नजिकैको घण्टाघरले कैयौं समय भो
नियमित समय तालिका बजाउन थालेको
रत्नपार्क पुलुक्क आफ्नै समयमा हेर्छ घुर्छ
कैयौं पुस्ता भयो केही परिवर्तन खोजेको
हरेक समयले केही आशाहरू बोकेका थिए
आशाहरू समयसँगै आफैमा बिकेको देखेर
रत्नपार्क लम्पट स्थिरतामा आकाश गनिरहेछ।
नजिकैको पार्कमा कैयन् सपनाहरू आए गए
कैयन् समयका आरोह अवरोहहरू आए गए
सपनाहरू सडकमा किनबेचको यथार्थ साक्षी
आफ्नै सपनाहरूमा हरेक समय दुख्छ उठ्छ
सपनाका पारखीहरूसँगै पुस्ता घिसार्दै उठ्छ
अनि पुलुक्क घण्टाघर हेर्छ र समयलाई घिसार्दै
रत्नपार्क लम्पट स्थिरतामा आकाश गनिरहेछ।
नजिकैको वीर अस्पतालमा समय अधैर्य छ
कैयन् आवाजहरूले उसलाई दुखाएको छ
अनेक पटक दुख्छ, उठ्छ अनि लम्पट गस्तीमा
मानवीय चित्कारले क्षत विक्षत मानसपटलमा
आफ्नै गतिमान समयलाई घिसार्दै उठाउँदै
सुगन्ध दुर्गन्धका वासनाहरू चिन्ने भएको छ
समयको पदचाँपमा आफैलाई अभ्यस्त गर्दै
रत्नपार्क लम्पट स्थिरतामा आकाश गनिरहेछ।
नजिकैको विद्यालयमा आफ्नै समय पढिरहेछ
कैयन् अध्यायहरूमा ऊ जीवन ग्रन्थ खोजिरहेछ
आफू आफैमा पुस्ताहरूका जीवन गनिरहेछ
कुन-कुन पुस्तामा जीवन कहाँ-कहाँ चिहाउने हो
कुन-कुन पुस्तामा जीवन कसरी बिताउने हो
चिर निन्द्रामा रहेका लम्पटवादीहरूको अलाप
निकृष्ट पनहरूमा आफूले आफैमा अभ्यस्त गर्दै
विकासको चिर आलाप्दै हिँडेका वीरहरू देखेर
रत्नपार्क लम्पट स्थिरतामा आकाश गनिरहेछ।