वास्तवमा साँचो प्रेम कस्तो हुन्छ?
ओहो! कस्तो मिलेको जोडी है, कस्तो माया गर्ने है, यो जोडीलाई भगवानले नै बनाएर पठाएको हनुपर्छ। हो, यस्तै यस्तै अन्य वाक्यहरू जब यी कानमा ठोकिन पुग्छन् तब म उहीँ अपूर्ण प्रेमलाई झल्यास्स सम्झिन्छु।
मेरा लागि प्रेम कहिल्यै पूर्ण हुन सकेन। किन भन्ने प्रश्न पछाडिको उत्तर मसँग अझै छैन। सायद मैले नै कहिल्यै प्रेम शब्दलाई बुझिनँ। सायद मैले नै प्रेम गर्न जानिनँ। खै! मेरो प्रेम अपूर्ण हुनुको पछि थुप्रै शब्दहरूले घेरेका छन् जसरी मुसलधारे पानी पर्नुअघि आकाशमा बादलहरू काला भएर मडारिन्छन्।
प्रेम पर्नुअघि लाग्थ्यो, प्रेम शब्द आफैमा कस्तो प्रेमिल छ। प्रेम सुन्दै कस्तो पवित्र छ। प्रेम गर्नेहरू कहिल्यै हार्दैनन्। प्रेम पाएका हरकोहीमा छुट्टै आत्मविश्वास हुन्छ। प्रेमले सधैं जित्नका लागि प्रेरणा दिन्छ। जोसँग प्रेम गर्ने व्यक्तिको साथ छ त्यस व्यक्तिले कहिल्यै एक्लो महसुस गर्दैन। प्रेमिल जोडी देख्दा लाग्थ्यो कति धेरै माया, साथ र मनमनै सोच्थेँ कति भाग्यमानी होलान् जसले यति धेरै माया र साथ पाएका छन्।
प्रेम परेपछि जसरी प्रेम कथाहरू पढ्दा एक छुट्टै आभास हुन्थ्यो, जसरी रोमान्टिक चलचित्रहरू हेर्दा बेग्लै अनुभूति हुन्थ्यो। जब अरूका नयाँ र उत्साहित प्रेमका कथा सुन्दा छुट्टै उमंग आउथ्यो, यी सबै त प्रेम परेपछि उहीँ सुन्नकै लागि मात्रै आनन्दित रहेछन्। प्रेम परेपछि थाहा भयो मैले प्रेमको शब्द मात्रै बुझेको रहेछु किनकि प्रेमका अर्थहरू त थुप्रै रहेछन्।
भनिन्छ नि मन पर्नु र माया गर्नुमा धेरै फरक छ किनकि मन पर्नु बाहिरी आवरण मात्रै हो र माया गर्नु भनेको उसको हर कमजोरी, तागत, दुःख, सुख, सबैलाई अंगाल्नु हो। प्रेम परेपछि थाहा भयो सुन्दा, देख्दाभन्दा धेरै फरक हुँदो रहेछ भोगाइमा।
बुझ्दै जाँदा, भोग्दै जाँदा, कतिपय सन्दर्भहरू जितेरभन्दा पनि हारेर धेरै बुझिने रहेछ जस्तो लाग्यो। भनिन्छ जीवन भनेको नै यात्रा हो र यस यात्राका दौरानमा थुप्रै सहयात्रीहरूको आगमन हुन्छ। तीमध्ये कोही सकारात्मक छाप छाडेर जान्छन् भने कोहीले नकरात्मक। तर पनि म दुवैमा खुसी छु किनकि जो जस्तो छ उसले उस्तै याद छाडेर जाने न हुन्।
जब साँझ पर्छ तब मलाई एकान्तमा बसेर मधुरो आवाजमा गीत सुन्न मनपर्छ। गीत सुन्दै जाँदा एउटै गीत म बारम्बार सुन्छु। त्यो गीत हो 'ए दिल सम्हलजा जरा, फिर मोहबत कर्ने चला हे तु.' किन किन यो गीत त्यसै मनपर्छ, सुनिरहन मन लाग्छ र कता-कता आफैलाई अब थप प्रेम नगर भनेर भनेझैं लाग्छ। एकान्तमा बसेर यस्तै थुप्रै गीतहरू सुनिरहँदा त्यही गीतका शब्दहरूमा डुबेको महसुस हुन्छ र त मलाई सुनिरहन मन लाग्छ।
मलाई लाग्थ्यो प्रेम गर्नेहरू एकआपसबाट छुट्टिएर बस्नै सक्दैनन्। एकछिन बोलेन भने, केही क्षण देखेन भने आत्तिन्छ, के गरौं र कसो गरौं हुन्छ। तर म गलत रहेछु। वास्तवमा मलाई त्यस्तो केही लागेन। हुन त मेरो प्रेम नै गलत भएर पनि मलाई त्यस्तो लाग्न सक्छ बाँकी त सबैका आ-आफ्नै प्रेम कथा हुन्छन्।
मेरो बुझाइमा र भोगाइमा मलाई के लाग्छ भने सुरूमा त प्रेम हुनका लागि दुई मनको मिलन एकदम नै आवश्यक हुन्छ किनकि जहाँ मन मिलेको हुन्छ त्यहाँ केही भनिरहन, सम्झाइरहन र केही बुझाइरहन नै पर्दैन। भन्छन् नि बुझ्नेलाई इसारा नै काफी हुन्छ। मलाई पनि लाग्छ प्रेम त यस्तो होस् न म के कुरामा खुसी हुन्छु, मेरा चाहनाहरू के हुन्, मलाई कस्तो कुरामा बढी मन दुख्छ इत्यादि। यी कुराहरू दोहोरो हुनुपर्छ अनि बल्ल पूर्ण प्रेमको नाम दिन सजिलो हुन्थ्यो होला।
फेसबुकका पोस्टहरूमा दन्ते लहर देखाएर जोडीको फोटोमाथि क्याप्सन लेख्छन् 'सबलाई कहाँ मिल्छ यहाँ भाग्य छानी-छानी, जुनी-जुनी सँगै बितोस् हाम्रो जिन्दगानी।' यी क्याप्सनहरू पढिरहँदा लाग्छ ओहो! साँच्चै कहिल्यै नछुटोस् र यसैगरी सधैं हाँसिरहून्।
जीवनमा दुःख, सुख, संघर्ष बुझ्ने, राम्रो काममा प्रेरणा दिने, सफलताका सिँढीहरूमा हौसला बनिदिने, गन्तव्यसम्म आड बनिदिने इत्यादि। हो यस्तै साथी हरकोहीलाई मिल्थ्यो भने सबैको जीवन थप सुन्दर बन्ने थियो। अन्तिममा चित्त बुझाउँदै यही भन्छु कि सबैका प्रेम कहानी रोमियो र जुलेटजस्तो त कहाँ हुन्छ र!