लेकसाइड मलाई पुरानो प्रेमिका जस्तो लाग्छ
जसलाई आफ्नो पूरा माया दिन सकिनँ
अनि जब बारम्बार उनलाई भेट्न आउँछु
उनी पहिलेकै हाँसो फैलाएर मलाई स्वागत गर्छिन्
लेकसाइड मलाई पुरानो एक संगीत जस्तो लाग्छ
जसलाई मन पराएर पनि पुरै सुन्न सकिनँ
तर जब त्यो संगीत बजारमा सुन्छु
उसबेला माया नगरेका शब्द अझै उत्कृष्ट लाग्छ
लेकसाइड मलाई अन्धकारमा उडिरहेको धुवाँ जस्तो लाग्छ
जो केही समयअघि छेउको केटोको थियो
तर अहिले कतै अनन्त आकाशमा बिलाउँदै छ
त्यो धुवाँ मेरो कहिलै हुनै सक्थेन
पर अनन्तमा सुतिरहेको छ पहाड
जो मेरो लागि कहिल्यै उठ्न सक्दैन
छेउमा फेवातालको पानीमा लहरिएको स्थिर डुङ्गा
जो मलाई कहिल्यै यहाँ तैराउन सक्दैन
तर जब म डुङ्गामा सैर गर्छु
डुङ्गा मलाई बगाउँदै लान्छ
एक स्थिर अस्थिरता तर्फ
तर यिनीहरू
जोसँग तालबाराही माताको आर्शीवाद छ
मलाई आर्शीवाद दिन्छन्
कुनै भौतक सुखको
लेकसाइड जहाँ
हिँडाइलाई गन्तव्य पुराउँदै छन् यात्री
मकै पोल्नेहरू पोल्दै छन् बितेका दुखी इतिहास
चनाचटपटका युवतीहरू चटपट चटपट छन्
कसैकौ यूगल गीतमा पर्यटनको आभा छ
कुनै प्रेमिल जोडीहरू
फुराउँदै छन् भविष्य
म तालको छेउमा आफ्नो प्रेम सम्झन्छु
कुनै लेकसाइडको सन्ध्यासँग मेरो प्रेम साटिएको छ
जस्तै साटिएको छ एक रेस्टुरेन्टको आकाशमा चन्द्रमा
चन्द्रमाको पूरा मुस्कानमा कुनै कन्जुस्याइँ छैन
आकाशबाट वर्षदो पानीका थोपाहरूमा भने
गितारको झंकारलाई स्वागत गर्नै तरखर छ
पार्श्वमा सुमधुर संगीत बज्छ
म मेरा प्रेम नपाएका उत्कृष्ट शब्दहरू गुनगुनाउने गर्छु
त्यस्तै शब्द पर प्रेम नपुगेका जोडीहरू गनगुनाउने गर्छन्
कसैका योजनाहरू टुँसा पलाउँदै छन्
यी ताललाई साक्षी राखेर बुनेका योजनाहरू
कुनै दिन पक्कै साकार हुनेछन्
तर म भने
पुराना यादहरू मेटाउन बारम्बार यहाँ आउने गर्छु
यी सुनसान रेस्टुरेन्ट अनि व्यस्त ताल
यहाँ पैसा हुनेको गोजीमा सुको छैन
नहुने, गोजीमा हजारौँ लिएर हिँड्छन्
त्यो मकै बेच्ने दाइ
ऊसँग हजारको साट्ने प्रशस्त खुजुरा छ
चिया बेच्ने दिदी 'चिया पिउनुहुन्छ' भनेर सोध्छिन्
सँगैको केटोलाई उही प्रश्न गर्दै बाटो लाग्छिन्
सायद मैले उनको चिया पिइदिन पर्थ्यो।