम नेपालि भाषामा कृष्णसँग बेखुसी पोख्दै थियो।
'अझै आधा घण्टा छ, पुगिन्छ होला,' कृष्ण त्यति आत्तिएको थिएन।
उसलाई भने त्यो गरिब रिक्सावालाको दया लागेको थियो। ऊ मनमनै धेरैथोक सोच्दै थियो।
'यसले दिनमा कति कमाउँदो हो! सबै दिन भरपेट खान पाउँछ कि पाउँदैन। केटाकेटीको पढाइ, परिवारको लत्ताकपडा, घरखर्च कसरी पुर्याउँछ होला? यसको घर छ कि छैन?' आदि इत्यादि कुराहरू दिमागमा खेलिरहेको थियो। समीरले चलाएको थोत्रे रिक्सा चाहिँ कुँइकुँइ एकनासले कराइरहेको थियो। कराउँदा कराउँदै झ्वाट्ट ठूलै आवाज आयो। समीरले बल गरेर ब्रेक लगायो। रिक्सा हुत्तिएर अलि पर गएर रोकियो।
'साहेब, चेन खुस्कियो म बनाउँछु,' समीरले बङ्गाली टोनमा हिन्दीमा भनेको थियो। समीर पश्चिम बङ्गालको थियो।
पसिनाले लोथपोथ भएको समीर निहुँरेर चेन बनाउन खोजिरहेको थियो। घरीघरी निधारबाट आँखामा चुहिन लागेको पसिना हत्केलाले पुछ्दा मुखमा र गालामा ग्रीजको कालो पसिनासँगै दलिन्थ्यो। घरीघरी ठाउँ-ठाउँमा प्वाल परेर च्यातिएको गन्जीले चुहिन लागेको पसिना पुछ्थ्यो। निकै कठिन प्रयासपछि बल्ल उसले चेन बनायो। अनि कालो ग्रीज दलिएको गाला तन्काएर मुसुक्क हाँस्यो। त्यो मुस्कान उसको सफलताको मुस्कान थियो।
'साहेबहरू, चढनुहोस अब जाऔँ।'
'राम्ररी बन्यो त? फेरि फुस्किएर लडिएला नि?,' बलरामले अलिकति शङ्का व्यक्त गर्यो।
'राम्ररी बनाएको छु,' समीरले ढुक्क हुने संकेत गरेर फेरि रिक्सा तान्न बल लगाउन थाल्यो।
बल्लतल्ल जलपाइगुडी रेल स्टेशन रिक्सा पुग्यो। बलराम र कृष्ण हतार हतार आफ्नो समान च्यापेर ओर्लिए। बलरामले भारू पन्ध्र समीरको हातमा राख्न खोज्यो।
'साहेब, पन्ध्र हैन तीस रूपैँया हो,' त्यस्तो मुसोजस्तो गरी बोलिराखेको समीर सिंह झैँ गर्जदै बोल्यो।
'अनि पन्ध्र भनेको हैन त?,' बलरामले रिक्सावालालाई मोलमोलाइ हुँदा पन्ध्रमा उसले मन्जुर गरेको सम्झना दिलाउने कोसिस गर्यो।
'एकजनाको पो पन्ध्र, दुई जनाको त तीस रूपैँया,' रिक्सावाला झनै कठोर हुँदै गयो।
कृष्ण केही नबोली चुपचाप यो दृश्य हेरिरहेको थियो। कृष्णले पहिले नै बलरामले पन्ध्र रूपैँया दिएपछि बक्सिस भनि अर्को पन्ध्र थपिदिन्छु भनेर सोचेको थियो। तर यहाँ त घटनाक्रमले अर्कै मोड पो लियो।
बलराम र रिक्सावालाको ठूलो-ठूलो स्वरमा झगडै पो हुनथाल्यो। रेलवे स्टेशनका अरू रिक्सावालाहरू पनि जम्मा भए। सबैजना मिलेर कृष्ण र बलरामलाई कुटुलाझैँ गर्न थाले।
'भैगो भैगो' भनेर कृष्णले तीस रूपैँया समीरको हातमा राखिदियो। अनि बल्ल झगडा सामसुम भयो। जलपाइगुडीबाट गुहावटी जाने रेल पनि छुटिसकेछ।
'कृष्ण, तिमीले समीरको दया गर्ने भएर अब सात घण्टा अर्को ट्रेन कुरेर बस्नु पर्ने भयो,' बलरामले उदास हुँदै भन्यो।
कृष्ण पनि धेरै नै उदास भयो। 'गरिबले कहिले पनि अर्कालाई ठग्दैन होला' भन्ने उसको सोचाइलाई आज रिक्सावालाको कर्तुतले ठूलो ठेस लाग्यो।
'समीरले किन यसरी ठग्यो त? सुरुमै दुई जनाको भारू तीस भनेर भनेको भए पनि त हामी दिइहाल्थ्यौँ नि। पहिले एकथोक भनेर पछि दोब्बर भाडा असुल्ने ठगी उसले किन गर्यो त? के उसको मनमा दयामाया हुँदैन त? के यसरी नै समीरले झूट बोलेर ठगेरै जीविका चलाउँछ त? उसको सोचाइ पनि गरिबै हुन्छ त? उसको व्यवहार पनि गरिबै हुन्छ त?' प्रश्नहरू कृष्णको मनमा रूमल्लिरह्यो। चारैतिरबाट धुवाँको मुस्लो माथि-माथि आकाशको बादलमा रुमल्लिएको जस्तो।
रेल चढेर गुहावटी जाँदा बलराम थाकेर आफ्नो बर्थमा मस्तले सुतिरहेको थियो। कृष्ण भने के-के सोच्दा सोच्दै निदाउन सकिरहेको थिएन किनकी कृष्णलाई दया लागेको, उसले विश्वास गरेको एउटा गरिब रिक्सावालाले उसको विश्वासमा आघात पुर्याएको थियो। उसको दयालु मनमा चोट पुर्याएको थियो।
गुहावटी नजिकै कृष्ण र बलरामको दूध डेरीको ठूलो व्यापार थियो। व्यापारको सबै बन्दोबस्त मिलाएर पाँच महिनापछि उनीहरू फर्केर आउँदा पनि जलपाइगुडीबाट सिलुगुडी रिक्सामै जानु पर्ने भयो। फेरि रिक्सावालाहरू तँछाड मछाड गर्दै थिए।
उनीहरू एउटा रिक्सामा के चढ्न लागेका थिए पर कुनामा एउटा ठाउँ ठाउँमा दाँत फुक्लेको, आँखा धसिएको, कपाल जिङरिङ्ग जगल्टा परेको, झिनो, फू गर्दा ढल्लाजस्तो रिक्सावाला निराश भएर चुपचाप रिक्सा समातेर उभिरहेको थियो। कृष्णलाई त्यो समीर जस्तो लाग्यो। तर त्यो मान्छे समीरभन्दा अझ बुढो देखिन्थ्यो।
'एकछिन है बलराम' भनेर ऊ त्यो कुनाको रिक्सावालाको नजिकै पुग्यो। कृष्णले चिनिहाल्यो ऊ समीर नै रहेछ। ऊ त झन् खिइएर दुब्लो हाडछाला मात्र भएछ। यसपालि ऊ पहिलेजस्तो तँछाड मछाड गरेर नआई निराश भई झोक्राएर बसेको थियो।
'समीर, मलाई चिन्यौ?'
'चिने साहेब' ऊ रुँलाजस्तो गरेर मुन्टो माथि उठाउँदै मसिनो स्वरले बोलेको थियो।
'बलराम, आऊ यता हामी समीरकै रिक्सामा जाऔँ,' कृष्णले ठूलो स्वरमा कराउँदै बलरामलाई बोलायो।
बलरामले पनि के सोच्यो कुन्नी बिना कुनै विरोध सामान च्यापेर समीरको रिक्सा भएतिर आयो। सायद बलरामलाई पनि रिक्सावालाको माया लागेको हुँदो हो।
उनीहरू रिक्सामा चढे। समीर रिक्सा सकिनसकी तान्न थाल्यो। उसले पहिलेको जस्तो पनि रिक्सा तान्न सकिरहेको थिएन। ऊ थाहा नहुने गरी सुक्क-सुक्क रुँदै आँसु पो लुकाउन खोजिरहेको थियो।
'के भो समीर, किन रोएको? यसपालि त कति भाडा लाग्छ पनि भनेनौ। सुरु सुरु रिक्सा हाँकिरहेको छौ।'
'साहेब, मैले हजुरहरूलाई अघिल्लो चोटि ठगेर ठूलो पाप गरेँ। आज मैले हजुरहरूलाई सित्तैमा लग्नुपर्छ। मलाई माफ गरिदिनुहोस् साहेबहरू' भन्दै ऊ झन् रूँदै आँसु झार्दै च्यातिएको मैलो गन्जी घरीघरी माथि तान्दै आँखा पुछिरहेको थियो।
बलराम पनि समीर रोएको देखेर खिन्न मन लिएको जस्तो देखिन्थ्यो। के भयो त भन्ने भाव लिएर समीरलाई चुपचाप हेरिरहेको थियो।
कृष्णले चाहिँ समीरको रुवाइभित्र उसको वेदना भरिएको बोलीभित्र एकदमै पीडाको आभास पाइरहेको थियो। उसको भित्री अन्तरमनले भन्दै थियो 'समीर पक्कै पनि ठूलै दु:खको भूमरीमा परेको छ।'
'समीर, तिमी केही हामीसँग लुकाइरहेको छौ। मलाई थाहा छ भलाद्मी अनि मेहनती मान्छे कहिले पनि झुटो बोल्दैनन। मलाई साँचो साँचो कुरा भन। नत्र म तिमीलाई कहिले पनि विश्वास गर्दिनँ,' एक्कासी कृष्णको मुखबाट निस्कियो।
'त्यसो नभन्नुस् साहेब, मैले पहिलो चोटि नै तपाईंहरूलाई ठगिसकेँ। अहिले पछुतो भइरहेछ।'
'त्यसो भए सही कुरो भन न त। गल्ती त मानिसबाट भइहाल्छ नि। तिमीले त पश्चात्ताप गरिसक्यौ। पश्चात्ताप गर्नु नै मानिसको महानता हो।'
'साहेब' भनेर ऊ झन् कस्सी कस्सी रून थाल्यो।
'नरोऊ समीर। तिम्रो मनमा केही त्यस्तो दु:ख भए भन,' कृष्णले उसलाई सान्त्वना दिँदै भन्यो।
'साहेब, मेरी श्रीमती ओछ्यान परेकी छिन्। बस्न उठ्न सक्दिनन्। आन्दोलनकारी र पुलिसको झडपमा एउटा गोली उछिट्टिएर उनको जीउमा लागेर उनी थला परेकी छिन्। डाक्टरले तुरून्त अप्रेशन गरेर गोली शरीरबाट झिक्नुपर्छ भनेको छ। नत्र शरीरको अरु भित्री अङ्गहरू नराम्रो गरी ड्यामेज गर्दै जान्छ रे,' भन्दै रिक्सावाला बररर आँसु झार्न थाल्यो।
'नरोऊ समीर, अनि अप्रेशन किन नगरेको त? तुरून्त एम्बुलेन्स बोलाएर अस्पताल लगेर अप्रेशन गराइदेऊ। नत्र दिनदिनै झन् शरीरमा इनफेक्सन बढ्दै जाला।'
'त्यो त हो साहेब, त...र तर...' भन्दै समीर रूँदै बोल्दै गर्दा उसको बोली अड्किन गयो।
'के तर?' कृष्णले भावुक हुँदै समीरको उदास अनुहार हेरिरह्यो।
'बाह्र हजार रूपैयाँ लाग्छ रे! म त्यत्रो पैसा कहाँबाट ल्याउन सक्छु र!' समीरको असहायपन जाहेर भइरहेको थियो उसको अनुहारमा।
त्यसपछि गरिब रिक्सावालाको कुरोले कृष्णलाई पनि साह्रै मन छोयो। बलराम पनि मायालाग्दो अनुहार लिएर समीरलाई हेरिरहेको थियो।
'समीरले यत्रो जिन्दगीभर मेहनत गरेको, अनि दु:ख गरेको के काम लाग्यो त? जब कि ऊ आफ्नो अर्धाङ्गिनीको औषधिउपचार पनि गर्नसक्ने स्थितिमा छैन। अकारण आन्दोलनकारीको गोली बोक्नु परेर बिरामी भई ओछ्यान परेकी एउटी मात्र सुखदुःखकी प्रियाको दिनरातको दर्द केवल टुलुटुलु हेरिरहनु परेको छ। श्रीमतीलाई बिसेक भएको देख्ने चाहना केवल उसका आँसुहरूले भिजाइ रहेकाछन्।
के गरिबले सधैँ पीडा मात्र सहेर बस्नुपर्ने हो र? गरिबको जीवनस्तर उठाउन सरकारले किन केही गर्दैन? किन कुनै ठोस योजनाहरू ल्याउँदैन? के मिठो खानु, राम्रो स्कुल जानु, आरामको घरमा बस्नु, सरर गाडीमा हिँडनु धनीलाई मात्र हो त? धनीले पनि गरिबको निम्ति किन अलिकति पनि सोच्दैनन्? गरिबी उक्सिए पो हाम्रो समाज उक्सिन्छ। हाम्रो गाउँ, घर, सहर, राज्य र देश नै सुसम्पन्न र धनी हुन्छ।'
कृष्णले सोच्दासोच्दै रिक्सा सिलुगुडी पुगिसकेछ। कृष्ण र बलराम आआफ्नो सामान सम्हाल्दै ओर्लिए।
'साहेबहरूको सधैँ भलो होस्, म अब जान्छु,' भनेर न्याउरो घोसेमुन्टो लगाएर नमस्ते गरी समीर रिक्सा हाँकेर जान तयार भयो।
'पख समीर, भाडा त लिएर जाऊ,' कृष्णले समीरलाई रोक्न खोज्दै भन्यो।
'हैन हजुर। मलाई मैले हजुरहरूलाई दोब्बर भाडा लिएको पाप पखाल्न दिनुहोस्। यसपालि मैले भाडा लिन मिल्दैन,' सायद समीरको उदास मुहारमा उसको बिरामी श्रीमतीको पीडा झल्किरहेको थियो। उसको अनुहार पीर र चिन्ताले फुङ्ग उडेको थियो।
जब फेरि समीर जान रिक्सा गुडाउन मात्र के लागेको थियो, 'पख, पख' भन्दै कृष्णले समीरको रिक्सा च्याप्पै समातेर रोक्यो। अनि आफ्नो झोला झिक्दै व्यापारबाट उठाएर ल्याएको पैसा स्वाँइ स्वाँइ सत्र हजार गनेर एउटा सानो ब्यागमा हाल्यो।
'ल समीर, यो पैसाको बाह्र हजारले तिम्रो श्रीमतीको आजै अस्पताल लगेर अप्रेशन गरेर शरीरबाट गोली झिक्नु। अनि बाँकी पाँच हजारले औषधी किन्न, तागतिलो खाना खान र अरु उपचारको क्रममा भैपरी आउने खर्चमा प्रयोग गर्नु,' भन्दै कृष्णले समीरको हातमा थमाइदिन खोज्यो।
त्यसपछि त समीरको दुवै आँखाबाट बलिन्द्रधारा आँसु बग्न थाल्यो। सायद त्यो एउटा त उसले कृष्ण र बलरामलाई बैगुन गरे पनि कृष्णको गुनले उसलाई ठूलो ऋणी बनाएकोले थियो र अर्को श्रीमतीको उपचार हुने भो भनेर हर्षाश्रु बगिरहेको थियो।
पहिले त पैसाको ब्याग लिन उसलाई एकदमै अप्ठ्यारो लागिरहेको थियो। पछि बिरामी श्रीमतीको मायाले 'हजुर, हजुर' भन्दै पैसाको ब्याग समातेर समीरले कृष्णलाई धेरै पटक प्रणाम गर्यो।
दुवै हात जोड्याजोड्यै एकदमै कृतज्ञ भएर भन्यो, 'हजुर, यत्रो पैसाको ऋण म कहिले चुक्ता गरुँला र! म हजुरजस्तो माया र दयाले भरिपूर्ण भगवानको यो पैसा लिन योग्य छुँइन,' भन्दै कृष्णको छेउ झुकेर झन् आँसु झार्दै रून थाल्यो।
'तिमीले लिनै पर्छ। यसको ऋण कहिल्यै तिर्न पर्दैन। यो पैसा त मैले तिमीलाई दिएको होइन। यो त तिम्रो श्रीमतीको उपचारलाई पो दिएको। बिरामी बिसेक होस् भनेर। बरू उपचार भएपछि मलाई खबर गर्नु नि! समीर' भन्दै कृष्णले आफ्नो ठेगाना र फोन नम्बर पनि कागजमा लेखेर पैसाकै ब्यागमा हालिदियो।
'हुन्छ, हजुर' भन्दै थर्थर् कामेको हातले पैसाको ब्याग समीरले रिक्साको सिटको तलको बक्समा हालेर ताल्चा लगाएर साँचो धोतीको टुप्पोमा बलियो गरी बाँध्यो।
त्यसपछि नसोचेको व्यक्तिबाट सहयोग पाएकोले, त्यसैको कृतज्ञताको र हर्षाश्रुको भेल बररर आँखाबाट खसाल्दै उसले भन्यो, 'साहेब, हजुरको नाम पनि कृष्ण, हजुर त मेरो हृदयमा सधैँ कृष्ण भगवान बनेर रहिरहनु हुन्छ।'
'ल त समीर आजै अस्पताल लगेर उपचार सुरु गर, हामी जान्छौँ' भनेर कृष्ण र बलराम काँकडभिट्टा जाने जिपतर्फ लागे।
समीर पनि हात जोड्याजोड्यै उनीहरू पर जिपमा नचढुन्जेल आँखाभरि आँसु लिएर उनीहरूलाई हेरिरह्यो।