हामी मान्छे हौं
कहाँ टेर्छौं र
हप्काउन सकुन्जेल
पेलेरै लान्छौ
दायाँबायाँ हुन्जेल
ठेलेरै लान्छौं
बरु गुण्डा पाल्छौं
कानुन मान्दैनौं
हामी मान्छे हौं
टेर्दै टेर्दैनौं
नियमभन्दा ठूलो सत्ता हो
पैसा बटुलेर सामाजिक बन्छौं
मागेर दान दिन्छौं
हामी मान्छे हौं
टेर्दै टेर्दैनौं
नियम कानुन हेर्दै हेर्दैनौं
बरु कानुन खोज्नेलाई
हप्ता तिर्छौं
ठालु पल्टिएर
हँसिलो अनुहार पार्दै
ठगिरहन्छौं
कहिलेकाहीँ नैतिकताको कुरा उठ्छ
लाग्छ त्यो त किताब हो
त्यो त पढ्ने कुरा पो हो त
जेसुकै होस हामी मान्छे हौं
ज्ञानी छौं र त हप्काउँछौं
जान्दछौं र त सीमा नाघ्छौं
लुट्नसम्म लुटेर
उसले लुटिदियो भन्दै
कोकोहोला गर्छौं
किनकि हामी विवेकशील छौं
ढाँट्न जान्दछौं
छल्न जान्दछौं
किनकि हामी मान्छे हौं
फराकिलो चाहान्छौं
बाटो बढाउन जुलुसमा हिँड्छौं
आफ्नो आँगन छेकेर बस्छौं
हो नि हामी जान्दछौं
किनकि हामी मान्छे हौं
छिमेक सम्मको दिवाल भत्कनु पर्छ
आफ्नोमा आएपछि भत्कन हुन्न
त्यो त हो नि किनकि
हामी मान्छे हौं
जान्दछौं
जानिएन भने पनि सिकाउने
मान्छे नै छ
सारा चराचर जगतभन्दा
सम्पूर्ण प्राणीहरूभन्दा
हामी चेतनशील छौं
धेरै जान्दछौं र त
विरोध गर्छौं
हामी मान्छे हौं
मान्छे भएर त हो
विश्व युद्धहरू भए
मिथकीय नै होस
महाभारत युद्ध भयो
राम-रावण युद्ध भयो
हामी जान्दछौं
त्यसैले युद्ध गर्छौं
हामी मान्छे हौं
त्यसैले लडाइँ गर्छौं
हामी हिंसामा बुद्ध खोज्छौं
शान्तिमा आतंक
किनकि हामी मान्छै हौं।