जीवन पथमा
निरन्तर चलिरहेको छ आयुको यात्रा
राखेर अन्तिम बिन्दुमा अनौठो लक्ष्य
त्यसैलाई भेट्न यहाँ जिन्दगीभर दौडिनु पर्छ
जसरी दौडन्छ समय कसैलाई नकुरी दौडिरहन्छ
चले पनि बतास, जत्रोसुकै आँधीहुरी
हतासले हुँदैन
हतारले हुँदैन
अनि हत्तपत्त पनि हुँदैन- यात्रा
चाहँदैमा मात्रै पनि
कहाँ सकिन्छ र हरेक यात्रामा दौडिन
तर दौडिन नसके हिँड्नुपर्छ
नलिई कतिखेरै विश्राम हिँडिरहनु पर्छ
जसरी हिँड्छ घाम
मनभरि रहर
सपनाको घर
अनि भावनाका बिजहरू
भविष्यका फाँटहरुमा छर्दै छर्दै
हिँड्न पनि यहाँ, कहाँ सजिलो छ र?
जीवनको यात्रामा
हिँड्न नसके घिस्रिनु पर्छ
जसरी घिस्रन्छ कछुवा एकैनास।
जीवन पाइसके पछिको
अवसर र चुनौती यही त हो
दौडिनुपर्छ
नसके हिँड्नु पर्छ
हिँड्न पनि नसके घिस्रिनु पर्छ
विवशता अनि बाध्यताहरूलाई
तपसिलमा राखेरै भए पनि
घिस्रिनु पर्छ
बस्न यहाँ सख्त मनाही छ।
आखिर जिउनु त छ नै
नभेटिन्जेल अन्तिम बिन्दुको त्यो अनौठो लक्ष्य
अर्थात् मृत्यु।