एउटा झिँगा
शरीरका रौं र खुट्टामा
प्याथोजेनका पोका बोक्छ
जताततै बस्छ
जहाँ बस्छ, त्यहीँ बान्ता गर्छ
जहाँ छुन्छ, त्यहीँ किटाणु सार्छ
जहाँ हिँड्छ, त्यहीँ विषाणु झार्छ
एन्थ्रास, सालमोनेला, कोलेरा
फैलाउँछ टाइफाइड र डाएरिया
त्यस्तै
एउटा झिँगे मान्छे
रिस, राग र द्वेष बोकेर हिँड्छ
मन र मस्तिष्कमा
जहाँ जान्छ
उद्दण्ड गर्छ
कलह फैलाउँछ
वातावरण दुषित पार्छ
विग्रह गराउँछ।
झिँगा र झिँगेमान्छे
जहाँ जता पनि छिर्न सक्छ
बोलाउनु पर्दैन
जहाँ जता पनि पाखुरा सुर्कन सक्छ
निहुँ चाहिँदैन
जहाँ जता पनि फूर्ति गर्न सक्छ
अरुलाई मन पर्नु पर्दैन
जहाँ पनि विष वमन गर्न सक्छ
उसको धर्म नै त्यही हो।
झिँगाको छ वटा खुट्टा हुन्छ
झिँगेमान्छेको छ वटा रुप हुन्छ
झिँगा-झिँगा मारकाट गर्दैनन्
झिँगेमान्छे-झिँगेमान्छे मारामार गर्छन्
झिँगा फोहोरमा बस्न रुचाउँछ
झिँगेमान्छे फोहोर बनाएर बस्न रुचाउँछन्।
तसर्थ,
वातावरण सफा राखौं, झिँगा भगाऔं
झिँगेमान्छे खेदौं, वातावरण जोगाऔं।