माग्दा मैले कहिल्यै
समुद्रसँग वाफ मागेर
पानी वर्षाउने बादल जस्तो
अँध्यारो बन्नु परेन।
दिदी–भाइहरूकासाथ बसेर तपाईंलाई
सुन्दै गर्दा
मैले कहिले पनि
दोस्रो पटक कसेको भारीको
डोरी जस्तो
खुकुलो महसुस भएन।
मुक्तामणि वाणीहरूलाई
कमलका पातहरूमा खसेका
शितका थोपा भन्दै
भूल गर्नाले
कोपिलामा रस भरिदिएको
पत्तै भएन
फलको आशामा पर्खिएको म
सिमलको फूल हेर्दाहेर्दै
रूवालाई हावाले उडाएको
पत्तै पाइनँ।
दुलो परेको
बीच–बीचमा बाङ्गो–टेडो
कुरूप कानमा
उज्यालो कुन्डल लगाइदिएर
कुरूपताको समेत आदर गरेको
पत्तै पाइनँ।
जाडोमा ओठ कमाएको
गर्मीमा तिर्खाले घाँटी सुकाएको
साँझ निभ्न लागेको कोइला फुकेको
भोकै सुतेको
पत्तै पाइनँ।
दिउँसो फक्रने
साँझ बन्द हुने कमलले
सूर्यसँग गरेको मित्रता
पत्तै पाइनँ।
आज आकाशमा
तपाईंलाई विशाल
पोखरी देखिरहेको छु
जाज्वल्यमान कमलको फूल
र त्यो फूलमा बसेको एउटा भमरा म।